जुनार-सुन्तला बेचेरै बार्षिक ३३ करोड भन्दा बढी आम्दानी

सिन्धुली – गोलन्जोर गाउँपालिका -४ तिनकन्या माझकुभिण्डेका लोकबहादुर आलेमगर पेशाले शिक्षक पेशामा आबद्ध छन । शिक्षण समय भन्दा बाहेकको समय उनको जुनार बगैंचामा ब्यतित हुने भएकोले उनको अन्य पेशा अन्तर्गतको अर्को मुख्य पेशा हो जुनार खेती ।

उनले सिजनमा आफ्नो बगैंचाबाट उत्पादन भएको जुनार सुन्तला बिक्री बितरण नभएको खण्डमा अफसिजनमा बिक्री बितरणका लागी जुनार चिस्यान भण्डार समेत बनाएका छन । उक्त चिस्यान भण्डार स्थापना गरेदेखी आलेले जुनार सुन्तलाको उचित बजार नपाउदा आफ्नो बगैंचामा उत्पादन भएको जुनार सोही चिस्यान भण्डारमा भण्डारण गर्छन र मूल्य राम्रो पाउने भएपछी बजारमा लगेर बेच्छन ।

आलेमगरले २२ रोपनी जग्गा क्षेत्रफलमा जुनार सुन्तला लगाएका छन । जसमा अहिले फल दिइरहेका जुनारको बोट पाँच सयको हाराहारिमा छन भने सुन्तलाको बोट एक सयको संख्यामा छन ।

शीत भण्डारमा राखेर गत बर्ष अफसिजनमा जुनार र सुन्तला बिक्रीबितरणबाट करिब १४ देखी १७ लाखसम्म आम्दानी गरेका आलेले बिगतको बर्ष भन्दा यस बर्ष साबिकको भन्दा बढी आम्दानी लिने लक्ष राखेका छन । यस अर्थमा बुझ्न सकिन्छ कि बिगतका बर्ष भन्दा यो बर्ष आले मगरको जुनार बगैंचामा अझ धेरै र राम्रो जुनार उत्पादन भएका छन ।

माझकुभिण्डेका आलेमगरको जुनार सुन्तला बगैंचा मात्रै नभएर जुनार फल्ने हरेक किशानका बगैंचामा अहिले जुनार र सुन्तला पाकेर पहेलपुर भएका छन । त्यसो त जुनार कृषकका बारि र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनार र सुन्तलाले पहेंलपुर देखिन्छन । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । 

जुनार कृषकले फलाएका जुनार खरिदका लागी टाढाटाढाबाट ब्यपारीहरु नै जुनार बगैंचा पुग्ने गरेका छन । गोलञ्जोर गाउँपालिका–५ खनियाखर्क बजारमा जुनार बिक्रि गर्न किसानको घुइचो नै लाग्ने गरेको छ । वीपी राजमार्ग सञ्चालनमा आएसँगै जुनारको कारोबारमा वृद्धि भएको व्यापारी सावित्रा थापामगरले जानकारी दिए । उनले विगत १५ वर्षदेखि जुनार बेच्दै आएका छन् । 

विगतका वर्षमा भदौदेखि नै हरियोमै जुनार बेच्ने गरेको भएपनी यो बर्ष राम्रो संग पाकेपछी मात्रै कृषकले जुनार बजारमा पठाउन शुरु गरेका छन । प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना जुनार सुपरजोनका अनुसार हाल सिन्धुलीको विभिन्न क्षेत्रमा गरि एक हजार ५० हेक्टरमा अमिलो जातको फलफुल उत्पादन हुने गरेको र त्यो मध्ये ७ सय ५० हेक्टरमा जुनार र सुन्तला उत्पादन हुँने गरेको छ ।

परियोजनाका अनुसार गतबर्षको तथ्यांक अनुसार गोलन्जोर -४ तिनकन्या क्षेत्रमा मात्रै ९ हजार चार सय मेट्रीकटन जुनार र सुन्तला उत्पादन भएको र जिल्लाको जुनार उत्पादन हुने क्षेत्र नौ वटै वडाका जुनार कृषकले जुनार बगैंचाका लागी औषधि तथा बगैचा ब्यबस्थापन र २५ प्रतिशत घरखर्च कटाएर पनि अनुमानित ३२/३३ करोड बार्षिक आम्दानी लिने गरेको जनाइएको छ ।

विगत १६ वर्षदेखि जुनार बेच्दै आएकी रत्नकुमारी मगरको भने सिन्धुलीको जुनारको आफ्नै स्वाद र महत्व रहेको तर, विचौलियाले भने अन्यत्रको जुनारलाई समेत सिन्धुलीको भनेर बिक्री गर्ने गरेको गुनासो छ । जिल्लाको खनियाखर्कमा जुनार बिक्री गर्दै आएकी रत्नकुमारी जुनार बेचेर मात्रै वर्षको एक लाख भन्दा बढी बचत गर्ने गर्छिन ।

खनियाखर्क बजार आसपासमा मात्रै ५० जना भन्दा बढी जुनार व्यापारी र व्यवसायी छन् । तर एकै स्थानमा पनि जुनारको मूल्यमा भने एकरूपता छैन । मुख्य बजारमा व्यापारीले प्रतिकिलो ६५ देखि ७० रुपैयाँसम्ममा किसानसँग खरिद गरी ८० देखि १२० सम्ममा जुनार बिक्री गर्दै आएका छन् । 

गोलन्जोर गापाउँपालिका–६ नाकाजोलीका नविन हायुले जुनार बेचेर गतवर्ष सात लाख २० हजार आम्दानी भएको बताए । उनको बगैचामा एक हजार पाँच सय भन्दा बढी जुनारका बोट रहेका छन् भने यो बर्ष बिगतको भन्दा बढी जुनार उत्पादन भएकोले उनि गतबर्ष भन्दा बढी आम्दानी लिने लक्षमा छन ।

किसानको बगैचामै गएर ठेकेदार र व्यापारीले जुनार खरिद गर्ने गरेका छन् । जुनार बोटमै ठेक्का लागेकाले बजारमा गएर बेच्नुपर्ने झन्झट जुनार उत्पादक कृषकलाई छैन । पूर्व पश्चिमसम्म फैलिएको महाभारत क्षेत्रमा जुनारको व्यवसायिक खेती गर्ने क्रम भने बर्सेनि बढ्दै गएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार १३:४२

प्रतिक्रिया दिनुहोस्