सिन्धुलीमा सवारी चालक र सहचालकको (लापसे) परिक्षण शुरु

सिन्धुली – सवारी चालकले नै लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको भन्ने जनगुनासो बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सडकमै लागूऔषध सेवनकर्ताको चेकजाँच गर्न सुरु गरेको छ । 

सीमावर्ती क्षेत्रमा खुला रूपमा पाइने लागूऔषधको सेवन गरी सवारी चलाउँदा ज्यान नै जोखिममा हुने गरेको भन्दै सडक सुरक्षाको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहकार्यमा चालकहरूले लागूऔषध सेवन (लापसे) गरे/नगरेको परीक्षण शुरु गरिएको सिन्धुली प्रहरी प्रमुख गोबिन्द राज काफ्लेले बताए ।​​

रेपिड मल्टी ड्रग टेष्टडिपकार्ड (किट) मार्फत चालकले विभिन्न ६ प्रकारको लागूऔषध सेवन गरे नगरेको परीक्षण भएको काफ्लेले बताए । ‘प्रहरी सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत नै बिपि राजमार्ग, मदनभण्डारि राजमार्ग लगायतका सडक हुँदै छुट्ने गाडीहरूको चालक र सहचालकको परीक्षण शुरु गरेका छौं,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको संयुक्त आयोजना तथा जिल्ला जन-स्वास्थ्य कार्यालय सिन्धुलीको प्राबिधिक सहयोगमा सवारी दुर्घटना न्युनिकरण गर्ने र सवारी साधनको‌ माध्यमबाट लागु पदार्थ ओसारपसार कार्यलाई रोकथाम गर्ने उद्धेश्यले लापसे जाँच शुरु गरिएको हो ।

पहिलो दिन ३८ वटा सवारी साधनका चालकहरुको स्वास्थ्य परीक्षण गर्दा एक जना बस र एक जना ट्रक चालक गरी दुई जना सवारी चालक र एक जना बसको सह-चालक गरी तिन जनाले ला.प.से गरेको भेटिएको जिल्ला प्रहरि कार्यालय सिन्धुलीका प्रमुख काफ्लेले बताए ।

लापसे रिपोर्ट पोजेटिभ देखिएपछी निजहरुलाई लागु औषध नियन्त्रण ऐन बमोजिम आवश्यक कारवाहीको लागि प्रकृया अगाडि बढाइएको उनले बताए । प्रहरीले अहिले परीक्षण गर्ने किटले ६ प्रकारको लागूऔषध प्रयोग गरेको हो वा हैन भन्ने पुष्टि गर्छ ।

गाँजा, कोकिन, ब्राउनसुगर, डाइजेपाम, एम्फेटामाइन र बार्विटुरेट्स समूहको लागूऔषध प्रयोग गरेको छ छैन भनि किट मार्फत अन द स्पट चेक हुने छ । किट केही खर्चिलो भएकोले यो अभियानलाई निरन्तर गर्न नसके पनि बेलाबेलामा भएको सीमित किट मार्फत छड्के परीक्षण गरिने कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार ११:५४

प्रतिक्रिया दिनुहोस्