सिन्धुली – नेपाली कांग्रेसको युवाहरूको संगठित संस्था नेपाल तरुण दल सिन्धुलीले पालिका अधिवेशन सुरु गरेको छ । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पुर्खौली जन्मथलो कुशेश्वर दुम्जा स्थित सुनकोशी गाउँपालिकाबाट तरुण दल सिन्धुलीले अधिवेशन शुरु गरेको हो ।

शुक्रबार सम्पन्न तरुण दल सुनकोशी गाउँपालिकाको पाचौं अधिवेशनले छेडुप मोक्तानको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिका उपाध्यक्षहरूमा अम्मर बहादुर श्रेष्ठ र मन्दिरा श्रेष्ठ, सचिवमा पुरुसोत्तम थापा, सह सचिवमा बद्रीराज थापा, कोषाध्यक्षमा शेखर सारु पदाधिकारी लगायत ८ जना कार्यसमिती सदस्य चयन भएका छन् ।

पाचौं पालिका अधिवेशनको उद्घाटन प्रमुख अतिथिको आसनबाट नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले लामो समयसम्म महाधिवेशन नहुँदा तरुण दलसहित कांग्रेसका भ्रातृ संगठनमा नेतृत्व जाम भइरहेको भन्दै अब सबै संगठनको अधिवेशन गर्न पार्टी तयार रहनुपर्ने टिप्पणी गर्नुभयो ।

सम्बोधनको क्रममा पार्टी सभापती पोखरेलले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने उल्लेख गर्नुभयो । उहाँले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने र यसबाट नै विद्यमान विसङ्गतिहरुको अन्त्य हुने बताउनुभएको हो ।

“लोकतन्त्रको एउटा सबल पक्ष समानता हो । समान हक, समान अवसर र समान न्याय, सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त, समुन्नत र समतामूलक राष्ट्रमा परिणत हुने उहाँले बताउनुभयो ।

अधिवेशनमा कांग्रेस सिन्धुलीका उपसभापति दिपक घिमिरे, सचिव ईश्वर कुमार बस्नेत, कांग्रेस नेता नरेन्द्रजंग थापा लगायत कांग्रेस नेतासँगै भ्रातृ र शुभेच्छुक संगठनका अध्यक्ष र प्रतिनिधिहरूले सम्बोधन गरेका थिए ।











