विश्व स्तनपान सप्ताह: गर्भवति महिला तथा आमाहरुलाई सहजिकरण

सिन्धुली – अहिले साताब्यापी रुपमा विश्व स्तनपान सप्ताह देशभर संचालन भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरे अनुसार हरेक वर्ष अङ्ग्रेजी महिनाको अगस्ट १ देखि ७ तारिखसम्म स्तनपान सप्ताह मनाउने गरिन्छ ।

सिन्धुलीमा पनि स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सप्ताहको अबसरमा आइतबार सिन्धुलि अस्पतालको परिसरमा रहेको नगर स्वास्थ्य केन्द्रमा सेवा लिन आउने गर्भवति महिला तथा आमाहरुलाई स्तनपान सम्बन्धी विशेष जानकारी गराइएको छ ।

गर्भवति महिला तथा आमाहरुलाई स्तनपानको महत्व, स्तनपान गराउने सहि आसन, पुर्ण स्तनपानबाट हुने फाईदाहरु लगायतबारे स्तनपान सम्बन्धि जानकारी गराइएको कमलामाइ नगरपालिका स्वास्थ्य शाखा प्रमुख केम थापाले जानकारी दिए ।

उहाँका अनुसार ‘स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता’ भन्ने मूल नाराका साथ यस वर्षको स्तनपान सप्ताह संचालन भइरहेको हो ।

बालबालिकालाई ६ महिना पूरा नभएसम्म आमाको दूध अनिवार्य रुपमा खुवाउनुपर्ने र पूर्ण स्तनपान गराउनुपर्नेमा विशेष जोड दिँदै स्तनपान सप्ताह मनाइन्छ ।

तर, नेपालमा ६ महिनासम्म बालबालिकालाई पूर्ण स्तनपान गराउने आमाहरूको सङ्ख्या घट्दो क्रममा रहेकाले चिन्ता बढाएको छ । विशेषगरी शिक्षित आमाहरूमा नै पूर्ण स्तनपान नगराउने दर बढी रहेको जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आईतवार ११:२५

प्रतिक्रिया दिनुहोस्