सुनकोशी-मरिन-डाइभर्सन आयोजनाद्वारा (एसइआइए) प्रस्ताब

सिन्धुली – सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले थप १४.०९ हेक्टर वन क्षेत्र आवश्यक परेको भन्दै पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (एसइआइए) प्रस्ताव गरेको छ। 

प्राविधिक कारणले आयोजनाको सर्ज ट्यांक र टेलरेसको स्थान परिवर्तन गर्नुपरेको, त्यस्तै विद्युत उत्पादन क्षमता २८.६२ मेगावाटबाट बढाएर ३१.०७ मेगावाट पुर्‍याउन लागिएकाले वन तथा वातावरण मन्त्रालयसँग थप वन क्षेत्र प्रस्ताव गरिएको हो। 

आयोजनालाई १४.०९ हेक्टर जग्गा स्थायी रूपमा आवश्यक पर्नेछ। स्थायी रूपमा आवश्यक पर्ने जग्गामध्ये ०.३८ हेक्टर सामुदायिक वन र ३.१९ हेक्टर राष्ट्रिय वनको जग्गा आयोजनाको संरचनामा परिणत हुनेछ। 

उक्त वन क्षेत्रबाट ४६ वटा विभिन्न प्रजातिका रूख तथा लाथ्रा (८३ सिसौं, ३८ खयर, ५ दबदबे, ४ फडिल र सिन्दुरेका दुई) हटाउनु पर्नेछ। विभिन्न प्रजातिका २०४ बिरूवाको क्षति हुनेछ। 

आयोजनाका लागि पहुँच सडक निर्माण, सर्ज ट्यांक तथा टेलरेसको स्थानान्तरण, डुबान तथा उत्खनन क्षेत्र सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर २, सुनकोशी गाउँपालिका वडा नम्बर ६ र ७, गोलन्जोर गाउँपालिका वडा नम्बर ७ तथा रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर ६ र खाँडदेवी गाउँपालिका वडा नम्बर ४ मा पर्दछ।

आयोजना निर्माणका क्रममा बिपी राजमार्गको केही खण्ड डुबानमा पर्नेछ। 

यो राजमार्गको ४२५ मिटर डुबान क्षेत्रमा त्यस्तै ५७५ मिटर प्रवेश मार्ग लगायत अन्य क्षेत्र व्यवस्थापनका लागि आवश्यक पर्ने उल्लेख छ। यस्ता विभिन्न कारण एक हजार ६२ मिटर नयाँ राजमार्ग बनाउनुपर्ने देखिएको आयोजनाको भनाइ छ। 

आयोजना निर्माणका लागि ४९.१ हेक्टर जग्गा अस्थायी रूपमा आवश्यक पर्ने उल्लेख गरिएको छ। 

राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन आयोजना बागमती प्रदेशको सिन्धुली जिल्ला र रामेछाप जिल्लामा अवस्थित छ। समुन्द्र सतहदेखि ४७६ मिटरमा ३१२ हेक्टर जमिनमा आयोजनाका लागि जलाशय पोखरी बन्नेछ।

यसको बाँध तथा सेडिमेन्टेसन पोखरी सुनकोशी गाउँपालिका वडा नम्बर ६ कानढुंग्रीमा रहनेछ। हेडरेस सुरूङ टनेल बोरिङ मेसिन (टिबिएम)ले निर्माण भइरहेको छ। 

२०८० असार मसान्तसम्म यो सुरूङ सात हजार ५०० मिटर खनिएको छ। सुरूङको कुल लम्बाई १३.३ किलोमिटर छ।

सुरूङ निर्माण गत असोज २८ गतेदेखि टिबिएममार्फत् सुरू गरिएको हो। उक्त मेसिनका लागि आवश्यक उपकरण चीनबाट आयात गरी मेसिनको डिजाइन तयार गरिएको छ। 

यो प्रविधिबाट सुरूङ खन्दा ब्लास्टिङ गर्नुपर्ने झन्झट हुँदैन। काम पनि छिटो हुने हुँदा लक्षित समयमै सकिने आयोजनाले जनाएको छ।

यो आयोजनाको लक्ष्य सुनकोशी नदीको पानी मरिन नदीमा फर्काएर बागमती सिँचाइ नहरको क्षमता बढाउनु हो। यसरी फर्काइएको पानीबाट ३१.०७ मेगावाट बिजुली उत्पादनको लक्ष्य राखिएको हो। 

त्यस्तै, यो आयोजनाबाट प्रदेश–२ का पाँच जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाइ पुर्‍याउने उद्देश्य पनि लिइएको छ।

तराईका धनुषा, महोत्तरी, सर्लाही र बारामा करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुर्‍याउने उल्लेख छ। जसले देशको कृषि उत्पादन बढाउने विश्वास लिइएको छ।

गुरूयोजना अनुसार १३.३ किलोमिटर सुरूङमार्फत् ६७ क्विक मिटर सेकेण्डले सुनकोशी नदीको पानी मरिन नदीमा पुर्‍याइने छ। 

खुर्कोटबाट पानीलाई सुरूङमार्फत् सिन्धुली कुसुमटारमा रहेको मरिन नदीको किनारमा बनाइएको ६४ मिटर अग्लो हेडमा खन्याइने छ। 

यहाँबाट निस्किएको पानी मरिन नदी हुँदै बागमती नदीमा खसालिनेछ। जसबाट बागमती सिँचाइ आयोजनामा करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने आयोजनाको लक्ष्य छ। 

बागमती सिँचाइ आयोजनाको पानीलाई पूर्वतर्फको नहरबाट ७६ हजार ६ सय हेक्टर र पश्चिमतर्फको नहरबाट ४५ हजार चार सय हेक्टर जमिनमा पुर्‍याउने उल्लेख छ। 

सिन्धुलीको खुर्कोटदेखि लगभग दुई किलोमिटर माथि सुनकोशी नदीमा १५८ मिटर लामो ब्यारेज वा ड्याम निर्माण गरिनेछ।

त्यस्तै १५० मिटर लामो डिसेन्डिङ बेसिन जसले सुनकोशी नदीबाट आएको पानी छान्ने काम गर्छ।

सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा विद्युत गृह, ४४ किलोमिटर लामो विद्युत प्रसारण लाइन निर्माण गर्ने आयोजनाको लक्ष्य छ। यो परियोजनाबाट उत्पादन हुने विद्युत वर्षभरी नै एकनास हुने आयोजनाको विश्वास छ।

उत्पादित बिजुली ४२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी नवलपुरमा जोड्ने योजना छ। 

यो आयोजना आर्थिक वर्ष २०८२/८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते यो आयोजना शिलान्यास गरेका थिए।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार ०४:३६

प्रतिक्रिया दिनुहोस्