सिन्धुली – मित्र राष्ट्र भारतको ७७ औँ गणतन्त्र दिवसको अवसरमा सिन्धुलीमा ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई ब्लाङ्केट वितरण गरिएको छ ।
नेपाल–भारत मैत्री सङ्घ केन्द्रीय कार्यालयको समन्वय तथा नेपाल–भारत मैत्री सङ्घ जिल्ला शाखा सिन्धुलीको आयोजनामा कमलामाई नगरपालिका–६ स्थित सङ्घको कार्यालयमा ब्लाङ्केट बितरण गरिएको हो ।
कार्यक्रममा नेपाल–भारत मैत्री सङ्घ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष प्रकाश कुमार बर्माको अध्यक्षता रहेको थियो भने नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठ, सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
मित्र राष्ट्र भारतको ७७ औँ गणतन्त्र दिवसको अवसरमा केन्द्रीय कार्यालयबाट प्राप्त ब्ल्याङ्केटहरू शारीरिक रूपमा असक्त, न्यून आय भएका, बेसहारा तथा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर वितरण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमका अवसरमा नेपाल रेडक्रस सोसाइटी, सिन्धुली उद्योग वाणिज्य सङ्घ र नेपाल–भारत मैत्री सङ्घबीच विपद् व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल समेत गरिएको छ ।
कार्यक्रमले समाजसेवा र मानवीय सहयोगको भावनालाई प्रवद्र्धन गर्दै नेपाल–भारत बीचको मित्रता र सद्भावलाई अझ मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ ।









