सिन्धुली – राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बिगत दुई महिना देखी रोकिएको सुरुङ निर्माण कार्य शुक्रवारदेखी सुचारु गरिएको आयोजनाले जनाएको छ ।
बिगत ६० दिनदेखी अबरुद्ध रहेको सुरुङ निर्माण कार्यलाई सामान्य रुपमा सुचारु गरिएको आयोजना प्रमुख मित्र बरालले बताउनुभयो । महाभारत श्रृङखलाको जटिल एवं प्रतिकूल भौगर्भिक अवस्था, सोहि अवस्थामा भूमिगत पानीको संयोजनले सुरुङ निर्माण कार्यमा समस्या थियो ।
सुरुङको दायाँबायाँ दुवैतर्फ पाउडर जस्तो माटो झरेर सुरुङ खन्ने टनेल बोरिङ मेसिनलाई थिचे पछि ६० दिनदेखि रोकिएको निर्माण कार्यलाई शुरु गरिएको हो ।
आयोजना प्रमुख बरालका अनुसार भौगर्भिक समस्याले गर्दा निर्माण क्रमको चौथो पटक टिबिएम मेसिन ६० दिन अघि रोकिएको हो । यसअघि पहिलो पटक सात दिन, दोस्रो पटक नौ दिन र तेस्रो पटक २९ दिन टिबिएम मेसिन पहिरो, हिलो लेदो तथा धुलो पाउडर जस्तो माटो खसेर टनेल निर्माणको काम रोकिएको थियो ।
सुनकोशी गाउँपालिका स्थित ट्याङ ट्याङ खोलामुनि सुरुङ खन्ने क्रममा टिबिएम मेसिन फसेको आयोजनाले जनाएको थियो ।
टिबिएम निर्माण अमेरिकी कम्पनीका प्राविधिक, परामर्शदाताका विज्ञहरू, निर्माण व्यवसायी चिनिया कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) का प्राविधिक लगायतको सहयोगमा निर्माण कार्यलाई पुनः सुचारु गरिएको प्रमुख बरालले बताउनुभयो ।
कुल १३.३ किलोमिटर लामो सुरुङमध्ये १० हजार ५४७ मिटर सुरुङ खनेपछि सुक्खा पहिरो खसेर मेसिन थिचिएर काम अघि बढ्न सकेको थिएन । उक्त सुरुङ २०७९ साल असोज २८ गते देखि कमलामाइ नगरपालिका -२ कुसुमटार बाट खन्न सुरु गरिएको थियो ।
टनेल बोरिङ मेसिनबाट सुरुङ निर्माण कार्यका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले ठेक्का पाएर काम गरिरहेको छ । सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपैयाँमा ठेक्का पाएको छ । २२ महिनामा सुरुङ निर्माणको काम सक्ने गरी उक्त कम्पनीले ठेक्का पाएको हो । उक्त मेसिनद्वारा दैनिक २५ मिटर देखि ३८ मिटरसम्म सुरुङ खन्ने गरिएको छ ।
५.५ डायमिटरको सुरुङमार्ग निर्माण गरिएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख बरालका अनुसार पहिलो चरणको काम अन्तर्गत सुरुङ निर्माण रहेको छ । दोस्रो चरणको काम अन्तर्गत सुनकोशी नदीमा बाँध निर्माणको काम अगाडि बढाइएको छ ।
सुनकोशी नदीमा बाँध निर्माण गरेपछि उक्त सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२, कुसुमटार स्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ पानी झारेर ३१.०७ मेघावाट विद्युत् उत्पादन गरिने छ ।
बहुउद्देश्यीय उक्त आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका जिल्ला बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष छ ।