दाइ ! उहीँखाले मेला तपाइँले गर्दा महोत्सव, अर्कोले गर्दा जात्रा हुँदैन

सिन्धुली – बिगत लामो समयदेखी खासगरि सिन्धुली उद्योग बाणिज्य संघ, पालिका शाखा र बिभिन्न संघ संस्थाको आयोजनामा जिल्लाको उद्योग, कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई आधार बनाएर दर्जनौं मेला-महोत्सवहरु सिन्धुलीमा आयोजना भइ सम्पन्न भए ।

स्थानीय अवसरहरुको प्रबर्द्धन गर्ने र जिल्लालाई आर्थिक रुपले सम्पन्न गराउँदै स्थानीय व्यवसायीको आर्थिक स्तरलाई उकास्ने उद्देश्यले नै करिब/करिब महिना, त्यो पनि अझ नभनौ हप्तादिनको अन्तरमा मेला-महोत्सव सिन्धुलीमा हुँदै आएको दृष्टान्त हामीसंग छर्लङ्ग छ ।

मेला तथा महोत्सवहरु स्थानीय विशेषताका दृष्टिले पृथक र अस्तित्वयुक्त हुनैपर्छ त्यसमा दुईमत छैन । यस्ता मेला महोत्सवले मानवीय चहल-पहललाई सक्रिय बनाई सामाजिक प्राण भर्ने काम गर्दछ । अझ म त भन्छु, मेला महोत्सवहरुको प्रभावलाई तत्कालको व्यापारिक उद्देश्यमा मात्रै सीमित गरिनु हुदैन । यस्ता खाले मेला-महोत्सवको तत्काल देखिने उपलब्धिभन्दा पनि यिनले दिने दुरगामी प्रभावहरु मूल्यवान छन् ।

सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीको मात्रै आयोजनामा २०७९ पौष ८ गते देखी १८ गतेसम्म छैटौं सिन्धुली महोत्सव सिन्धुलीमाढीमा सम्पन्न भयो । बाणिज्य संघ सिन्धुलीको संरक्षण, समन्वय र सहयोगमा २०७० साल यता करिब/करिब १० भन्दा माथी मेला-महोत्सवहरु सिन्धुलीमाढीमा मात्रै सम्पन्न भएका छन ।

“कला, संस्कृति, धार्मिक र ऐतिहासिक स्थलको संरक्षण गरौं, आन्तरिक पर्यटन, उद्योग, व्यापार तथा कृषिमा आधारित जुनारको प्रबर्द्धन गरौं” भन्ने मुल नाराका साथ सिन्धुली उद्योग बाणिज्य संघको आयोजनामा २०७१ पौष १० गते देखी १९ गतेसम्म सिन्धुली महोत्सव आयोजना गरियो ।

हामी सबैलाई थाहा छ, नेपालकै मौलिक फल ‘जुनार’ सिन्धुलीलाइ चिनाउने प्रमुख आधार हो । जुनार लक्षित प्रधानमन्त्री कृषी आधुनिकीकरण जुनार जोन परियोजनाका अनुसार मुख्यतः २०७१ सालदेखी जुनार कृषकका बगैंचामा फल कुहाउने झिंगा “सिट्रस फ्लाइ”को प्रकोप आज सम्म पनि जस्ताको त्यस्तै छ ।

बार्षिक ५ देखि २५ लाखसम्म एउटै बगैंचाबाट जुनार सुन्तला बिक्रीबितरण गरि आम्दानी लिने जुनार कृषकका बगैंचा आजभोली मरुभूमिमा परिणत भएका छन । तर उद्योग बाणिज्य संघले बर्सेनि आयोजना गर्ने सिन्धुली महोत्सवको नारामा आन्तरिक पर्यटन, उद्योग, व्यापार तथा कृषिमा आधारित जुनारको प्रबर्द्धन गरौं भन्ने वाक्यांश र जुनार अङ्कित लोगो कुनै पनि मेला महोत्सवमा आजसम्म छुटेको मैले देखेको छैन ।

लोगो र नारामा प्रमुख स्थान पाउने सिन्धुलीको जुनारलाई देखाएर बरु बिदेशी ब्राण्डेड ह्विस्की र मदिराको खुब प्रचार हुन्छ मेला-महोत्सवहरुमा । त्यो पटक-पटक हामिले लेख्दै, पढ्दै, सुन्दै आइरहेकै कुरा हो ।

जुनारको नारा र लोगोलाई भजाएर ब्राण्डेड रक्सी र ह्विस्कीको व्यापार गर्ने उद्योग बाणिज्य संघसंग जुनार उत्पादन गर्ने कृषक जो त्यसैको बिक्रीबितरणबाट दैनिक जन-जिबिका चलाइरहेका छन उनै जुनार कृषकलाई दिने नैतिक जवाफ छ होला ?

