सिन्धुली — जिल्लाको भित्री पहाडी भु-भाग भएको दुधौलीमा इलाका प्रशासन कार्यालय स्थापना गरिने भएको छ । स्थानीयको मागअनुसार नै जिल्ला प्रशासन कार्यालयले इलाका प्रशासन कार्यालय खोल्नुपर्ने ठाउँको छनोट गरेर गृह मन्त्रालय पठाएसँगै दुधौली नगरपालिका ४ डकाहामा कार्यालय स्थापना हुने भएको हो ।
सिन्धुलीका दुर्गम पहाडिय भु-भागबाट दुधौलीका सम्पुर्ण वडा, तिनपाटन गाउँपालिका, कमलामाइ नगरपालिकाका केही वडाका सर्वसाधारण नागरिकतालगायत कागजात बनाउन २० देखि ५० किलोमिटर टाढाको सिन्धुलीमाढी आइपुग्नुपर्ने बाध्यता छ ।
दुर्गम पहाडका नागरिकलाई प्रशासन कार्यालयबाट हुने सेवाका लागि घण्टौं टाढाको सिन्धुलीमाढी आइपुग्नुपर्ने बाध्यताबाट छुटकारा पाउन दुधौलीमा इलाका प्रशासन कार्यालय स्थापना गर्न गृह मन्त्रालयबाट स्वीकृत लिइएको सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य एबम नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो ।
नागरिकता बनाउन घण्टौं लगाएर सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको भन्दै तीन दशकभन्दा बढी समयदेखि दुर्गमका बासिन्दाले पहाडमा इलाका प्रशासन कार्यालय खोल्न माग गरिरहेका थिए, अहिले स्थानियको माग अनुसार सम्बोधन भएको छ, प्रमुख सचेतक घिमिरेले भन्नुभयो ।’
यहाँका पहाडी दुधौली नगरपालिका, तिनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका लगायतका स्थानीयलाई कच्ची सडक हुँदै सदरमुकाम सिन्धुलीमाढीसम्म आउन निकै कष्टकर छ । वर्षात्मा पहाडी क्षेत्रका बासिन्दालाई ५० किलोमिटर सम्मको टाढाको सिन्धुलीमाढी पुगेर जिल्ला प्रशासनको सेवा लिन झन्झटिलो र कष्टकर रहेको थियो ।
दुधौली ४ मा ईलाका प्रशासन कार्यलय स्थापना गर्न अनुमती पाएसंगै अब दुधौली नगरपालिकाका १४ वटै वडा, तिनपाटन गाउँपालिकाका ५,९,१० र ११ का दक्षिण -पश्चिम क्षेत्रका स्थानिय, कमलामाइ नगरपालिकाका १३ र १४ वडा साथै फिक्कलका केही पहाडी क्षेत्रका करिब एक लाख नागरिकले सहज रुपमा सेवा पाउनेछन ।










