बीपी राजमार्गले उठाएको सिन्धुली फेरि थलिँदै

सिन्धुली – मुलकोटका रिसोर्टमा एक वर्ष अघिसम्म शुक्रबार कोठा पाउन मुस्किल पर्थ्यो। दिउँसोतिर काठमाडौँबाट हिँडेका आन्तरिक पर्यटक बीपी राजमार्ग हुँदै साँझ मुलकोट पुग्थे। ‘वान नाइट स्टे’का लागि उनीहरूले सुनकोशी नदी किनारका रिसोर्ट बुक गर्थे।

कोशीका बगरमा मध्यरातसम्म संगीत गुञ्जन्थ्यो। आगन्तुकहरू त्यसमा झुम्मिँदै खानपानको आनन्द लिन्थे। सुनकोशी किनारको यो रमझम करिब एक दशकसम्म सिन्धुलीको पहिचान बनेको थियो। तर अहिले ती रिसोर्ट सुनसान छन्।

जापान सरकारले २० वर्ष लगाएर बनाइदिएको बीपी राजमार्गले एक दशकमा सिन्धुलीको अर्थतन्त्र चलायमान बनायो। छायामै रहेका खुर्कोट र मुलकोट बजार चम्किए। यो राजमार्ग स्थानीय किसानको जीवनस्तर उकास्न सहयोगी बन्यो। तरकारी, फलफूल र दूधजस्ता स्थानीय उत्पादन काठमाडौँसम्म सजिलै पुग्न थाले।

सिन्धुलीको यो मौलाउँदो अर्थतन्त्रलाई प्राकृतिक विपद्ले तहसनहस पारिदिएको छ। गत वर्षको बाढीपहिरोले बीपी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्‍याएपछि सिन्धुली थलिएको हो।

मुलकोटमा राजेश श्रेष्ठले ३० करोड लगानी गरेर २०७८ सालदेखि क्वालिटी बिच रिसोर्ट सञ्चालन गरेका थिए। २०८१ असोज दोस्रो साताको बाढीले रिसोर्टका भौतिक संरचना ध्वस्त भए।

श्रेष्ठले थप लगानी गरेर रिसोर्टको पुनर्निर्माण त गरे, तर व्यवसाय पहिलेको अवस्थामा फर्किन सकेको छैन। “अबको बर्खामा रिसोर्ट नै बन्द गर्नुपर्ने हो कि भन्ने डर छ,” उनी भन्छन्।

बाढीले खुर्कोट र मुलकोट दुवै बजारका कतिपय क्षेत्र जलमग्न भए। नदी किनारका रिसोर्ट बगर बने। आवासीय घर, सडक र पुललगायत भौतिक पूर्वाधारमा क्षति पुग्यो।

कुनै बेलाका गुलजार रिसोर्टमा पाहुना छैनन्। किसानले उत्पादन गरेको तरकारी, फलफूल र दूध खेर गइरहेको छ। सडक किनारमा साना व्यवसाय गरेर गुजारा चलाउनेहरूको व्यापार ठप्पप्रायः छ। 

बीपी राजमार्गको कथा
पूर्वी पहाडी जिल्लाहरू जाने छोटो दूरी भए पनि करिब एक दशक अघिसम्म सिन्धुली भएर सडक खुलेको थिएन। काठमाडौँ जान यहाँका बासिन्दालाई घण्टौँ हिँडेर गाडी समात्नुपर्ने बाध्यता थियो। छिमेकी जिल्ला ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका यात्री उदयपुरको घुर्मी र कटारी हुँदै महेन्द्र राजमार्ग निस्किएर लामो यात्रा तय गर्थे।

काभ्रेको धुलिखेलबाट ८५ किलोमिटर दूरीमा रहेको खुर्कोटबाट काठमाडौँ पुग्न झन्डै दुई दिन लाग्थ्यो। खुर्कोटबाट सिन्धुली सदरमुकाम, बर्दिबास हुँदै महेन्द्र राजमार्गको लगभग ४०० किलोमिटर घुमाउरो यात्रा गर्नुपथ्र्यो। यो सास्ती सिन्धुलीवासीले मात्र नभई पूर्वी पहाडका बासिन्दाले पनि लामै समयसम्म भोगे।

यातायातको सहज पहुँच नहुँदा सिन्धुलीमा उत्पादित कृषिउपजले बजार पाउन सकेका थिएनन्। किसानले फलाएका मौसमी तरकारी र फलफूल बारीमै कुहिएरै जान्थे।

बीपी राजमार्ग सञ्चालनमा आएपछि सिन्धुलीका तरकारी, फलफूल, दूध तथा अन्य नगदेबालीका लागि काठमाडौँको बजारको ढोका खुलेको कृषि प्रवर्धक सौरभ ढकाल बताउँछन्। स्थानीय उत्पादनले बजारसँगै उचित मूल्य पाउन थाले। किसानहरूको आर्थिक अवस्था फेरिँदै गयो।

