वैकल्पिक सिकाइ बिधी: लाभान्वित बिद्यार्थीकै पत्तो छैन

सिन्धुली । वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण सिन्धुली लगाएतका जिल्लामा असार १ गतेबाट सुरु भयो । यता, सिन्धुलिमा संचारको कुनै पनि पहुँच नपुगेको बिधालयको संख्या भने २४ रहेको छ । जहाँ बिधालय क्षेत्रभित्र कुनैपनी विद्युतिय संचार सेवाको सुबिधा छैन ।

स्थानिय एम.एम तथा रेडियोको पहुँचमा रहेको जिल्लामा कुल बिधालयको संख्या ४६२ छ । तर, यि बिधालयमा अध्यनरत कति बिद्यार्थी वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरणमा सहभागी भए भन्ने एकिन तथ्यांक कतै छैन ।

देशभरका झण्डै ९० लाख विद्यार्थीलाई कुनै न कुनै माध्यमबाट सिकाइ सहजीकरणमा सहभागी गराउन भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका जारी गरेको थियो । 

सोही निर्देशिका अनुसार अध्ययन–अध्यापन गरिएको हो । तर, कति विद्यार्थीले सो अनुसार पढे भन्ने कुनै तथ्यांक शिक्षा मातहतका कुनैपनि सरकारी निकाय संग छैन । कोभिड -१९ महामारीका कारण विद्यार्थीहरू उक्त वैकल्पिक सिकाइमा सहभागी हुन नै सकेनन । 

शिक्षा मन्त्रालयले इन्टरनेट मार्फत भर्चुअल, रेडियो, टेलिभिजन मार्फत खुल्ला पढाई लगायतका विधिमार्फत सिकाइ सहजीकरण गर्न विद्यालयहरूलाई अनुरोध गरेको थियो । त्यति मात्रै नभएर उक्त सुविधा नभएका विद्यार्थीहरूलाई घर–घरमै नोट तथा किताव पुर्‍याउन समेत भनिएको थियो । 

तर, कति विद्यार्थीले अनलाइन कक्षामा सहभागी भए, कतिले रेडियो, टेलिभिजन मार्फत सिकाइ सहजीकरणमा सहभागी भए भन्ने कुरा यकिन गर्न नसकिएको शिक्षा बिकास तथा समन्वय इकाई, सिन्धुलिका प्रमुख नेत्रप्रसाद गजुरेलले बताए ।

जिल्लामा प्राथमिक, निम्नमाध्यमिक र माध्यामिक कुल बिधालयको संख्या ५६३ छ । जसमध्ये इन्टरनेटको पहुँच पुगेको बिधालयको संख्या ८९, नेपाल टेलिकमको पहुँच पुगेको बिधालयको संख्या १९०, स्थानिय टेलिभिजनको पहुँच पुगेको ६०, रेडियो नेपालको पहुँच पुगेको २००, स्थानिय एफ. एम तथा रेडियोको पहुँच पुगेको ४६२ र कुनै पनि विद्युतिय संचारको पहुँच नपुगेको बिधालयको संख्या २४ छ ।

तर, कुनै पनि विद्युतिय संचारको पहुँच नपुगेको बिधालयमा अध्यनरत बिद्यार्थीको त कुरै छोडौ कति विद्यार्थीले उक्त सिकाइ सहजीकरणमार्फत पढाइ गरे भन्ने यकिन नभएको प्रमुख गजुरेलको भनाइ छ । 

“कुन विद्यार्थीले पढ्यो, कसले पढेन ? भन्ने तथ्यांक लिनै गाह्रो भयो । कसैलाई पनि अनिवार्य गरिएको थिएन । सबैलाई आग्रह गरिएको थियो । जसले गर्दा पनि थोरैको संख्यामा सहभागी भए, भन्ने अनुमान चाहिँ गर्न सकिन्छ ।

टिच फर नेपालले गरेको एक सर्वेक्षण अनुसार नेपालमा ९५ प्रतिशत बालबालिका इन्टरनेटको पहुँच बाहिर छन् । त्यस्तै कोरोना (कोभिड-१९) महामारीका कारण नेपालमा विद्यालय जानेमध्ये दुई तिहाइ बालबालिका दूर शिक्षाको अवसरबाट वञ्चित रहेको युनिसेफले जनाएको छ ।

असार १ गतेबाट वैकल्पिक सिकाइ ल्याएको शिक्षा मन्त्रालयले असोज १ गते अर्को अभियान सञ्चालन गर्दैछ ।भदौं १९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार शिक्षा मन्त्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेको छ । जुन असोज १ गतेबाट लागू हुनेछ । 

निर्देशिका अनुसार विद्यार्थीका लागि इन्टरनेटको व्यवस्था सरकारले नै गरिदिनेछ । असोज १ गतेबाट अनिवार्य कार्यान्वयनमा जाने निर्देशिका अनुसार नै विद्यार्थी सिकाइ सहजीकरण गर्न संघ, स्थानीय तह, प्रदेश तथा सरोकारवाला निकायलाई सोही आधारमा तयारी गर्न भनिएको छ । 

गएको बुधबार कमलामाई नगरपालिकाले नगरपालिकाको आर्थिक सहयोगमा करिब दुई महिनासम्म संचालन भएको
वैकल्पिक रेडियो शिक्षा कार्यक्रमको प्रभावकारीता र निरन्तरताको विषयमा समीक्षा गर्‍यो ।

समीक्षामा बिद्यार्थीलाई शिक्षा प्रदान दिने र लाभान्वित गराउने सम्वन्धमा केकस्ता प्रभावकारी विधि अपनाउन सकिन्छ भन्ने विषयमा समेत छलफल भयो । समिक्षाले नगरपालिकाको सहयोगमा संचालन गरिएको रेडियो कार्यक्रम अत्यन्त प्रभावकारी रहेको निष्कर्ष निकाल्यो ।

तर, कमलामाइ नगरपालिका भित्रकै दुई बिधालय संचारको कुनैपनी विद्युतिय सेवाको पहुँचभित्र छैनन । कमलामाइ नगरपालिकाभित्र सामुदायिक बिधालयको संख्या ९८ छ भने संस्थागत बिधालयको संख्या २४ छ ।

तर, कमलामाइ नगरपालिका भित्रका कुन-कुन बिधालयका कति बिद्यार्थीले अनलाइन या रेडियोबाट सिकाइ प्रक्रियामा सहभागी भए भन्ने एकिन तथ्यांक न नगरपालिकाको शिक्षा इकाइ संग छ न शिक्षा बिकास तथा समन्वय इकाईसंग छ न त मातहतका कुनै निकायसंग छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार २०:५२

प्रतिक्रिया दिनुहोस्