बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणाको लागी छलफल

सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणाको लागी तयारी थालिएको छ । सिन्धुलीको नौ स्थानीय तहमध्ये अहिले सम्म कुनै पनि पालिका बालमैत्री नगर घोषित भएको छैन । 

बालमैत्री स्थानीय शासन घोषणाको लागी भने ५१ वटा सूचक पूरा गर्नुपर्ने जनाइएको छ । बालमैत्री स्थानीय शासन घोषणाका लागी सिन्धुलीमाढीमा आयोजित नगर समिती गठन तथा अभिमुखिकरण कार्यक्रममा नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बालबालिकाको समुन्नति र समृद्धि नै देश विकासको आधार रहेको बताउनुभयो । ‘बालबालिकाको समुन्नति र समृद्धि नै देश विकासको आधार हो, ‘पोखरेलले भन्नुभयो, ‘बालबालिकाको संरक्षण राज्यले गर्नुपर्छ ।’

नगरपालिकाले बालमैत्री नगरपालिका घोषणाका लागि आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार लगायतका ५१ सूचकहरू पूरा गरेर प्रमाणित भएपछि मात्रै बालमैत्री नगरपालिका घोषणा गरिने नगर प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

बालमैत्री पालिका घोषणाको लागि नगरपालिकाले १४ वटै वडामा बाल सञ्जाल, बालमैत्री शाखा बनाएर अभियानलाई अघि बढाएको छ । पालिकाले बालबालिकामैत्री वातावरण निर्माणको लागि सबै वडा र नगरपालिका भित्रका सबै विद्यालयहरूमा बाल समूह गठन गर्ने कार्य भइरहेको समेत नगर प्रमुख पोखरेलले बताउनुभयो ।

२०८४ साल सम्ममा बालमैत्री नगरपालिका घोषणाको लागि तयारी गरिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख पोखरेलले यस बर्ष नगरपालिकाले शिक्षाबाट बन्चित ३ सय २१ बालबालिकालाई नगरपालिकाले शिक्षाको पहुँचमा ल्याएको बताउनुभयो ।

उहाँले बालमैत्री स्थानीय शासन घोषणा गरेर नगरपालिकाले दिगो विकासका लक्ष्य पूरा गर्ने बताउनुभयो । उहाले बालमैत्री स्थानीय शासन दिगो विकासका लागि महत्वपूर्ण रहेको बताउदै शिक्षा, आधारभूत खानेपानी, बालविवाह मुक्त, बालश्रम मुक्त, बालमैत्री संरचना निर्माण, स्तनपान कक्ष, सार्वजनिक शौचालय तथा बालमैत्री पार्कको समेत व्यवस्थापन नगरपालिकाले गरेपछि मात्रै बालमैत्री नगरपालिका घोषणा हुने बताउनुभयो ।

प्रकाशित मिति : १७ असार २०८१, आईतवार १४:०४

प्रतिक्रिया दिनुहोस्