स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको सम्झौता

सिन्धुली – जिल्लाको कमलामाइ नगरपालिका भित्र रहेका विद्यालयमा स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको बुधबार सम्झौता भएको छ ।

नगरपालिका र जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आयोजना गरेको समझदारीपत्रमा हस्ताक्षर समारोहमा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेल र प्रहरी प्रमुख गोबिन्द राज काफ्लेले विद्यालयका प्रधानाध्यापकहरुको रोहबरमा सम्झौतापत्रमा सयुक्त हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा हस्ताक्षर अघि शैक्षिक संस्थाको नेतृत्वका लागि चेतनामूलक डिजिटल विद्यालय पाठ्यसामग्रीको समेत सार्वजनिक गरिएको थियो ।

सम्झौता पछि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले पछिल्ला समयमा विद्यालयमा हुने गरेका अपराध नियन्त्रणका लागि यो कार्य र पाठ्यसामग्री महत्वपुर्ण रहने जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो पुस्तक र बिधालय शिक्षा अपराध नियन्त्रणका लागि महत्त्वपूर्ण बन्ने छ ।’ पछिल्ला दिनमा विद्यालयमा हुने गरेका यौन हिंसाका घटना र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि विद्यालयका प्रधानाध्यापक र जिल्ला प्रहरी कार्यालय संग सयुक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको उहाँको भनाइ छ ।

विद्यालयमा हुने अपराध र विद्यार्थीलाई प्रयोग गरेर गरिने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि यो पाठ्यसामग्री र शिक्षा महत्त्वपूर्ण हुने नगरप्रमुख पोखरेलले बताउनुभयो । अहिले ठुलो सङ्ख्यामा बालबालिका लागु औषधको प्रयोगकर्ताका रूपमा रहेको भन्दै उहाँले यसलाई रोक्नका लागि प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम लागु गर्नको लागी सम्झौता भएको बताउनुभयो ।

सम्झौता पत्रमा हस्ताक्षर अघि प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले पाठ्य सामग्रीमा लागुऔषध दुर्ब्यसनी, धूम्रपान, मध्यपान, साइबर अपराध र उजुरी गर्ने तरिका, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र महिला तथा बालबालिका विरुद्ध हुने अपराधबारे समावेश गरिएको बताउनुभयो ।

उहाँका अनुसार पुस्तकमा सामाजिक अपराध, घरेलु हिंसा र उजुरी दिने कार्यविधि, करणीसम्बन्धी कसुर, ट्राफिक सचेतना, विपद्, जोखिम र न्यूनीकरणका उपाय, आत्महत्याका सङ्केत र बचाउने उपाय, घटनास्थलको सुरक्षा र अपराध तथ्याङ्क पद्धतिका बारेमा पुस्तकमा सामग्री राखिएको छ ।

घटना हुनै नदिन रोकथाम गर्ने उपाय, असल मानिसका कर्तव्य र जिम्मेवारी, जिल्लामा प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्कका माध्यम, आत्मरक्षा र बच्ने उपाय, चोरी तथा लुटपाट नियन्त्रणबाट बच्ने उपायका बारेमा विद्यार्थीले बुझ्ने गरी पाठ्य सामग्री तयार गरिएको प्रहरी प्रमुख काफ्लेले बताउनुभयो ।

शुरुवातको चरणमा कमलामाइ नगरपालिका भित्रका ४६ निजि तथा सामुदायिक बिधालयमा उक्त प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम लागू गरिने गरि सम्झौता भएको हो ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार ११:२२

प्रतिक्रिया दिनुहोस्