सकारात्मक यौनिकताबारे सम्बाद कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न

सिन्धुली – प्लान नेपालको सहयोग तथा ह्याण्डस नेपाल सिन्धुलीको आयोजनामा सकारात्मक यौनिकता सम्बन्धी सिएसओ र मिडियासंगको सम्बाद कार्यक्रम बिहिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

संवाद कार्यक्रम जिल्लाको जोखिममा रहेका समुहलाई लक्षित गर्दै महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार थप सुनिश्चितताका लागी आयोजना गरिएको हो ।

संवाद कार्यक्रममा महिला तथा किशोरीको प्रजनन अधिकार प्रयोग गर्ने क्षमतालाई असर गर्ने बाधाहरुको बिषयमा समेत छलफल भएको छ । महिला तथा किशोरीलाई सेवा उपयोग गर्नबाट बन्चित गर्ने भेदभावपूर्ण लैङ्गिक मान्यताहरु, प्रणालीगत र सामाजिक सांस्कृतिक चुनौतीलाई सम्बोधन गर्ने महत्वपूर्ण कार्यहरु संवादमा पहिचान गरिएको छ ।

सबैको यौन तथा प्रजनन स्वास्थ्य, अधिकार र छनौटको अनुभति गराउन आम नागरिक प्रतिबद्ध हुनुपर्ने छलफलको निष्कर्ष छ । अनेकौं प्रतिवद्धताका बावजुत अझै पनि नेपालको दूर्गम क्षेत्र र सीमान्तकृत समूहका धेरै महिलाले आफ्नो शरीर, जीवन र भविष्यमाथि छनौटको अभ्यास गर्न पाएका छैनन् ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिती सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले भन्नुभयो, “यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सबैलाई सुनिश्चित गरिएको हुनुपर्छ । यसले महिला तथा किशोरीको भलार्ई मात्र नभई समाज र राष्ट्रलाई समेत रुपान्तरण गर्नमा मद्दत गर्नेछ र नेपालमा दीगो र समावेशी विकासलाई गति दिन आधार तयार गर्नेछ ।”

यौन र प्रजनन स्वास्थ्य सेवामा सर्वव्यापि पहुँच हासिल गर्न अवरोध गर्ने र विद्यमान असमानतालाई अझ गहिरो बनाउन सक्ने अबस्थालाइ मध्यनजर गर्दै यस संवाद कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष पवन पाख्रीनले बताउनुभयो ।

अर्थपूर्ण संवाद, बलियो नेतृत्व र दृढ प्रतिवद्धता मार्फत असमानता, भेदभाव र वहिष्करणलाई सम्बोधन गर्न हामीसँग अवसर छ । नेपालका सबै महिला तथा किशोरीको मौलिक अधिकार, हित र सम्मानको रक्षा गर्दै यौन तथा प्रजनन स्वास्थ्य सेवामा सर्वव्यापि पहुँच सुनिश्चित गराउनका लागि काम गर्नुपर्ने आवश्यकता अहिले रहेको सम्बाद कार्यक्रमले निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार ०८:१६

प्रतिक्रिया दिनुहोस्