यो परिवर्तन रातारात आएको थिएन। जापान सरकारले २० वर्ष लगाएर बनाएको बीपी राजमार्ग २०७२ सालमा नेपाललाई हस्तान्तरण गर्‍यो। राजमार्गले ओखलढुंगा, खोटाङ र सोलुखुम्बुजस्ता दुर्गम पहाडी जिल्लालाई मात्र जोडेन, तराई र पूर्वी पहाडका अन्य जिल्लासम्म पुग्ने दूरी पनि घटाइदियो।

यो बाटो भएर यात्रा गर्ने हजारौँ यात्रुले सिन्धुलीका विभिन्न ठाउँमा गाडी रोकेर स्थानीय उत्पादन खरिद गर्न थाले। यसले गर्दा स–साना होटल, खाजा घर तथा पसल खुल्ने क्रम बढ्यो। यात्रुहरूलाई लक्षित गरेर स्थानीय बासिन्दाले आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन थाले।

बीपी राजमार्ग बनेपछि स्थानीय तहहरूलाई भित्री सडक निर्माणका लागि दबाब सिर्जना भयो। त्यसले गर्दा स्थानीयलाई आफ्ना उत्पादन बजारसम्म पुर्‍याउन सहज भएको कृषि प्रवर्धक ढकालको भनाइ छ।

“काठमाडौँलगायतका शहरलाई लक्षित गरेर स्थानीयले तरकारी र फलफूल त फलाएकै थिए, मासुजन्य उत्पादनतर्फ पनि केन्द्रित भइरहेका थिए,” उनी भन्छन्, “बाढीले सडक बगाएपछि स्थानीय उत्पादनलाई बजार पुर्‍याउन सकस भइरहेको छ।”

राजमार्गले जन्माएका शहर
सरकारले २०७१ सालमा मध्यपहाडी राजमार्गमा पर्ने विभिन्न १० ठाउँमा शहर विकास गर्ने योजना ल्यायो। यो योजनामा सिन्धुलीको खुर्कोट पनि सामेल थियो। त्यति बेलासम्म बीपी राजमार्गमा यात्रा गर्नेहरूका लागि खुर्कोट चिया–खाना खाने र आराम गर्ने ‘स्टेसन’ बनिसकेको थियो।

मन्थलीबाट आधा घण्टा दूरीमा रहेको खुर्कोटलाई रामेछापसँग जोड्ने पक्की पुल सोही वर्ष बन्यो। बीपी र मध्यपहाडी राजमार्ग सञ्चालनमा आएपछि ओखलढुंगा, खोटाङ, सोलुखुम्बु जिल्ला जाने यात्रुका लागि मुख्य प्रवेशद्वार खुर्कोट भयो।

सडक सञ्जालको पहुँच विस्तार भएसँगै खुर्कोटको विकासले तीव्र गति लियो। बाहिरी जिल्लाबाट आउने यात्रुलाई लक्षित गरेर होटल, लज तथा रिसोर्ट खुल्न थाले। करिब एक दशकमा एउटा सामान्य गाउँ सुविधा सम्पन्न सानो शहरमा परिणत भयो।

खुर्कोटको छिमेकी शहर मुलकोटको कथा पनि उस्तै छ। काठमाडौँबाट ९० किलोमिटरको दूरीमा रहेको यो ठाउँ विशेषगरी सप्ताहान्तमा र छोटो अवधिको विश्रामका लागि आन्तरिक पर्यटकको रोजाइ बनेको छ। सुनकोशी नदी किनारमा खुलेका रिसोर्ट विभिन्न संघसंस्थाले सभा, सम्मेलन, गोष्ठी गर्ने ठाउँ बनेका छन्।

मुलकोटमा सुविधा सम्पन्न रिसोर्ट खुल्नुको कारण रामेछाप विमानस्थल पनि हो। सगरमाथा क्षेत्र (सोलुखुम्बु) जाने विदेशी तथा स्वदेशी पर्यटकका लागि मुलकोट विश्रामस्थल बनेको छ। पर्यटकहरू काठमाडौँबाट आएर एक रात मुलकोटमा बिताएर भोलिपल्ट बिहानै नजिकैको रामेछाप विमानस्थलतिर लाग्छन्।

सुनकोशीपारि रामेछापमा रहेको विमानस्थल सोलुखुम्बुको लुक्ला पुग्ने ‘हाई अल्टिच्युड रुट’को मुख्य प्रस्थान विन्दु हो। विशेषगरी पर्यटकीय सिजनमा मुलकोटका होटल विदेशी पर्यटकले खचाखच भरिन्थे।

यही सम्भावनालाई देखेर मुलकोटामा ठूलो लगानीका रिसोर्ट खुले। पर्यटकीय पूर्वाधारहरू बने। ३५ भन्दा बढी सानाठूला होटल सञ्चालनमा आए। तर गत वर्ष आएको बाढीले यी संरचनामा ठूलो क्षति पुर्‍यायो।

