अर्काेलाई आक्षेप लगाएर मात्रै पार्टी उँभो लाग्दैन: पूर्वमहामन्त्री सिंह

सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीले ‘समुदायमा कांग्रेस अभियान’ अन्तरगत शुक्रबार पार्टी कार्यालयमा छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता तथा कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा छलफल तथा अन्तरकृया सम्पन्न भएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले सबैले आ-आफ्नो जिम्मेवारी इमान्दारीताका साथ पूरा गरे पार्टी सुदृढ हुने बिश्वास ब्यक्त गरे ।

‘समुदायमा कांग्रेस अभियान’ को क्रममा पार्टीलाई बलियो बनाउन सिर्जनात्मक र तथ्यगत सुझाव दिन आग्रह गर्दै उनले क्रियाशील सदस्यदेखि पदमा रहेकाहरू समेत जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

एक-अर्काेलाई आक्षेप लगाएर पार्टी उँभो नलाग्ने भन्दै उनले भने, ‘कार्यकर्तामा नैराशयता आउनु राम्रो कुरा होइन, पद र जिम्मेवारिमा रहेका नेतृत्वलाई सृजनशिल भएर काम गर्न सुझाउदै त्यस्को लागी सबैले आ-आफ्नो ठाउँबाट सकारात्मक सहयोग गर्नुपर्ने धारणा ब्यक्त गरे ।’

सोही अन्तरक्रिया तथा छलफल कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश समितीका महामन्त्री तथा पूर्व संविधानसभा सदस्य तथा पूर्व उधोग राज्यमन्त्री कञ्चन चन्द्र वादेले ‘समुदायमा कांग्रेस अभियान’ ले आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउन र जन-अपेक्षा पूरा गर्न सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।

उनले भने, ‘प्रजातन्त्र ल्याउन, जनतालाई अधिकार दिलाउन सबैभन्दा बढी संघर्ष गरेको पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसप्रति जनताको आशा बढी छ । त्यसैले अरु राजनीतिक दलहरु भन्दा बढी जिम्मेवारीपूर्ण तवरले हाम्रो गतिविधि हुनुपर्छ ।’

कांग्रेस सिन्धुलीले माघ २६ गतेसम्म सञ्चालन हुने अभियानको लागी जिल्ला, प्रदेश, पालिका तथा वडास्तरिय बिबिध कार्यक्रम तय गरेको जनाएको छ । जस अन्तरगत माघ २० गते जिल्लाको ७९ वटै वडामा वडा भेला लगायत समिक्षा तथा छलफल कार्यक्रम आयोजना गरिएको कांग्रेस सिन्धुलीका सचिव इस्वर कुमार बस्नेतले जानकारी दिए ।

वडा तथा पालिका स्तरको भेलाको लागी एक संयोजक सहित प्रतिनिधीलाइ वडा/वडामा खटाइएको सचिव बस्नेतले  बताए । शुक्रवार आयोजित छलफल तथा अन्तरकृया कार्यक्रमलाई समापन गर्दै कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलले कांग्रेस रुपान्तरण र जागरणको निम्ती ‘समुदायमा कांग्रेस अभियान’ कोशेढुंगा साबित हुने उल्लेख गरे ।

समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आम नागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी ‘समुदायमा कांग्रेस अभियान’ सञ्चालन गरिएको सुझाउदै अभियानलाई सार्थक बनाउन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गरे ।

अभियानमा खटाइएका प्रतिनिधि जिल्ला तथा वडास्तरमा हुने कुनै न कुनै श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा अनिवार्य सहभागी हुनुपर्ने गरि परिपत्र भएको  कांग्रेस सभापती पोखरेलले बताए । अभियानको माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसका दिन समापन हुने जनाइएको छ । 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार ०६:१९

प्रतिक्रिया दिनुहोस्