अबरुद्ध मरिण खोला तटबन्ध निर्माण: नगरप्रमुखको पहलमा सुचारू

सिन्धुली – राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत मरिण खोला नियन्त्रणका लागि तटबन्ध निर्माणमा स्थानियले अबरोध गरेपछी नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको पहलकदमीमा निर्माणकार्यले गति लिने भएको छ ।

मरिण खोला नियन्त्रणको लागि तटबन्ध निर्माणको क्रममा स्थानियले आफ्नो निजि जग्गा कटान हुने भन्दै केही दिन अघिदेखी निर्माण कार्यलाई अबरोध गरिरहेको निर्माण कम्पनीका संचालक देबराज पाण्डेले बताए ।

नगरप्रमुख पोखरेलले स्थानिय, वडाध्यक्ष तथा जनप्रतिनिधि लगायतसंग छलफल र समन्वय गरि निर्माण कार्यलाई निरन्तरता दिन निर्माण कम्पनीलाई निर्देशन दिएका हुन ।

सुनकोसी नदीको पानी सुरुङमार्फत मरिण खोलामा खसाइने  हुँदा मरिण खोलाको बहाव बढ्ने जोखिम लाई मध्येनजर गरि मरिण क्षेत्रको जमिन डुबान र कटान रोक्न तटबन्ध निर्माण गरी नदी नियन्त्रण गरिने गुरुयोजना छ । 

जस अनुरूप प्याकेज–१ अन्तर्गत दुई किलोमिटर तटबन्ध निर्माण कार्य ठेक्का सम्झौता भइ अघि बढिसकेको छ ।प्याकेज–१ अन्तर्गत दुई किलोमिटर तटबन्ध गर्न जयमा स्वर्गद्वारी–सिद्धकाली–कालिका भगवती जेभीसँग गत भदौमा ठेक्का सम्झौता भएको हो ।

एक वर्षमा काम सक्ने गरी मूल्य अभिवृद्धि करसहित सात करोड १३ लाख ४७ हजार ३९१ रुपियाँमा ठेक्का सम्झौता भएको छ । सो ठेक्काको कार्य आदेश जारी भई निर्माण कार्य सुचारु भइसकेको छ भने मरिण खोला तटबन्धकै लागि प्याकेज–२ अन्तर्गत लागत अनुमान तयारी कार्य भइरहेको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख मित्र बरालले प्याकेज–२ अन्तर्गत छ किलोमिटर तटबन्ध हुने जानकारी दिए । उनका अनुसार, “सुनकोशी नदीको पानी मरिण खोलामा मिसाउँदा डुबान र कटान हुने क्षेत्र पहिचान गरी त्यहाँ तटबन्ध गरेर जग्गाको सुरक्षा गरिने योजना छ ।” 

कुसुमटारदेखि बागमती नदीसम्म मरिण खोलाको बहाव क्षेत्र करिब ४० किलोमिटर लम्बाइ रहेको आयोजनाले जनाएको छ । तर, सो सबै क्षेत्रमा भने तटबन्ध गरिने छैन । 

सुनकोशी तथा तामाकोशीको दोभान भन्दा नौ सय मिटर तल सुनकोशी नदीमा करिब ३० मिटर आग्लो र १५८ मिटर  लामो बाँध निर्माण गरी पानी बग्ने ५.५ डायमिटरको १३.३ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कुसुमटारस्थित मरिण खोलामा खसाल्ने योजना छ ।

सुनकोशी नदीको पानीलाई बागमती सिँचाइ आयोजनामा पु-याइ तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर जमिनमा वर्षभरि नै सिँचाइ सुविधा पु-याउने मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ ।

सामाजिक दायित्व तथा वातावरणीय सुधारका कार्यक्रम अन्तर्गत ब्यारेजको डुबान क्षेत्र र मरिण खोला (कुसुमटार) मा निर्माण हुने पावरहाउस क्षेत्रमा नदी नियन्त्रण, सडक, सिँचाइ कुलो, लिफ्ट सिँचाइ, खानेपानी लगायतका कार्यक्रम आवश्यकता अनुसार सञ्चालन गर्ने योजना रहेको बताएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार ०८:०१

प्रतिक्रिया दिनुहोस्