करिब २० रोपनी क्षेत्रफलमा बनेको पौवा होटल तथा रिसोर्टमा ५० करोड रुपैयाँभन्दा बढीको लगानी थियो। रिसोर्ट सञ्चालनमा आएको धेरै भएको थिएन। बाढीले रिसोर्ट नै बगायो। बाढी आएको आठ महिना बितिसक्दा पनि रिसोर्ट पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन। यद्यपि, पुनर्निर्माण जारी छ।

अहिले काठमाडौँबाट बीपी राजमार्ग हुँदै सिन्धुली पुग्न विभिन्न ठाउँमा कच्ची र जोखिमपूर्ण सडक पार गर्नुपर्छ। विशेषगरी, काभ्रेभञ्ज्याङ–नेपालथोक खण्डको करिब १२ किलोमिटर सडक बाढीले क्षति पुर्‍याएको छ।

कतिपय ठाउँमा सडक नै बाढीले बगाएको छ भने, कतै भास्सिएर चिरा परेको छ। यो सडक पक्की हुनसकेको छैन। कतिपय ठाउँमा बगरमा अस्थायी रूपमा सडक सञ्चालन गरिएको छ।

सिन्धुली जान वैकल्पिक मार्ग भए पनि लामा र कष्टप्रद यात्रा गर्नुपर्ने खालका छन्। यसको प्रत्यक्ष असर अहिले सिन्धुलीका मुलकोट र खुर्कोटमा परेको छ। दुवै बजारमा चहलपहल घटेको व्यवसायी बताउँछन्।

त्रासमा व्यवसायी
बीपी राजमार्गमा क्षति नपुग्दासम्म मुलकोटको क्वालिटी बिच रिसोर्टमा दैनिक २५ देखि ३० वटा कोठा बुकिङ हुन्थे। तर अहिले त्यो संख्या आधाभन्दा पनि कममा झरेको सञ्चालक राजेश श्रेष्ठ बताउँछन्।

सय वटा कोठा भएको उक्त रिसोर्ट पहिले सप्ताहान्तमा पूरै भरिन्थ्यो। श्रेष्ठ भन्छन्, “बाटो अप्ठ्यारो भएपछि मानिसहरू सास्ती खेपेर रमाइलो गर्न नआउने रहेछन्।”

मुलकोटमै ताज रिसोर्ट सञ्चालन गरिरहेका मनोज श्रेष्ठका अनुसार पहिले काठमाडौँबाट सहजै आउन सकिने मुलकोटका रिसोर्ट शुक्रबार र शनिबार भरिभराउ हुन्थे। “अहिले मौसममा सामान्य गडबडी आउनेबित्तिकै धमाधम बुकिङ रद्द हुन थाल्छन्,” उनी भन्छन्, “बाटो पूर्णरूपमा नबनी यहाँको व्यवसाय उकासिने सम्भावना छैन।”

मुलकोटको होटल तथा रिसोर्टमा व्यवसाय घटेसँगै त्यसको असर स्थानीय उत्पादनमा पनि परेको छ। सिन्धुलीका माधव कार्कीले तिनै रिसोर्टमा आफूले उत्पादन गरेका मौसमी तरकारी र फलफूल पुर्‍याउँथे। अहिले रिसोर्टमा स्थानीय उत्पादनको खपत नै घटेको छ।

सडक छेउमा अकबरे खुर्सानी, काँक्रो, स्थानीय फलफूल आदि बेचेर गुजारा गर्ने साना व्यापारीको व्यापार पनि पहिलेजस्तो छैन। कार्की भन्छन्, “बाटो बिग्रिएपछि पहिलेजस्तो गाडी गुड्दैनन्, मान्छेको आवतजावत नभएकाले धेरैजसो सामान खेर जान्छन्।”

सिन्धुलीका कुमार श्रेष्ठ हरेक दिन स्थानीय किसानबाट दूध संकलन गरेर काठमाडौँ पुर्‍याउने गर्छन्। दैनिक करिब ३० हजार लिटर दूध संकलन गर्ने उनले राजगमार्गको दुरवस्थाका कारण कयौँ पटक काठमाडौँ दूध पुर्‍याउन सकेका छैनन्। “अलिकति पानी पर्न थालेपछि बाटो बन्द भइहाल्छ, त्यो बेला धेरै दूध खेर जान्छ,” श्रेष्ठ भन्छन्।

सिन्धुलीबाट हरेक दिन तरकारी संकलन गरेर काठमाडौँलगायत बजार पुर्‍याउने व्यवसायीको समस्या पनि उस्तै छ। बाटो बन्द हुँदा एक दिनमै ३० हजार रुपैयाँ हाराहारीको तरकारी बिग्रने कार्की बताउँछन्।

एउटा गाडीमा कम्तीमा ५ देखि ७ लाख रुपैयाँसम्मको तरकारी संकलन हुन्छ। बाटो बन्द हुँदा ती सबै खेर जाने कार्कीको भनाइ छ। “पानी पर्न लाग्यो कि अब बाटो के हुन्छ भन्ने त्रास हुन्छ, सामान खेर जाने चिन्ता बढ्छ,” कार्की भन्छन्।

• सागर बुढाथोकी

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बुधबार ०९:३३

प्रतिक्रिया दिनुहोस्