गोलन्जोर वडा नं ६ मा पुनः मतगणना नगर्न उच्च अदालतको फैसला 

सिन्धुली – उच्च अदालत पाटनले सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ६ को वडाध्यक्षको मतपरिणाम पुनःगणना गर्नु नपर्ने फैसला बुधबार गरेको छ ।

पुनः मतगणनाको माग गर्दै नेकपा माओवादी केन्द्रबाट  वडाध्यक्षका निकटतम प्रतिस्पर्धी रोशन श्रेष्ठले दर्ता गराएको मुद्दामा माग गरिए अनुसार दाबी नपुगेको भन्दै उच्च अदालतले पुनः मतगणना नगर्न भनेको हो । 

मा. न्यायाधीश रमेशराज पोखरेल र न्यायाधीश दुर्गाराज ढुंगेलको फागुन २ गतेको संयुक्त इजलासले वडाध्यक्षका प्रत्यासी रोशन श्रेष्ठले दायर गरेको रिटमा फैसला गर्दै गोलन्जोर -६ मा पुनः मतगणनाको मागमा दाबी नपुग्ने फैसला गरेको उच्च अदालत पाटनले जनाएको छ ।

गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत मतगणनाप्रति असन्तुष्ट हुँदै पुनः मतगणनाको मागसहित उच्च अदालत पाटनमा दायर भएको मुद्दाको बुधबार फैसला भएको हो । 

कुल प्राप्त सदर मतमध्ये बाट एक मतको मतान्तरले मात्रै नेपाली कांग्रेसबाट उम्मेदवार रहेका रबिन कुमार श्रेष्ठ बिजयी बनेपछी पुनः मतगणनाको माग गर्दै नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षका उमेदवार रहेका रोशन श्रेष्ठले गएको २०७९ जेष्ठ १० गते उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसबाट उम्मेदवार रहेका रबिन कुमार श्रेष्ठले कुल प्राप्त सदर मतमध्ये ६०९ मत प्राप्त गरि बिजयी बनेका थिए भने उनको निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार रोशन श्रेष्ठले ६०८ मत प्राप्त गरेका थिए । नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार रहेका बिष्णुलाल श्रेष्ठले भने ४६५ मत प्राप्त गरेका  थिए ।

न्यायलयबाट न्याय र सत्यकै पक्षमा फैसला हुने पुर्ण बिश्वासमा रहेका वडा-अध्यक्ष श्रेष्ठले सम्मानित अदालतको फैसलालाई स्वागत गर्दै आफू निरन्तर जनताको सेवामा क्रियासिल रहने बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार १६:५९

प्रतिक्रिया दिनुहोस्