पत्रकारिताको वृद्धि बिकासमा सहयोग गर्न कमलामाई प्रतिबद्ध छ

सिन्धुली – नेपाल प्रेस युनियन सिन्धुलीले ३३ औँ स्थापना दिवसको अबसरमा बिचार गोष्ठी तथा शुभकामना आदान-प्रदान कार्यक्रम आइतबार सिन्धुलीमाढीमा सम्पन्न गरेको छ । लोकतन्त्रवादी पत्रकारको छाता संस्था युनियनको स्थापना २०४८ जेष्ठ १३ गते भएको थियो । 

स्थापना दिवसका अवसरमा नेपाली कांग्रेस सिन्धुलीका सभापति उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि सरोकारवालाको भुमिका’ विषयक विचार गोष्ठी तथा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरिएको हो ।

युनियनले पत्रकारको ट्रेड युनियन अधिकार, प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, पत्रकारको क्षमता विकास लगायतका क्षेत्रमा काम गर्दै आएको प्रेस युनियनको ३३ औं स्थापना दिवसको अबसरमा शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेस सिन्धुलीका सभापति उपेन्द्र कुमार पोखरेलले स्मरण गर्नुभयो । 

पोखरेलले लोकतन्त्र र प्रेस स्वतन्त्रताको लागि प्रेस युनियन लगायत समग्र संचारकर्मी र संचारकर्ममा आबद्ध सञ्चारकर्मीहरूले ०६२/६३ ताका गरेको आन्दोलन अविष्मरणीय रहेको उल्लेख गर्नुभयो ।

साथै कार्यक्रममा शुभकामना मन्तव्य ब्यक्त गर्दै सम्पुर्ण संचारकर्मीलाई सरकारमा को छ र गलत काम कसले गरेको हो भन्ने नहेरी सम्पुर्ण संचारकर्मीले सधैँ गलतको विरोध र सहीलाई समर्थन गर्दै अघि बढ्नुपर्ने सुझाब दिनुभयो । जिल्लाको समग्र पत्रकारिता क्षेत्रको वृद्धि बिकासको निम्ति सामुहिक रुपमा आएका प्रस्तावहरुमा जस्तोसुकै सरसहयोग गर्न कमलामाइ नगरपालिका प्रतिबद्ध रहेको कमलामाइ नगरपालिकाका नगरप्रमुख समेत रहनुभएका पोखरेलले बताउनुभयो ।

बिचार गोष्ठीमा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष कृष्णहरि घिमिरेले स्थापना दिवसको अबसरमा शुभकामना ब्यक्त गर्दै इन्टरनेट र डिजिटल माध्यममा आएका सबै सामग्रीलाई समाचार मान्ने र त्यसका सबै प्रेषकलाई पत्रकार मान्ने नागरिकको जमात अहिले ठुलो रहेको बताउदै यो बुझाइमा परिवर्तन ल्याउन अत्यावश्यक रहेको बताउनुभयो ।

स्थापना दिवसको अबसरमा आयोजित बिचार गोष्ठीमा नेपाल प्रेस युनियन सिन्धुलीका संस्थापक राजकुमार कार्की, न्युनतम पारिश्रमिक निर्धारण समितीकि सदस्य बिमला पाण्डे, प्रेस चौतारी नेपाल सिन्धुलीका अध्यक्ष बिनय दाहाल, प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष नवीन श्रेष्ठ, फोनिज सिन्धुलीका अध्यक्ष रोहित गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

प्रेस युनियन सिन्धुलीका अध्यक्ष बरुण लामिछानेको अध्यक्षतामा आयोजित बिचार गोष्ठी कार्यक्रममा क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) सिन्धुलीकि अध्यक्ष राधिका बुढाथोकीले स्वागत गर्नुभएको हो ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आईतवार १२:५७

प्रतिक्रिया दिनुहोस्