सरकारले लामो दुरीका सार्वजनिक यातायात ५ असोजबाट सञ्चालन गर्ने अनुमति दिएसँगै दसैँको लागि टिकट बिक्री १५ असोजबाट खुला गर्ने तयारी गरेको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले दसैँलाई लक्षित गरी सरकारले लामो दुरीको सार्वजनिक सवारी चलाउने निर्णय गरेसँगै १५ असोजबाट टिकट बिक्री वितरण खुला गर्नका लागि तयारी सुरू गरेको बताए ।
निषेधाज्ञा खुलेपनि कोरोना संक्रमणदर दिनप्रतिदिन बढिरहेको अवस्थामा सरकारले दसैँका लागि गाडीको टिकट किन्ने यात्रुहरूको भिडाभाड काउन्टरमा नहोस् भनेर अनलाइन टिकटको व्यवस्था गर्ने तयारीमा छ । विभागले यसअघि नै यातायात व्यवसायीहरूलाई अनलाइनबाट टिकट बिक्री वितरण गर्ने व्यवस्था गर्न आग्रह गरिसकेको थियो ।
अन्य समयको तुलनमा यो वर्षको दसैँमा सर्वसाधारण ५० प्रतिशतले कम हुने व्यवसायीहरूले आँकलन गरिरहेका छन् । यस्तो अवस्थामा विभागले संक्रमणको थप जोखिम नहोस् भनेर सार्वजनिक यात्रुबाहक सवारीको सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरेको छ ।
कमाई हुने समयमा ५० प्रतिशत मात्रै यात्रु बोक्दा व्यवसायीलाई घाटा हुने भन्दै विभागले औषत मूल्यको ५० प्रतिशतसम्म भाडा दर बढाउन सक्ने व्यवस्था गरेको छ ।
विभागका महानिर्देशक हमालले भने, ‘व्यवसायीलाई सरकारले तोकेको भाडादरमा थप ५० प्रतिशत भाडा बढाएर यात्रु ओसारपसार गर्ने छुट दिएका छौँ । अन्य समयमा दसैँमा भाडा अझै घटाउने गर्दथ्याैँ भने यसपटक व्यवसायी थप मर्कामा परेका छन् । त्यसैले भाडा बढाउन छुट दिइएको हो ।’
यता सरकारले सञ्चालनको अनुमति दिनुपूर्व नै यातायात व्यवस्थापनमा जुटेका व्यवसायीहरू भने सरकारले तोकेको मापदण्डमा नै रहेर यातायात सञ्चालन गर्ने बताउँछन् ।
अखिल नेपाल यातायात व्यवसायी संघका अध्यक्ष रामचन्द्र कार्कीले सरकारले आधामात्रै यात्रु बोकेर सवारी साधन संचालन गर्न व्यवसायी सहमत भएको बताए ।
उनले भने, ‘सरकारले सवारीको कुल क्षमताको आधामात्रै यात्रु बोक्न पाउने निणर्य गरेको छ । हामी सोही निर्णय अनुसार नै चल्छौँ । भाडा दरमा पनि सरकारले व्यवसायीलाई हेरेको छ । यो राम्रो पक्ष हो ।’
कार्कीले सरकारको मात्रै नभएर व्यवसायी र मजदुर संघहरू दुवै छलफल गरेर टिकट व्यवस्थापनका लागि आवश्यक कदमहरू चाल्ने बताए । उनले यातायात व्यवसायीहरूले १ असोजबाट सार्वजनिक यातायात सञ्चालन गर्ने या सरकारको निर्णय मान्ने भन्ने कुरामा भने अहिलेसम्म निर्णय नभइसकेको बताए ।
त्यस्तै यातायात राष्ट्रिय व्यवसायी महासंघका सचिव सरोज सिटौलाले पनि सरकारको मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गरेपनि अनलाइन टिकटको व्यवस्थामा भने अहिलेसम्म कुनै कदम नचालिएको बताए ।
उनले भने, ‘सरकारले औपचारिक रुपमा पत्र काटेर अनलाइन टिकेटको व्यवस्था गर्न भनेको छैन । अहिलेसम्म त्यसको तयारी भएको छैन । अब आज र भोलि व्यवसायी र मजदुर संगठनबीच छलफल गरेर कसरी भिड व्यवस्थापन गर्ने भन्ने कुराको निणर्य गर्छाैं ।’
हरेक वर्ष दसैँका लागि २५ लाख सर्वसाधरणले उपत्याका छोड्ने गरेका छन् । यसवर्ष भने कोरोना संक्रमण सुरूवात देखि नै उपत्यका छोड्ने बढेकोमा करिब १२ लाखको हाराहारीमा सर्वसाधारण उपत्यका बाहिरिन सक्ने व्यवसायीहरूको आँकलन छ ।