नगरप्रमुख पोखरेलको लक्ष: ‘उज्यालो कमलामाइ’

सिन्धुली  कमलामाइ नगरपालिकाको ‘उज्यालो कमलामाइ’ अभियानलाई नागरिकहरूले सकारात्मकरूपमा लिएका छन् । बजार तथा नगरपालिकाका मुख्य चोकमा जडान भएका ‘हाइमास्क लाइट’ ले कमलामाइको शान्ति-सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । 

रातको समयमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि नगरपालिकाको उज्यालो कमलामाइ अभियान शान्ति–सुरक्षाका दृष्टिले निकै उपयोगी भएको स्थानीयको भनाइ छ ।

‘हिजो र आजको स्थिति हेर्दा हामीले परिवर्तनको महसुस गरेका छौँ । आज नगरपालिकाका मुख्य चौकहरुमा रातको समयमा उज्यालो हुन थालेको छ’ स्थानिय कृष्ण मोक्तानले भने, ‘जोखिम भएका क्षेत्रमा उज्यालो बनाउने नगरपालिकाको अभियानलाई स्थानीयले स्वागत गर्नुपर्छ ।’

अभियान अन्तर्गत नगरपालिकाको मुख्य ६ स्थानमा हाइमास्क लाइट जडान कार्य सम्पन्न हुन लागेको हो । कमलामाइ नगरपालिकाका मुख्य ४ स्थानमा लाइट जडानको काम सम्पन्न भइसकेको छ भने अन्य २ स्थानमा जडानको काम भइरहेको नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले बताउनुभयो ।

विशेषगरी सिन्धुली माढीबजारको मुख्य केन्द्र लोकतान्त्रिक चौकको बसपार्क क्षेत्र, भिमान बजारको मुख्य चौक लगयत क्षेत्र पहिलेको तुलनामा फेरिएको छ । बजार तथा राजमार्गका मुख्य चोक अहिले उज्यालो हुँदै गएका छन।

‘स्थानीय नागरिकको चाहना अनुसार उज्यालो कमलामाइको अभियानलाई सार्थक बनाउने काममा लागेका छौँ’, नगरप्रमुख पोखरेलले भन्नुभयो, ‘विकासका काममा आवश्यकताका आधारमा काम गर्ने हाम्रो उद्देश्य हो । त्यो आवश्यकता मध्ये सार्वजनिक स्थानमा उज्यालो बनाउने कार्यलाई प्राथमिकता दिएका छौँ ।’

कमलामाइ नगरपालिकाको मुख्य ६ चौकहरु मध्ये  कमलामाइ नगरपालिकाको १३ नम्बर वडाको माथिल्लो रानिबास चौक, भिमान बजार चौक, बुद्धनगर चौक, लोकतान्त्रिक चौक अन्तरगत पर्ने बसपार्क क्षेत्रमा लाइट जडानको कार्य सम्पन्न भैसकेको छ भने बिपि राजमार्ग र मदनभण्डारि राजमार्गको संगम चौकको रुपमा रहेको शान्तिनगर चौक र ढुंग्रेबास चौकमा लाइट जडानको काम भइरहेको नगरप्रमुख पोखरेलले बताउनुभयो ।

नगरप्रमुख पोखरेलले हाइमास्क लाइट जडान नभएका मुख्य चौक र सडक किनारामा सोलारबत्ती जडानको काम पनि भैरहेको बताउनु भयो । ‘अस्पताल क्षेत्र, मुख्य बजार क्षेत्र र खम्बेचौर आसपासमा समेत सोलारबत्ती जडान कार्य सम्पन्न भैसकेको उहाँले बताउनुभयो ।

खम्बेचौरलाई व्यवस्थित गरी खेलकुद मैदानका रूपमा बिकसित गर्ने काम भइरहेकाले पनि त्यहाँ उज्यालो आवश्यक छ’, नगरप्रमुख पोखरेलले भन्नुभयो, ‘खुला स्थानलाई व्यवस्थित बनाएर आपराधिक क्रियाकलापमा लागेका  युवाहरूलाई  सुधार  गर्न सकिने स्थिति रहन्छ ।’

नगरपालिकाले उज्यालोसँगै सार्वजनिक स्थानमा सिसी क्यामेरा जडान पनि गरिरहेको छ । शान्ति सुरक्षाको जोखिम भएका क्षेत्रमा सिसी क्यामेरा जडान गरेर आपराधिक क्रियाकलापलाई रोक्न सकिने विश्वास नगरपालिकाले लिएको छ । 

प्रकाशित मिति : १५ असार २०८२, आईतवार १७:०८

प्रतिक्रिया दिनुहोस्