सुनकोशीमा खसेको हाइलेक्स भेटियो, यात्रु अझै बेपत्ता

सिन्धुली – सुनकोशी नदीमा खसेको गाडी भेटिएको छ ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेका अनुसार सुनकोशीमा खसेको गाडी बिहान २ बजे गोताखोरले झिकेको हो ।

उक्त गाडी अहिले नदी किनारमा राखिएको छ । शनिबार खोटाङको हलेसीबाट भक्तपुर जादै गरेको प्रदेश ३-०१-०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी सिन्धुलीको गोलान्जोर गाउँपालिका-१ कुडुलेस्थित मध्यपहाडी लोकमार्ग सडकबाट सुनकोशी नदीमा खसेको थियो ।

गाडीमा सवार चारमध्ये एक जनाले हामफालेर ज्यान जोगाएका थिए । प्रहरी प्रमुख काफ्लेका अनुसार गाडीबाट हामफालेका भक्तपुरको जगातीका २७ वर्षीय सुशान्त कक्षपती घाइते छन् । उनलाई उपचारका लागि खुर्कोट लगिएको छ ।

अन्य तीन जना भने बेपत्ता छन् । बेपत्ता हुनेहरूमा जगातीका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा रहेका छन् ।

उनीहरूको खोजीका लागि २७ जना नेपाल प्रहरी, गोताखोरसहित १० जनाको सशस्त्र प्रहरीको टोली खटिएको थियो । आइतबार बिहान २ बजेसम्म खोजी गर्दा गाडी भेटिएपनि यात्रुहरू नभेटिएको काफ्लेले जानकारी दिए ।

उनीहरूको खोजी आज पुनः सुरू गर्न लागिएको उनले बताए । गाडी रहेको स्थान पत्ता लागेपछि गोताखोर टोलीले फलामको डोरी लगेर गाडीमा बाँधेर नदीबाहिर निकालेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आईतवार ०५:११

प्रतिक्रिया दिनुहोस्