रोकिएको सुरुङ निर्माण कार्य छिट्टै सुचारु हुन्छ: आयोजना प्रमुख बराल

सिन्धुली – राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्य बिगत ४५ दिन देखी रोकिएको आयोजनाले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

सुरुङको दायाँबायाँ दुवैतर्फ पाउडर जस्तो माटो झरेर सुरुङ खन्ने टनेल बोरिङ मेसिनलाई थिचे पछि ४५ दिनदेखि निर्माण कार्य रोकिएको पत्रकार सम्मेलन मार्फत आयोजना प्रमुख मित्र बरालले बताउनुभयो ।

आयोजना प्रमुख बरालका अनुसार भौगर्भिक समस्याले गर्दा पहिरोका कारण निर्माण क्रमको चौथो पटक टिबिएम मेसिन रोकिएको हो । यसअघि पहिलो पटक सात दिन, दोस्रो पटक नौ दिन र तेस्रो पटक २९ दिन टिबिएम मेसिन पहिरो, हिलो लेदो तथा धुलो पाउडर जस्तो माटो खसेर टनेल निर्माणको काम रोकिएको थियो ।

विगतमा अबरोध भएको कार्यलाई टिबिएम मेसिन बाइपास टनेल बनाएर काम नियमित गरिएको थियो । पछिल्लो पटक भने पहिरो पन्छाउन विभिन्न प्रयास गर्दा पनि ४५ दिनदेखि काम रोकिएर बसेको अवस्था छ, उहाँले भन्नुभयो ।

सुनकोशी गाउँपालिका स्थित ट्याङ ट्याङ खोलामुनि सुरुङ खन्ने क्रममा टिबिएम मेसिन फसेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार टिबिएम उपकरण फसेपछि काम नियमित गर्न विज्ञहरूबाट काम भइरहेको छ ।

टिबिएम निर्माण अमेरिकी कम्पनीका प्राविधिक, परामर्शदाताका विज्ञहरू, निर्माण व्यवसायी चिनिया कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) का प्राविधिक लगायतले काम अगाडि बढाउन लागि परेका छन् । मेसिन फसेको ठाउँबाट ९० देखि सय मिटर अगाडिसम्म बग्ने जमिन रहेको अनुमान आयोजनाको छ ।

आयोजना प्रमुख बरालले निर्माण स्थलमा सबै किसिमका र राष्ट्रिय तथा अन्तरास्ट्रिय विज्ञहरू (एक्सपोर्ट) हुँदा पनि पहिरो पन्छाएर मेसिन निकाल्न कठिन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीहरूले ४५ दिनमा टिबिएम मेसिनलाई फ्री गरि सक्यौं, अब अगाडि कटर हेड लाई फ्री गर्ने र केही दिनमा नै उक्त अबरोध स्थितीलाई निराकरण गरेर निर्माण कार्यलाई नियमित गर्ने छौँ ।

कुल १३.३ किलोमिटर लामो सुरुङमध्ये १० हजार ५४७ मिटर सुरुङ खनेपछि सुक्खा पहिरो खसेर मेसिन थिचिएर काम अघि बढ्न नसकेको उहाँले जानकारि दिनुभयो । उक्त सुरुङ २०७९ साल असोज २८ गते देखि कमलामाइ नगरपालिका -२ कुसुमटार बाट खन्न सुरु गरिएको थियो ।

टनेल बोरिङ मेसिनबाट सुरुङ निर्माण कार्यका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले ठेक्का पाएर काम गरिरहेको छ । सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपैयाँमा ठेक्का पाएको छ । २२ महिनामा सुरुङ निर्माणको काम सक्ने गरी उक्त कम्पनीले ठेक्का पाएको हो । उक्त मेसिनद्वारा दैनिक २५ मिटर देखि ३८ मिटरसम्म सुरुङ खन्ने गरिएको छ ।

५.५ डायमिटरको सुरुङमार्ग निर्माण गरिएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख बरालका अनुसार पहिलो चरणको काम अन्तर्गत सुरुङ निर्माण रहेको छ । दोस्रो चरणको काम अन्तर्गत सुनकोशी नदीमा बाँध निर्माणको काम अगाडि बढाइएको छ ।

सुनकोशी नदीमा बाँध निर्माण गरेपछि उक्त सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२, कुसुमटार स्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ पानी झारेर ३१.०७ मेघावाट विद्युत् उत्पादन गरिने छ । बहुउद्देश्यीय उक्त आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका जिल्ला बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने रहेको आयोजनाले जनाएको छ ।

सुक्खा पहिरो झरेर सुरुङ निर्माण रोकिएपछि मङ्गलबार निर्माण कम्पनी र आयोजनाले नियमित बिश्वकर्माबाबाको सुरुङ निर्माणस्थल कुसुमटारमा क्षमापूजा समेत गरेका छन । मङ्गलबार बिहान पण्डित लगाएर कमलामाई नगरपालिका–२, कुसुमटारमा विश्वकर्मा बाबाको पूजा गरी क्षमापूजा गरिएको आयोजनाले जनाएको छ ।

निर्माण स्थलमा सुरुमा नै विश्वकर्मा बाबाको मन्दिर स्थापना गरिएको थियो, आयोजना प्रमुख बरालले भन्नुभयो, “यो किसिमको मन्दिर भेरी बबई सुरुङ निर्माण गर्दा पनि स्थापना गरिएको थियो । त्यहाँ पनि नियमित पूजाआजा हुने गर्दथ्यो । सोही अनुरुप यहाँ पनि आज विषेश गरि मंगलबार पनि परेकोले नियमित पूजा गरेका हौँ । यसमा, कुनै धर्म, जात र लिङ्ग छैन ।”

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार ०४:३४

प्रतिक्रिया दिनुहोस्