हिसान बागमती प्रदेशको दोश्रो अधिबेशन सम्पन्न: अध्यक्षमा आचार्य

सिन्धुली – उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (HISSAN) बागमती प्रदेशको दोस्रो अधिवेशन बुधबार काठमाडौंको दुसित प्रिन्सेसमा सम्पन्न भएको छ ।खेलकुदमन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यता तथा प्रदेशभरका निजी तथा सामुदायिक विद्यालयका प्रतिनिधिको सहभागितामा अधिबेशन सम्पन्न भएको हो ।

अधिवेशनले राजकुमार आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिले बागमती प्रदेशमा शैक्षिक क्षेत्रको सुधार, नीतिगत परिमार्जन, विद्यालयहरूको व्यवस्थापन सुदृढीकरण तथा शिक्षक र विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन ।

अधिवेशनका प्रमुख अतिथि खेलकुदमन्त्री तेजुलाल चौधरीले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै खेलकुद र शिक्षाबीचको सहकार्य आवश्यक रहेको जोड दिनुभयो । उहाँले शिक्षामा खेलकुदको भूमिकालाई बढावा दिन आवश्यक नीति निर्माण गरिने बताउँदै विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई शारीरिक, मानसिक र बौद्धिक विकासका अवसरहरू उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

हिसान बागमती प्रदेशको आचार्य नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा आनन्द कुमार यादव र सन्दिप श्रेष्ठ, सचिवमा मदन कुमार सुवेदी, सह-सचिवमा रमेश घिमिरे, कोषाध्यक्षमा जयराम वाग्ले निर्वाचित भएका छन् ।

सदस्यहरुमा, बुद्धिराम बन्जाडे, नन्दु कुशवाहा, बरुण पन्थी, विष्णु शर्मा, आर.डी भट्ट, सुदर्शन जमरकट्टेल, ऋतु न्यौपाने, होम बहादुर अधिकारी, लक्ष्मण पोख्रेल, पेशल लुइटेल, आकाश पौडेल, राम प्रसाद बडाल, भुशील खनाल, सरोज महर्जन र नेत्र प्रसाद भुसाल निर्वाचित भएका हुन् ।

नब निर्बाचित अध्यक्ष राजकुमार आचार्यले अबको आफ्नो कार्यकालमा हिसान बाग्मती प्रदेशले विभिन्न कार्यक्रमहरु गर्दै निजि शैक्षिक संस्थालाइ थप गुणस्तरीय र प्रभाबकारी बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहीबार ०८:३७

प्रतिक्रिया दिनुहोस्