हटिया शैलीका “मेला महोत्सव” आवश्यकता कि अनाहकको फेसन ?

सिन्धुली – केहीसमय अगाडि मेला महोत्सव भनेपछि मानिसहरुमा उत्साह, उमंग छाउँथ्यो । मेला हेर्न मानिसहरु घरको कामलाई थाँँती राखेर विभिन्न ठाउँ र जिल्लाबाट सहभागी हुन्थे । किनकि त्यतिबेला सीमित जिल्लामा मात्र हुन्थ्यो । मेलामा स्थानीय स्तरमा उपलब्ध खाद्यान्न सुलभ, सुपथ मूल्यमा पाइन्थ्यो । मेलाको लागि विशेष स्थल पहिचान गरिन्थ्यो । 

अहिले फरक छ । गाउँदेखि शहरसम्म लाग्ने क्रम जारी छ । पहिले महोत्सव कस्तो हुन्छ भन्ने एक प्रकारको जिज्ञासा हुन्थ्यो । हिउँद लागेपछि देशका विभिन्न स्थानमा मेला–महोत्सव आयोजना गर्ने क्रम पछिल्लो समय होडबाजी जस्तै छ । महोत्सवको सोही प्रकारको महत्व एवं आकर्षण देखिँदैन । फलस्वरुप महोत्सवप्रति उत्साह घट्दो देखिन्छ । कारण महोत्सवको आयोजना विकेन्द्रिकृत र बेमौसमी होडले औचित्य गुम्दै गएको स्थानीय जानकारहरु बताउँछन् । 

मनोरञ्जनात्मक कार्यक्रम र उद्योग, व्यापारका स्टलमात्रै मेलामा राखिँदा अवलोकनकर्ताहरुका लागि ज्ञानको थलो नभई भेटघाट हुने माध्यम बनेको छ । बिदेशी ब्राण्डका रक्सिको प्रचारयुक्त पोस्टर नराखी त महोत्सवको ब्यानर नै तयार हुदैन । हिजोआज केही मेलामा दर्शकको उपस्थिति निकै न्यून देखिन्छ ।

महोत्सवले उत्पादक र उपभोक्तालाई एउटै थलोमा प्रत्यक्ष रुपमा भेट गराउने अवसर जुराउने मूल मर्म भए पनि त्यो पाइँदैन । जसले गर्दा उपभोक्ताले दिने प्रतिक्रियाले उद्यमीले आफ्नो उत्पादनलाई थप गुणस्तरीय बनाउने मौकाबाट बञ्चित हुन परेको घरेलु तथा लघु उद्यमीहरुको गुनासो अर्कोतिर छ ।

महोत्सवले लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, वस्तुको उत्पादन र उपभोगबाहेक जातीय, भेसभूषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्न, स्थानीय उत्पादित कृषि वस्तुको व्यवसायीकरण गर्न र पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु महोत्सवको मूल उद्देश्य मानिन्छ ।

तर हिजोआज हुने मेला महोत्सवको उद्देश्य पैसा कमाउने भन्दा नयाँ केही नहुने गरेको छ । अहिलेको लागी मेलालाई विस्थापित गर्ने कि थप स्तरीय बनाउने भन्ने प्रश्न खडा भएको छ । 

टोल विकास संस्था, क्लब, आमा समूह, गाउँ, पालिका, विभिन्न उद्योगी संघसंस्थाले मेला, महोत्सव गर्ने गरेका छन् । जसले आवश्यकता कि अनाहकको फेसन ? भन्ने गम्भीर आवाज उठ्न थालेको छ ।

खासमा महोत्सवको महत्व स्थानीयस्तरमा उत्पादन हुने वस्तुको बजारीकरण, बेरोजगार युवायुवतीलाई स्वरोजगार बन्ने प्रेरणा केन्द्र, साना, लघु तथा घरेलु व्यवसायको प्रवर्द्धन, नयाँ उद्यमी बनाउन सक्ने प्रयोगात्मक सिकाई थलो, पर्यटन प्रवर्द्धनको एउटा महत्वपूर्ण पाटो बन्नुपर्ने हो ।

पछिल्लो समय महोत्सवहरु साँस्कृतिक क्षेत्रको विशुद्ध व्यापारिक केन्द्र र बाहिरी व्यापारीहरुको जिल्लाबाहिर थन्किएका सामानहरुको प्रदर्शनी गर्ने हाटबजार जस्तै बन्दै गएको र त्यसलाई पृथकता दिन नसकिरहेको स्थिती छ । उत्पादनमा केन्द्रित हुन सके मेला महोत्सवको महत्व स्थापित हुने कुरामा दुइमत छैन । 

महोत्सवलाई राजनीतिक प्रतिस्पर्धाको थलो बनाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न खोज्नुले अनाकर्षक हुँदै गएकाले अस्वाभाविक प्रवृत्ति रोक्न सम्बन्धित निकायहरुबिच छलफल हुन आवश्यक छ ।

पर्यटन विकासले एउटा कार्यविधि बनाएको स्थितीमा सडक महोत्सवले अनिवार्यरुपमा ५ देखि १० वटासम्म विभिन्न जातजातिका रैथाने खानाका परिकारका स्टल राख्नुपर्ने उल्लेख गरेको छ । मेला महोत्सवमा विकृति बढ्दै गएको, पर्यटन क्षेत्रहरुको पहिचान चिनाउने बोर्डहरु नराखिने लगायत हुँदै आएकाले कमाउमुखीमा लिप्त हुँदै आएको स्थितीले मेला महोत्सवको आकर्षण घट्दै गएको हो ।

मेला महोत्सव आवश्यक हो तर मौलिकता छैन, हामीले जिल्लाभित्र आयोजना हुने विभिन्न कालखण्डका मेला महोत्सवहरुलाई स्मरण गर्दा होडिङ बोर्डमा मेलाको नाम लेखिए बमोजिम व्यवहारमा सोही प्रकारको पाएका छैनौँ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आईतवार ०५:०३

प्रतिक्रिया दिनुहोस्