बाह्य तथा आन्तरिक पर्यटक लोभ्याउने एउटा मुख्य व्यवसाय हो ‘र्‍याफ्टिङ’ । यो व्यवसायको सम्भावना आर्थिक हिसाबले राम्राे छ । र्‍याफ्टिङ व्यवसाय प्रवर्द्धनका लागि पहल भन्ने उदेश्यले “खुर्कोटको दिगो बिकास अर्थतन्त्रको आधार, कृषी, जलस्रोत, पर्यटन र उद्योगको पुर्वाधार” भन्ने नारा सहित आयाम क्लव खुर्कोटको आयोजना तथा गोलन्जोर गाउँपालिकाको संरक्षणमा सुनकोशीमा ‘र्‍याफ्टिङ’ र सुनकोशी-मरिण डाइभर्सनको नक्सालाई लोगोमा राखेर २०७८ पौष १६ देखि २५ गतेसम्म दोस्रो खुर्कोट महोत्सव सम्पन्न भयो ।

खुर्कोटको दिगो बिकासलाई अर्थतन्त्रको आधार बनाएर कृषी, जलस्रोत, पर्यटन र उद्योगको पुर्वाधार निर्माण गरि समृद्ध गोलन्जोर बनाउने उदेश्य के उक्त महोत्सवले पूरा गर्‍यो त ?

“सडक, शिक्षा र बिजुली फिक्कलको पुर्वाधार, कृषि, बन र पर्यटन समृद्धिको मुल आधार” भन्ने मुल नाराका साथ प्रथम फिक्कल महोत्सव -२०७५ माघ २ गते देखि ७ गतेसम्म खाङ्साङ्गमा सम्पन्न भयो । लगत्तै अर्को बर्ष स्थानीय उत्पादन, कला र संस्कृतिको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित फिक्कल गाउँपालिकाकै आयोजनामा २०७६ फाल्गुन ९ देखि १८ गतेसम्म दोस्रो फिक्कल महोत्सवको आयोजना गरियो ।

स्थानिय तहको लगानी र आयोजनामा भएका यी मेला-महोत्सवले फिक्कल गाउँपालिका भित्रका पुर्वाधार सडक, शिक्षा र बिजुलीलाई लिएर कृषि, बन र पर्यटनमा समृद्ध फिक्कल बन्न उक्त महोत्सवले के-कति जग बसाल्ने काम गर्‍यो ? यसको नैतिक जवाफ आयोजक पालिका संग छ होला ?

जिल्लाको मरिण गाउँपालिका क्षेत्रमा खासगरी माझी र तामाङ समुदायको बसोबास छ । यहाँका माझी समुदायको मुख्य आम्दानीको स्रोत भनेको मरिणखोलाको माछा बिक्री बितरण हो । मरिण-खोलाको माछा र स्थानिय उत्पादनको प्रचार-प्रसार र पर्यटनमा समृद्धि भन्ने नारा सहित मरिण गाउँपालिकाको सहयोग तथा आयोजनामा मरिण महोत्सव – २०७६ आयोजना भयो ।

मरिण गाउँपालिका र उद्योग वाणिज्य सङ्घ मरिण शाखाको संयुक्त आयोजनामा मरिण गाउँपालिका–४, साहानमा तेस्रो मरिण महोत्सव–२०७८ पुस २३ गतेदेखि माघ ३ गतेसम्म सञ्चालन भइ सम्पन्न भयो भने केही दिन अघिमात्रै पनि “स्थानिय स्रोत साधनको प्रयोग गरि स्थानिय उत्पादनलाई प्रबर्द्धन र प्रोत्साहन गरौं” भन्ने नाराका साथ मरिण गाउँपालिकाको साहानमै पौष ६ देखी १६ गते सम्म चौथो मरिण महोत्सव -२०८० सम्पन्न भयो ।

अहिले माछा मारेर बिक्री बितरण गर्ने खासगरी माझी समुदायको मुख्य पेशानै लोप हुने अबस्थामा छ । मरिण गाउँपालिकाको सहयोगमा कपिलाकोटमा सम्पन्न चौथो महोत्सव सम्म आइपुग्दा मरिण महोत्सवको नारा र लोगोमा माछाको उपस्थिती छुटेको छैन । त्यहाका माझी समुदायको संकटमा पर्दै गएको पेशा माछा उत्पादन, यसको प्रचार-प्रसार र बिक्री बितरणमा उक्त महोत्सवले कुनै प्रभाव पारेको देखीदैन ।

