आन्तरिक पर्यटन प्रबर्द्धनको निम्ती सिन्धुलीगढी पदयात्रा

सिन्धुली – क्याप्टेन किनलक मार्गमा शनिबार पदयात्रा गरिएको छ । जिल्लाको कमलामाई नगरपालिका-२ चियाबारीदेखि कनपा-३ सिन्धुलीगढीसम्म (८ किलोमिटर) पदयात्रा गरिएको हो ।

‘सिन्धुलीको शान, गढीहरुको पहिचान’ भन्ने नाराका साथ गरिएको पदयात्रामा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीलगायत सरकारी, गैरसरकारी संघसंस्थाका प्रमुख, प्रतिनिधि स्थानीय नागरिक सहित पाँच सय जना सहभागी थिए ।

कनपा-६ शिबनगर स्थित नेपाली सेनाको श्री नं ९ बाहिनी अड्डाले वर्षेनी आयोजना गर्दै आएको पदयात्राले इतिहासको स्मरण, संरक्षण र प्रर्वद्धन गर्न सहयोग पुग्ने ‘नेपालको इतिहासमा सिन्धुलीगढी’ पुस्तकका लेखक तथा कमलामाई नगरपालिका, सिन्धुलीका सूचना अधिकारी सागरकुमार ढकालले बताउनुभयो ।

उहाँका अनुसार क्याप्टेन किनलक मार्गमा नेपाल एकिकरण अभियानका बेला क्याप्टेन किनलकको नेतृत्वमा रहेको इस्ट-इन्डिया कम्पनीका फौजहरु पैदल हिडेका थिए ।

वि.सं. १८२४ को असोज १५ गते क्याप्टेन किनलकको नेतृत्वमा आएका दुई हजार चार सय ब्रिटिश सेनालाई स्थानीयसहित करिब एक हजार दुई सयको संख्यामा रहेका गोर्खाली फौजले सिन्धुलीगढीको लडाइँमा पराजित गरेको इतिहास छ ।

नेपाल एकीकरणको समयमा काठमाडौंका तत्कालीन राजा जयप्रकाश मल्ललाई सहयोग गर्न आएको ब्रिटिश सेनालाई बंशु गुरुङ नेतृत्वको गोर्खाली सेनाले सिन्धुलीगढीबाट पराजित गरेर धपाएको बताइन्छ ।

बीपी राजमार्ग निर्माण नहुँदासम्म सिन्धुलीको महाभारत उत्तरतर्फ र रामेछाप, ओखलढुङ्गा, दोलखालगायतका जिल्लाका मानिसहरुको आवतजावत गर्ने मार्ग पनि यही क्याप्टेन किनलक मार्ग नै थियो ।

सदरमुकाम सिन्धुलीमाडीबाट चियाबारी पुगेपछि ग्वाङखोलाको किनारै किनार फेदीसम्म जाने र त्यहाँबाट ठाडो उकालो भएर हात्तीढुङ्गा, सिरवानी, ढुंग्रेभन्ज्याङ, साउनेपानी हुँदै प्रवेशद्वारबाट गढी क्षेत्रमा भित्रने पुरानो बाटो किनलक मार्गमा पर्दछ ।

पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा बाधा पुर्‍याउन काठमाडौंका तत्कालीन राजालाई सहयोग गर्न आएका ब्रिटिश फौजलाई नेपाली फौजले भूगोलको साथ लिएर प्रतिरक्षा गर्दै लडाइँ गरेकाले यो मार्ग अन्य भन्दा भिन्न र महत्वपूर्ण रहेको बताइन्छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार १०:०५

प्रतिक्रिया दिनुहोस्