लाभग्राही बिबरण तत्काल पठाउन पालिकालाई गृहमन्त्रीको निर्देशन

सिन्धुली – गृहमन्त्री रमेश लेखकले विपद्का कारण प्रभावित बनेका लाभग्राहीहरुको तत्काल लाभग्राही विवरण पठाउन सम्बन्धित पालिकालाई निर्देशन दिनुभएको छ ।

तत्काल लाभग्राही बिबरण पठाउन निर्देशन गर्दै मन्त्री लेखकले ‘लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि रु १५ देखि २० हजार र अस्थायी आवास निर्माणका लागी पहिलो किस्ता स्वरूप २५ हजार दिन्छौ’ उहाले भन्नुभयो, ‘त्यसका लागि प्रभावित जिल्लाका पालिकाहरूले चाँडोभन्दा चाँडो लाभग्राही विवरण पठाइदिनुपर्‍यो ।’

बिपत्तीको बेला सरकारको अभिभावकिय सहयोगको अनुभुति हुने तबरले राहत र उद्धार तथा पुनस्थापनाका लागी नेपाल सरकारको सम्पुर्ण निकाय प्रतिबद्ध तबरले काम गरिरहेको जनाउदै मन्त्री लेखकले अवरुद्ध बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने बताउनुभयो ।

बाढी, पहिरो प्रभावित जिल्लाको मंगलबार स्थलगत अवलोकन गर्न सिन्धुलीको खुर्कोट आइपुगेका मन्त्री लेखकले स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै विपदबाट सबैभन्दा बढी क्षति भएको बिपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागि रहेको बताउनु भएको हो ।

‘बिपी राजमार्गमा धेरै क्षति भएको छ, एक हप्ताभित्र डाइभर्सजनसहित सवारी चलाउने व्यवस्था हुन्छ’, मन्त्री लेखकले भन्नुभयो, ‘यहाँका अवरुद्ध भित्री सडक सञ्चालनदेखि पुल निर्माणसम्म सेनाको धेरै ठुलो भूमिका देखिएको छ ।’

विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागिपरेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो यो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 

गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देल सहितको टोलीले मंगलबार बाढी/पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेको हो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलवार ०८:१९

प्रतिक्रिया दिनुहोस्