सिन्धुली – यहि कार्तिक २४ गते आयोजना हुन लागिरहेको २५८ औं ऐतिहासिक सिन्धुलीगढी बिजयउत्सवको सम्पुर्ण तयारी पूरा भएको छ । वीर गोर्खाली फौज र स्थानीय मिलेर अंग्रेज फौजलाई पराजित गरेको दिनको सम्झनामा हरेक बर्ष कात्तिक २४ गते सिन्धुलीगढी विजयोत्सव मनाउने गरिएको छ ।
आयोजक कमलामाइ नगरपालिकाले बिहिबार पत्रकार सम्मेलन मार्फत यस बर्षको सिन्धुलीगढी बिजयउत्सवलाई राष्ट्र र राष्ट्रियता कमजोर नभएको सन्देश फैलाउने गरि मनाउने तयारी भएको नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले बताउनुभयो । अहिलेको विषम परिस्थितीमा राष्ट्रियता र लोकतन्त्र कमजोर नभएको सन्देश दिने गरि २५८ औं बिजयोउत्सव मनाउने तयारी भएको पोखरेलले बताउनुभएको हो ।
कप्तान किनलोकको नेतृत्वमा आएको फौजलाई सिन्धुलीगढी क्षेत्रमा गोर्खाफौजले पराजित गरेको सम्झनामा विजय उत्सव मनाउने गरिएको संस्थापक आयोजक तथा प्रबर्तक संस्था नेपाल पत्रकार महासंघ शाखा सिन्धुलीका सभापती बाबुराम देबकोटाले बताउनुभयो ।
ठुलोगढी परिसरमा रहेको पौवागढीमा नेपालको झन्डा झन्डोतोलन गरेर बिजयउत्सव सुरुवात गरिने आयोजक संस्थाले जनाएको छ । बिजयोउत्सव नेपाल सरकार बागमती प्रदेशका मुख्यमन्त्री माननीय ईन्द्रबहादुर बानियाको प्रमुख आतिथ्यतामा आयोजना हुने नगरप्रमुख पोखरेलले बताउनुभयो ।
विसं १८२४ कात्तिक २४ गते नेपाली फौजको नेतृत्वमा श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङ आदिले अंग्रेज फौजलाई सिन्धुलीगढी क्षेत्रबाट हराएर पठाएको इतिहासमा उल्लेख भएको अन्वेषक सागर कुमार ढकालले बताउनुभयो ।
तत्कालीन काठमाडौंका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न आएको अंग्रेज फौजलाइ गोर्खा फौजले हराएर पठाएको स्मरण गर्दै विजय उत्सवले नेपालीको वीरतालाई अझ दरिलो बनाउने उहाँको भनाइ छ ।









