चाडपर्व नजिकिएसँगै सिन्धुली प्रहरीले सक्रियता बढायो

सिन्धुली – चाडपर्वलाई लक्षित गरी सिन्धुली प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाएको छ । 

उहाँका अनुसार मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुको बिक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर बिक्री गर्ने तथा कानुन विपरितका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको छ । 

यस्तै चोरी, तस्करी र आपराधिक गतिविधि समेत हुन सक्नेतर्फ पनि प्रहरीले थप सुरक्षा सतर्कता बढाएको छ । प्रहरी प्रमुख काफ्लेले मातहतका प्रहरी कार्यालयलाई अवैध गतिविधि नियन्त्रणमा सक्रिय हुन निर्देशन दिइएको जानकारी दिनुभयो । 

प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा चुस्त पार्ने गरि तयारी समेत थालेको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागी सवारी साधनमा सन्देशमुलक स्टिकर टास गर्ने, सवारी चालकलाई दुर्घटना न्यूनीकरणका लागि सहयोग गर्छु भनेर प्रतिबद्ध गराउने, सम्भावित जोखिम क्षेत्रमा प्रहरी टोली परिचालन गर्ने, टोल तथा चोकहरुमा अभिमुखिकरण लगायतका कार्यहरु सुरुवात गरिएको प्रहरी प्रमुख काफ्लेले बताउनुभयो । 

चाडपर्वको समयमा यात्रा गर्दा यात्रु ठगिन नपरोस् भन्ने उद्देश्यले ट्राफिक प्रहरीसँगको समन्वयमा बसपार्क तथा सीमा नाकाहरुमा हेल्प डेस्क राख्न शुरु गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार जिल्लाको शान्ति सुरक्षाका लागि सबैजसो पालिकामा सुरक्षा व्यवस्था मजबुद बनाइएको छ ।

प्रहरीले जिल्लाका होटलको अनुगमन गर्ने, यात्रु हेल्पडेस्क स्थापना, चाडपर्वमा दुर्घटना बढी हुने भएकाले मुख्य राजमार्गमा सुरक्षा जाँच गर्ने काम शुरु गरेको उहाँले बताउनुभयो ।

दशैँ तिहारका समयमा खेलिने जुवातास नियन्त्रण, पटका पड्काउन नदिन र लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्न पनि प्रहरी परिचालन गरिएको उहाँको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जिल्लाभित्र हुनसक्ने चोरी, डकैती, अपराध लगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि विशेष सुरक्षा योजना बनाएको छ ।

विशेष सुरक्षा योजना अन्तर्गत राजमार्गमा जाँच, एम्बुस जाँच, विशेष टोली सादा पोशाकमा प्रहरी परिचालन, आकस्मिक जाँच, मोबाइल गस्ती, पैदलगस्ती, सिसिटिभी निगरानी, स्कटिङलगायतबाट सुरक्षा अवस्था निगरानी गरिने प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार ११:२४

प्रतिक्रिया दिनुहोस्