पाँच दिनदेखी बेपत्ता सिन्धुलीका युबक कालीगण्डकीमा मृत फेला

सिन्धुली — बिगत पाँच दिनदेखी बेपत्ता रहेका सिन्धुली गोलन्जोरका भोजराज अस्तानी मगरको शव कालीगण्डकी नदीमा भेटिएको छ ।

कालीगण्डकी करिडोर अन्तर्गत राम्दी रानीमहल सडक खण्डको अस्थायी क्याम्पमा बसेर डोजर अपरेटरको काम गर्ने सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ बस्ने २६ वर्षीय भोजराज अस्तानी मगरको शव बेपत्ता भएको पाँच दिनपछि कालीगण्डकी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फागुन २६ गते बेलुकी खाना खाएर साथीहरुसँग क्याम्पमा सुतेको र २७ गते बिहान बिस्तारामा नभेटिएपछि खोजतलास सुरु भएको हो । मोबाइल बिस्तारामै रहेको र सिसीटिभी फुटेजमा राति २ बजे क्याम्पबाट बाहिर निस्किएको देखिएको थियो ।

खोजतलास गर्ने क्रममा बगनासकाली गाउँपालिका–६ यम्घा माइचौरमा कालीगण्डकी नदीमा मृत फेला परेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

मृतक अस्तानी मगरको शव पोष्टमार्टमका लागि तानसेनस्थित पाल्पा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, आईतवार १२:४१

प्रतिक्रिया दिनुहोस्