सिन्धुली : नेपाली कांग्रेस सिन्धुलीले पार्टीको संगठन सुदृढीकरणको सय दिने अभियान सुरू गरेको छ । अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले सिन्धुलीमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रतिमा गौतमलाई खटाएको छ ।
अभियानका लागि सिन्धुली कांग्रेसले पूर्वसभापति महासमिति, महाधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारी तथा सदस्य समेतलाई ९ स्थानीय तहका ७९ वटै वडाका लागि प्रतिनिधि खटाएको नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलले बताएका छन् ।
सय दिनको अभियानका क्रममा कार्यालयलाई व्यवस्थित गर्ने, मासिक रुपमा सबै तहका बैठक र वडातहसम्मै यथाशीघ्र सम्मेलन गर्ने, वार्षिक कार्ययोजना बनाउने, संगठन विस्तारका लागि सामाजिक र राजनीतिक गतिविधि बढाएर लैजाने, सदस्यता घर-आँगन कार्यक्रमलाई प्रभावकारी बनाउनेलगायतका कार्यक्रम वडा-वडामा हुने सभापती पोखरेलले जानकारी दिए ।
यस्तै भातृ तथा शुभेच्छुक संगठनमा रिक्त पदपूर्ती गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान गर्ने, द्वन्द्व पीडित, घाइते र सहिद परिवारको सम्मानका कार्यक्रम पनि गर्ने नेपाली कांग्रेस सिन्धुलीका सह-सचिव शेखर मिश्र (सुरज) ले जानकारि दिए ।
तीन महिना सञ्चालन हुने अभियान आउँदो पुस १६ गते बिपी जयन्तीका दिन समापन हुनेछ । अभियानको क्रममा आउदो मंसिर २० गते जिल्लाको सम्पूर्ण वडामा एकै दिन वडा भेला आयोजना गरिएको छ । वडामा हुने भेलाको एक संयोजक सहित सात देखि दस जना सदस्य सहितको प्रतिनिधि समूह खटाइएको छ ।
२० गते पछि चरणबद्ध पालिका, क्षेत्र, प्रदेश र जिल्ला स्तरको बिबिध कार्यक्रम तय गरिएको कांग्रेस सिन्धुलीले जनाएको छ ।