काठमाडौबाट भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना: दुईको घटनास्थमै मृत्यु

सिन्धुली- काठमाडौबाट भोजपुर आउँदै गरेको यात्रुबाहक बस सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका -५ द्वारखोलामा सोमबार दिउसो दुर्घटना भएको छ ।

दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने बसमा सवार २३ घाइतेलाई सिन्धुली अस्पतालमा ल्याइएको थियो । दुर्घटनामा परि मृत्यु हुनेमा हतुवागढी गाउँपालिका–१ भोजपुरका २६ वर्षीय बुद्धिमान तामाङको पहचान खुलेको छ भने अर्का मृतकको पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।

मृतक दुवैको शव सिन्धुलीमाडीस्थित सिन्धुली अस्पतालमा राखिएको छ । घाइतेमध्ये गम्भीर घाइते भएका १० जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि पठाइएको छ भने सामान्य घाइते भएका १० जना उपचारपछि घर फर्किएका छन् । 

उदयपुरका ४० वर्षीय रमेश दनुवार चालक रहेको बा. प्र. ०१ -००६ – ख ६७८५ नम्बरको यात्रुबाहक बस काठमाडौबाट भोजपुर जानको लागी काठमाडौँको चाबहिलबाट सोमबार बिहान ४ बजे हिँडेको थियो ।

बसमा सवार यात्रुका अनुसार सोमबार दिउँसो ३ बजे आसपासतिर सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडा (द्वारखोला पुल नजिक) गाडी अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार ११:०५

प्रतिक्रिया दिनुहोस्