सिन्धुली । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति सिन्धुलीले आइबार वार्षिक भित्ते पात्रो (क्यालेन्डर) विमोचन गरेको छ । आइतबार सिन्धुलीमाडीमा आयोजित नव वर्ष २०८२ को शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रममा कर्मचारी युनियनले नयाँ क्यालेन्डर विमोचन गरेकोे हो ।
कर्मचारी युनियनका अध्यक्ष दिनेश कुमार पोखरेलको अध्यक्षतामा नेपाली काँग्रेस सिन्धुलीका सभापति एवंम कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख पोखरेलले लोकतान्त्रिक संस्कार, कर्मचारीका समस्या, अनुशासन र पारदर्शिताको चर्चा गर्नुभयो । लोकतन्त्रमा हातकलम चल्ने स्वतन्त्रता भए पनि त्यसको दुरुपयोग कसैले पनि गर्न नहुने तर्क गर्दै पार्टीको सिद्धान्त विपरित कार्य गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिनुभयो ।
भन्नुभयो, “भ्रष्टाचार गर्ने, नियम र संविधान विपरीत कार्य गर्ने जो कोहीलाई ढाकछोप गरिने छैन, काँग्रेस पार्टीमै आवद्ध भएपनि संरक्षण गरिन्न । काँग्रेसको सबै भातृसंघहरुलाई सधैं नागरिकको दुख–सुखमा साथ दिएर अगाडी बढ्न आग्रह गर्दछु ।”
काँग्रेस सिन्धुलीका पुर्व सभापति तथा संविधान सभा सदस्य मोहन प्रसाद बराल, नेपाली काँग्रेसका उपसभापति दीपक कुमार घिमिरे, कर्मचारी युनियनका संस्थापक अध्यक्ष छत्र बहादुर श्रेष्ठ, पूर्व अध्यक्ष गोविन्द कोइराला, नेपाली काँग्रेस सिन्धुली क्षेत्र नं. १ का सभापति तथा तिनपाटन गाउँपालिका, सिन्धुलीका अध्यक्ष कर्ण बहादुर थापा मगर, नेपाल महिला संघ सिन्धुलीकी सभापति गंगा दाहाल, नेपाल विद्यार्थी संघका सभापति भरत विकलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
नजिकिदै गरेको नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै बक्ताहरुले राजनीतिमा संस्कार र अनुशासन आवश्यक रहेको विचार व्यक्त गरेका थिए । सबै नागरिकमा हाँसी–खुशी ल्याउने वातावरण बनाउनुपर्नेमा उहाँहरुको जोड थियो । संस्था बलियो भएमा व्यक्तिहरू स्वतः सम्पन्न बन्ने उल्लेख गर्दै संगठनमा अनुशासन, एकता र पारदर्शिता आवश्यक रहेको धारणा राखेका थिए ।
यसैबिच, नेपाल विद्यार्थी संघबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित भएका विद्यार्थी प्रतिनिधिहरूलाई विशेष शुभकामना, बधाई तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य कर्मचारी युनियनका केन्द्रिय प्रतिनिधि भरतजंग थापाले राख्नुभएको थियो भने कार्यक्रमको संचालन कर्मचारी युनियनका सचिव दिपकराज अधिकारीले गर्नुभएको थियो ।