“सडक, शिक्षा, बिजुली तिनपाटन गाउँपालिका बिकासको पुर्वाधार, कृषी, बन र पर्यटन समृद्धिको मुल आधार” भन्ने नाराको साथमा २०७६ फाल्गुन २३ देखी चैत्र १ गते सम्म तिनपाटन गाउँपालिकाको आयोजनामा चकमके बजारमा चकमके महोत्सव -२०७६ सम्पन्न भयो ।

सुनकोशी-मरिण डाइभर्सनको सुनकोशी क्षेत्रमा बाधिने ड्यामको नक्सा राखेर खुर्कोट बजार ब्यबस्थापन संस्थाको आयोजना तथा गोलन्जोर गाउँपालिकाको संरक्षणमा प्रथम बृहत सिन्धुली खुर्कोट महोत्सव २०७६ पौष ९ गते देखी १९ गते सम्म खुर्कोटमा संचालन भइ सम्पन्न भयो ।

सिन्धुली उद्योग बाणिज्य संघको आयोजनामा बागमती प्रदेश स्तरिय नै प्रादेशिक महोत्सव -२०७५ पौष १३ देखी २२ गते सम्म आयोजना भइ सिन्धुलीमाढीमा सम्पन्न भयो ।

“कृषि उद्योग पर्यटन र ब्यबसायमा लगानी अभिवृद्धि गरौं, समृद्धि र समुन्नत सिन्धुली निर्माणका लागी अघि बढौ” भन्ने मुल नाराका साथ सिन्धुली उद्योग बाणिज्य संघकै आयोजनामा जिल्लाको उत्पादन जुनार र भुइकटहरको लोगो राखेर २०७९ पौष ८ गते देखी १८ गते सम्म सिन्धुलीमाढीमा छैटौं सिन्धुली महोत्सव सम्पन्न भयो ।

जिल्लामा कृषकको लागी जुनारपछिको मुख्य आम्दानीको श्रोत भुइकटहर हो । जिल्लामा भुइकटहर वार्षिक एक करोडको हाराहारिमा कारोवार हुने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार मुख्यतः जिल्लाको डाडीगुराँसे, भद्रकाली, हर्षाही, सिर्थौली, लाम्पानटार, कमलामाई नगरपालीका, वालाजोर, भिमेश्वर लगायत तत्कालीन २१ गाँउ विकास समितीमा उक्त फल उत्पादन हुने गरेको छ ।  

तर, यस्ता बर्सेनि स्थानिय रुपमा उत्पादन हुने फलफुल जुन यहाँका आम-नागरिकको दैनिक जिबनयापनसंग जोडिएका उत्पादनहरु हुन । यसको प्रबर्द्धन, उत्पादन र प्रचार-प्रसार लाई यस्ता बर्सेनि संचालन हुने मेला-महोत्सवले खासै प्रभाब पारेको देखिदैन । प्रभाब छ त केबल नारामा मात्रै सिमित छन स्थानिय उत्पादन ।

चौथो मरिण महोत्सव सम्पन्न भएको करिब दस दिन पछि संचालन हुने गरि स्थानिय इभेन्ट ब्रदरहुड इन्टरटेन्टमेन्ट एण्ड म्यानेजमेन्टले सिन्धुलीमाढीमा पौष २७ गतेदेखी माघ ७ गते सम्मको लागी ‘साँस्कृतिक तथा फुड फेस्टिभल -२०८०’ आयोजनाको लागी अहिले तयारी गरिरहेको छ ।

सिन्धुलीको आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन तथा स्थानिय परिकारको प्रचार गर्ने उदेश्यले “सिन्धुली पर्यटन, कृषी, ब्यापार, उद्योग, सांस्कृतिक तथा फुड फेस्टिबल -२०८० आयोजना गरिने केही दिन अघि मात्रै पत्रकार सम्मेलन मार्फत आयोजक संस्थाले जानकारी गराएको हो ।

तर, सिन्धुली फेस्टिबल आयोजना हुने जानकारी पाएपछी सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा बिहिबार बैठक बस्यो र बैठकले निर्णय गर्‍यो कि, ‘व्यवसायिक महोत्सव आयोजना भए सिन्धुली उद्योग बाणिज्य संघ आन्दोलनमा उत्रन्छ ।’

