११० औं बिपि जन्मजयन्ती: कांग्रेस कमलामाइ नगरसमितीद्वारा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

सिन्धुली – नेपाली कांग्रेस कमलामाइ नगर समितीले कमलामाइ नगरपालिका -१४ चन्दनपुर स्थित कमला प्राथमिक बिधालयका छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्म जयन्तीको अबसरमा नगर समितीले आइतबार एक कार्यक्रमका बिच बिधालयमा अध्यनरत १०५ जना छात्रछात्रालाई शैक्षिक सामाग्री बितरण गरेको हो ।

नेपाली कांग्रेस कमलामाइ नगर समितीका सभापती कमल पोखरेलको अध्यक्षता तथा नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा शैक्षिक सामाग्री बितरण गरिएको हो ।

कमला प्राथमिक बिधालयमा अध्यनरत १०५ जना बिपन्न तथा जेहन्दार छात्रछात्रालाई १/१ दर्जन कापी र कलम बितरण गरिएको नगर समितीका सभापती पोखरेलले जानकारी दिए ।

जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्म जयन्तीको अबसरमा कार्यक्रमका प्रमुख अतिथी उपेन्द्र कुमार पोखरेलले बिपिको योगदानको स्मरण गर्दै बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेका हुन ।

नेपाली राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको थियो । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण ठानिएको छ ।

नेपालको जारी संविधान निर्माण प्रक्रिया र राजनीतिक अस्थिरतामा बिपीको आदर्श, मूल्य र मान्यता अझ सान्दर्भिक रहेको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका साथै नेपाली साहित्य जगतमा पनि विशिष्ट व्यक्तित्वका रुपमा कोईराला स्थापित छन ।

विसं २०१५ सालको आम निर्वाचन पश्चात् १८ महिना नेपालका प्रधानमन्त्री बनेका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय नेतृत्व गरेका थिए ।

भारतमा रहँदा तत्कालीन समयमा चलेको स्वतन्त्रता आन्दोलनबाट प्रभावित स्वर्गीय कोइरालाले सो आन्दोलनमा सक्रिय रहनुका साथै नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गरेकोमा त्यो पछि गएर नेपाली काँग्रेस पार्टीमा रुपान्तरित भएको थियो ।

विसं २००३ सालमा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेका कोइरालको नेतृत्वमा २००७ सालको क्रान्तिले सफलता प्राप्त गरेको थियो ।

विसं २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात् कुनै मुद्दा बिना नै आठ वर्ष कैदमा राखिएका कोइरालाले तत्पश्चात् लामो समयसम्म निर्वासनमा बसेर २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिका साथ स्वदेश फर्किएका थिए ।

साहित्यकार कोइरालाका तीन घुम्ती, सुम्निमा, नरेन् दाइ, मोदिआइन, हिटलर र यहुदी र बाबु, आमा र छोरा उपन्यास प्रकाशित छन् ।

कोइरालाका दोषी चश्मा, श्वेतभैरवी कथा सङ्ग्रहका साथै आफ्नो कथा र जेल जर्नल आत्मबृतान्त एवम् जीवनी सङ्ग्रह प्रकाशित छन् । नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानलाई भित्रयाएका कोइरालालाई मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गर्ने साहित्यिक व्यक्तिको श्रेय पनि जान्छ । कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्म जयन्तीको अबसरमा नेपाली कांग्रेस सिन्धुलीले बिबिध कार्यक्रमको आयोजना गरि मनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार ११:३५

प्रतिक्रिया दिनुहोस्