सिन्धुली – कमलामाई नगरपालिकाको कर्णाली उपनाम जस्तै भएको वडा नम्बर १२ मा स्थानीय स्तरमैं बैंक मार्फत आर्थिक बर्ष २०८०/८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ ।
यस आर्थिक बर्ष देखी यस वडामा सामाजिक सुरक्षा भत्ता बितरणको जिम्मा पाएको कुमारी बैंक सिन्धुली शाखाले वडाका तीन स्थानलाई केन्द्र बनाई बाँझे, टंसार र बेसारेबेसीमा सामाजिक सुरक्षा भत्ता बितरणको ब्यवस्था मिलाएको हो ।
नगरपालिका, वडा र बैंकको त्रिपक्षीय सहकार्यले गर्दा स्थानीय स्तरमैं सामाजिक सुरक्षा भत्ता बितरण गर्न सम्भव भएको वडा अध्यक्ष भीम बहादुर गुर्मछानले जानकारी दिनुभयो । साथै स्थानीय स्तरमैं सामाजिक सुरक्षा भत्ता वितरणले बृद्धबृद्धा र शारीरिक रुपमा असक्त लाभग्राहीले भत्ता लिनकै लागि सदरमुकाम सम्म धाउनुपर्ने बाध्यता अन्त्य भएकोमा लाभग्राही अत्यन्त हर्षित रहेको पनि अध्यक्ष गुर्मछानले बताउनुभयो ।
लाभग्राहीलाई सहज ढङ्गले सेवा प्रवाह गर्ने कमलामाइ नगरपालिकाको अभियानलाई साथ दिदै नगरबासिको आर्थिक सामाजिक रूपान्तरणमा सदैब साथ सहयोग गर्न कुमारी बैंक प्रतिबद्ध रहेको र सामाजिक सुरक्षा भत्ता बितरणको क्रममा लाभग्राहीको अनुहारमा देखिएको खुसी, जेष्ठ नागरिक लगायतको आशीर्वादले यस्तो सेवमुलक कार्यमा लाग्न थप उत्साह मिलेको कुमारी बैंक शाखा कार्यालय सिन्धुलीका शाखा प्रमुख सुबोध कोइरालाले बताउनु भयो ।
बिकट भौगोलिक अवस्थितिका कारण सदरमुकामका बैंकहरु वडामा नै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न नमानी रहेको अवस्थामा कुमारी बैंकले जिम्मेवारी लिएको अत्यन्त छोटो समयमा प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण सम्पन गर्न सफल हुनु अत्यन्त प्रशंसनीय कार्य भएको कमलामाई नगरपालिका पंजीकरण शाखाले जनाएको छ ।
हाल कुमारी बैंकले देशभरका ३०८ शाखा, ४९ विस्तारित काउन्टर, ६४ शाखाका रहित बैंकिंग मार्फत गुणस्तरीय आधुनिक बैंकिंग सेवा प्रदान गर्दै आएकोछ ।