२० फागुन, सिन्धुली । आगामी चैत्र ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि नेपाल बिद्यार्थी संघले जिल्लाको एघारवटा सामुदायिक क्याम्पसमा आफ्नो संगठन दर्ता गराएको छ ।
सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनका लागि संघ संगठन र समूह दर्ता गर्ने समय निर्धारण गरिएको थियो । सो समयमा क्याम्पसका नेपाल बिद्यार्थी संघले आफ्नो संगठन दर्ता गराएको नेपाल विद्यार्थी संघ सिन्धुलीका सभापती भरत बिकले अंकपत्रलाई जानकारी दिए ।

निर्वाचन समितिले केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार नै सोमबार संघ संगठन दर्ता गरेको र अन्य तालिकाका विषयमा मंगलबार संघ संगठनबिच बैठकमा छलफल गरिने जनाएको छ । नेबिसंघ सभापती बिकका अनुसार एघारवटै क्याम्पसमा उल्लासमय तरिकाबाट दल दर्ता गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयले निकालेको केन्द्रीय निर्वाचन तालिका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशित गर्ने र फागुन २५ मा मतदाता सूचीउपर दाबी विरोध गर्ने समय रहेको छ । त्यसैगरी, फागुन २५ गते नै मतदाता सूचीउपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।

फागुन २६ गते उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको मनोनयनपत्र नामावली दाखिला गर्ने समय फागुन २७ को लागि तोकिएको त्रिविको सूचनामा उल्लेख छ । सोही दिन नै दुवैतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।
दुवैतर्फको उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ । त्यसैगरी, उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ भने मतदान चैत ५ गते बिहान ८ बजेदेखि हुनेछ ।