कमलामाईको निर्णय: अब सबै बिद्यार्थी, सामुदायिक बिधालयमा

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकाले नगरपालिका मातहतमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको क्रममा रहेको बताएको छ ।

जस अनुरुप नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रस्तावमा एक महत्वपुर्ण निर्णय गर्‍यो ।

कार्यपालिका बैठकको निर्णयमा नगरपालिका मातहतका वडासम्मका निर्वाचित जनप्रतिनिधि, पालिका तथा वडामा कार्यरत कर्मचारी र सामुदायिक बिधालयमा कार्यरत शिक्षकले आफ्ना बालबच्चा अनिबार्य रुपमा सामुदायिक बिधालयमा भर्ना गर्नुपर्ने उल्लेख छ ।

उक्त निर्णय आउदो शैक्षिकसत्र देखी लागू हुने र पुर्णरुपमा लागु गर्न आफू र कार्यपालिका प्रतिबद्ध रहेको नगरप्रमुख पोखरेलले अंकपत्रलाई बताउनुभयो । उहाँले जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबच्चालाई अनिबार्य रुपमा सामुदायिक बिधालयमा भर्ना गरेर पठनपाठन गराउनुपर्ने र उक्त निर्णय कार्यान्वयनको लागी आम सिन्धुलीबासीले साथ सहयोग दिनुपर्ने उल्लेख गर्नुभयो ।

नगरप्रमुख पोखरेलले कमलामाइ नगरपालिका भित्रका हाल जनप्रतिनिधि, कर्मचारी र शिक्षकका बालबच्चा निजि स्कुलमा करिब दुई हजार माथीको संख्यामा अध्यन गर्ने गरेको जनाउदै उक्त सबै बिद्यार्थी आउदो शैक्षिकसत्र देखी आफुलाई पायक पर्ने सामुदायिक बिधालयमा भर्ना हुने बताउनुभयो ।

राज्यका निकायहरुमाथि भरोसा गर्नु हामी आम जनप्रतिनिधिको दायित्व भएको जनाउनुहुँदै नगरप्रमुख पोखरेलले यसको सुरुवात अरुबाट होइन, हामीले आफैंबाट गर्नुपर्छ भन्ने मनसायले उक्त निर्णय कार्यपालिकाबाट भएको बताउनुभयो ।

जनप्रतिनिधिदेखि लिएर शिक्षक, व्यवस्थापन समिति, कर्मचारी र हाम्रा अधिनमा भएका सामुदायिक विद्यालयमा हामीले विश्वास नगर्ने, हाम्रै बालबालिकालाई त्यहाँ नपढाउने हो भने कसरी गुणस्तरीय शिक्षा आउँछ ? उहाँले प्रश्न गर्नुभयो ।

बाहिर चाहिँ शिक्षा परिवर्तन गर्छाैं भन्ने अनि आफ्ना बच्चाहरु निजी विद्यालयमा पढाउने ? शिक्षक आफू सामुदायिक विद्यालयमा पढाउन जाने तर आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने ?

यो कार्यले हामी जवाफदेही बन्न सकेनौं । जवाफदेही बन्नका लागि हामीले आफैंबाट सुरुवात गर्नुपर्छ । हामीले हामीलाई नै विश्वास गरेर सामुदायिक विद्यालयको गुणस्तर बढाउनुपर्छ भनेर यस्तो निर्णय गरेका हौं उहाँको भनाइ छ । 

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार १५:२६

प्रतिक्रिया दिनुहोस्