चाडपर्व लक्षित सिन्धुलीको ६ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना

असोज २०, सिन्धुली – चाडपर्वको समयमा यात्रुलाई हुने समस्या कम गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सदरमुकाम स्थित बसपार्क चौकमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ । 

जिल्लाभित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारीसाधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि कक्षको स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोबिन्द राज काफ्लेका अनुसार चाडपर्वको बेलामा यात्रुले विभिन्न सास्ती पाउन सक्ने भन्दै यातायातका साधनको सबैभन्दा बढी जमघट हुने चोकमा ‘सहायता कक्ष’ स्थापना गरिएको हो ।

चाडबाडको समयमा भाडाका कारण यात्रु ठगिने, यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुने लगायतका समस्या कम गराउन २४ घण्टे सहायता कक्षको स्थापना गरिएको प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीले प्रहरी खटाएर यात्रुका गुनासोको सुनुवाइ गरिनेछ । साथै बिपि राजमार्ग र मदन भण्डारी लोकमार्ग हुँदै सिन्धुलीबाट बाहिरिने तथा भित्रिने सवारीको निगरानी र अनुगमन गरिने उहाँले बताउनुभयो । 

“जिल्ला प्रहरी कार्यालय वा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा फोन गरेर वा ड्युटीमा रहेका प्रहरीलाई भेटेर यात्राको बारेमा गुनासो गरेका सबैको समस्या समाधानको प्रयास यही डेस्कबाट हुनेछ । यात्रुले यात्राका क्रममा भोगेका कुनै पनि समस्याहरू भएमा सिधै कक्षमा बताउन सक्नुहुनेछ, प्रहरी प्रमुख काफ्लेले भन्नुभयो । 

सिन्धुली सदरमुकाम स्थित बसपार्कसंगै जिल्लाको खुर्कोट बजार, कपिलाकोटको छाप, भिमान, दुधौलीको डकाहामा समेत यात्रु सहायता कक्ष स्थापना गरि पाँच सय पचपन्न जना प्रहरी जनशक्ती परिचालन गरि यात्रुको गुनासो सम्बोधन गरिने उहाँले बताउनुभयो ।

ब्यस्त बजार र नाकामा स्थपना गरिएको यात्रु सहायता कक्षले यातायात व्यवसायी र यात्रु सबैको समस्या समाधानका लागि महत्वपूर्ण हुने प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले बताउनुभयो । यात्रुको चाप सामान्य रहेको बेलामा त्यति धेरै समस्या नआउने भए पनि चाडबाडका बेलामा समस्या आउन सक्ने भएकाले जिल्लाको विभिन्न स्थानमा स्थापना गरिएको ‘यात्रु सहायता कक्ष’ छठ पर्वसम्मनै सञ्चालनमा रहने उहाँले बताउनुभयो ।

सिन्धुलीमाढीको बसपार्क स्थित यात्रु सहायता कक्षको उद्घाटन गर्दै जिल्ला समन्वय समिती सिन्धुलीका प्रमुख कार्साङ लामाले चाडबाडमा हुनसक्ने लुटपाट नियन्त्रण तथा आपतकालीन अवस्थामा परेका यात्रुलाई तत्काल सहायता गर्ने जस्ता कार्यका लागि सहायता कक्ष संचालन प्रभाबकारी रहने बताउनुभयो ।

उहाँका अनुसार जिल्लाको ६ स्थानमा सहायता कक्ष स्थापना गरि चाडपर्वमा मौका छोपी बढी भाडा लिने तथा यात्रामा अप्ठ्यारो पार्ने जो कोहीलाई कानुनको दायरामा ल्याउन यात्रु सहायता कक्ष महत्वपूर्ण हुनेछ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आईतवार ०५:०२

प्रतिक्रिया दिनुहोस्