बैठकको ठहर यो छ कि वर्तमान अवस्थामा बजारमा छाएको व्यवसायिक मन्दि र चर्को बैंक व्याजदरका कारण व्यवसायीहरु दैनिक पलायन हुदैँ गएको र व्यापार व्यवसाय तहस-नहस भएको अबस्थामा महोत्सव संचालन गरिनु हुदैन, यदि संचालन गरिए उद्योग बाणिज्य संघ यसको बिरोध स्वरुप आन्दोलनमा उत्रन्छ ।

उसो हो भने व्यवसायिक मन्दि र चर्को बैंक व्याज दरका कारण व्यवसायीहरु अफ्ट्यारोमा परेका हुन र यसले दिर्घकालिन असर पर्छ भने १० दिन अघि मात्रै उद्योग बाणिज्य संघ संरक्षक भइ सम्पन्न भएको चौथो मरिण महोत्सव आयोजनाको औचित्य के थियो ?

पटक-पटक कोरोनाले तहसनहस पारेको अर्थतन्त्र, भुकम्पले गिजोलेको नेपालका आम नागरिकका जनजिबन, बढ्दै गएको बेरोजगारी, महामारी, बिपद लगायतले तङरिन नसकेको खासगरी नेपालको पर्यटन र अर्थतन्त्रलाई सामान्यीकरण गराउन उद्योग बाणिज्य संघको पहलकदमी अहिलेसम्म के कस्ता रहे ?

सामान्य गुजारा चलाउन समेत धौधौ परेका आम नागरिकको हक-हितमा अभिभावकत्व भुमिकामा कहाँ-कहाँ देखियो उद्योग बाणिज्य संघ ?

पौष २७ गते देखि माघ ७ गतेसम्म संचालन हुने सिन्धुली फेस्टिबल -२०८० मात्रै बजारमा छाएको व्यवसायिक मन्दि र चर्को बैंक व्याज दरका साथै व्यवसायी पलायनको प्रमुख र पहिलो कारण हो त ? यदि होइन भने आफ्नै आयोजना, समन्वय, सहयोग र संरक्षणमा महिनैपिच्छे जस्तो संचालन हुने यस्ता मेला-महोत्सवको औचित्यको जवाफ उद्योग बाणिज्य संघ संगचाहिँ छ कि छैन होला ?

सिन्धुलीको स्थानिय उत्पादन जुनार, भुइकटहर, माछा लगायत आन्तरिक पर्यटन प्रबर्द्धनको निम्ती आयोजना हुने यस्ता बेलाबखतका मेला-महोत्सवहरु केबल नाराको लागी मात्रै हुन भनेर हामि आम नागरिकले किन नपत्याउने ?

अन्त्यमा, एकजना स्थानिय व्यावसायिले चिया खादै गर्दा संगैको साथीसंग गफिदै भन्दै रैछन यो महिनैपिच्छेको जात्राले पनि सिन्धुलीलाई कहिले नछोड्ने भयो ।

यो थाहा भएकै कुरा हो हप्तामा दुईदिन सिन्धुलीमाढीमा हटिया लाग्छ । जहाँ गाउँका उत्पादन बजार आउने, बजारका सामाग्री गाउँ-गाउँ पुग्न उक्त हटियाले पुलको काम गर्ने गरेको छ । तर, आजभोलीको हटियामा खासै चहलपहल देखिदैन । किनकी गाउँमै यस्ता मेला-महोत्सवहरु बेलाबखदमा हुँदै आएका छन ।

यसो सोच्दा हो पनि हप्तामा दुई दिन लाग्ने हाटमा आजभोली गाउँका उत्पादन खासै भित्रीदैनन । ती ब्यबसायी दाइ, जसलाई म राम्रो संग चिन्दछु । उहाँ सिन्धुलीको व्यावसायि मात्रै नभएर उद्योग बाणिज्य संघ सिन्धुलीको कार्यसमितिमा कार्यरत पनि छन । उहाँले भनेजस्तै गाउँ-गाउँमै यस्ता मेला-महोत्सवका नाममा जात्रा पटक-पटक आयोजना हुँदै आएका छन ।

तर, मलाइ ती ब्यबसायी दाइले संगैको साथीसंग गफिदै यो जात्राले पनि सिन्धुलीलाई कहिले नछोड्ने भयो भनेको सुनिरहदा ती दाइलाई भन्न मन लागेको थियो, ‘दाइ ! उहीँ खाले मेला तपाइँले गर्दा महोत्सव, अर्कोले गर्दा जात्रा हुन सक्दैन ।’

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार ११:०५

प्रतिक्रिया दिनुहोस्