ख्याल ख्यालमै सिन्धुली अहिले कोरोनाको इपिसेन्टर बनिसकेको छ । सुरुका दिनमा सिन्धुलीमा विदेशबाट फर्किएका मानिसमा मात्र कोरोना देखिएको थियो । जो सिन्धुली आइपुग्ने वित्तिकै क्वारेनटाइनमा थिए र संक्रमलाइ जितेपछि मात्र घर फर्किए ।
तर पछिल्लो समय सिन्धुलीमा समुदायमा यत्रतत्र घुमिरहेका मानिसमा कोरोना पुष्टि हुनुले सिन्धुलीमा कोरोना समुदाय स्तरमा पुगेको हो कि भन्ने डर भएको छ । धेरै परीक्षण हुन सकेको छैन । जति परीक्षण भएको छ। त्यसमा ३५ प्रतिशतसम्म कोरोना पोजेटिभ देखिनु चिन्ताको विषय हो ।
म हरेक महिना काठमाडौँबाट कम्तीमा एकपटक सिन्धुली पुगेकै हुन्थेँ । काठमाडौँ कडा लकडाउन हुँदा पनि मलाइ सिन्धुली जान छेकिएन । खाली सडकमा मोटरसाइकल हुइँकाएर धेरै पटक घर पुगियो । तर काठमाडौँमा व्यापक सङ्क्रमण फैलिन थालेपछि असारदेखि म अहिलेसम्म एक पटक पनि घर पुगेको छैन । कतै आफूले कोरोना घर परिवार र समाजमा रोग सारिने हो कि भन्ने डर छ ।
तर, सिन्धुलीमा त्यसको कुनै प्रवाह देखिएन । नेता र सांसदलाई रेड जोनबाट सिन्धुलीको गाउँ–गाउँ ओहोरदोहोर गर्न कुनै लकडाउन र मापदण्डले छेकिएन । सार्वजनिक यातायात खुलेपछि गाउँ पुगेका नागरिक इमान्दारीका साथ सेल्फ क्वारेनटाइनमा बसे तर जनप्रतिनिधि र राजनीतिक दलका नेता कार्यकर्तालाई गाउँ–गाउँमा सभा र भेला गर्दै डुलिरहे । सिन्धुलीमा कसरी फैलिरहेको छ कोरोना – यस ब्लगमा यिनै कुराको चर्चा गरेको छु ।
देशमा दैनिक ५ हजारभन्दा धेरै कोरोना सङ्क्रमित पहिचान भैरहँदा सिन्धुलीमा भने गाउँ–गाउँ नेकपाको पार्टी प्रवेश र युवासँगको एकता भेला चलिरहेको थियो । पार्टी प्रवेश र एकता भेलामा नेकपाको माननीयदेखि स्थानीय नेता– जो लगातार काठमाडौँमा सिन्धुली ओहोरदोहोर गरिरहेका व्यक्ति सहभागी थिएँ । असोज १९ गते तिनापाटनमा युवा संघको एकता भेलामा १ हजार हाराहारी मानिसको भेला भएको थियो । उक्त कार्यक्रममा काठमाडौँ देखि पुगेका माननीय र सिन्धुलीका प्राय नेकपाको नेताको सहभागिता थियो ।
सरकारले २५ जनाभन्दा धेरै भेला नहुन मापदण्ड जारी गरेको छ । तर माननीय र जनप्रतिनिधिहरु नै कोरोनालेले महामारीको रूप लिएको बेलामा हजारौँ व्यक्ति भेला गरेर कोरोना मापदण्डको खिल्ली उडाएर भेला सम्मेलनमा हिँडिरहेका थिए ।
उक्त भेलामा अतिथिको रूपमा सहभागी माननीय गणेश पहाडीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यसले सिन्धुलीमा तरङ्ग ल्यायो । एकता भेला र पार्टी प्रवेशमा सामाजिक दूरी त परको कुरा । हात मिलाएर खुसी साटासाट गरिएको थियो । धेरैको मुखमा मास्क देखिएको थिएन ।
सिन्धुली जनस्वास्थ्य कार्यालयले जनाए अनुसार पहाडीको सम्पर्कमा रहेका २२ जनालाई कोरोना पुष्टि भइसकेको छ र त्यो क्रम बढ्दो छ । माननीय पहाडीलाई सङ्क्रमण भएपछि उहाँको सम्पर्कमा रहेकालाई कोरोना पुष्टि हुनु माननीयले अरूलाई कोरोना सारेको भन्न मिल्दैन । उक्त कार्यक्रममा सहभागी हुँदाकै अवस्थामा भेलामा सहभागी अरू व्यक्तिबाट गणेश पहाडी सङ्क्रमित भएको पनि हुनसक्छ । तर यस्तो महामारीको बेलामा जसरी गाउँ–गाउँ राजनीतिक भेला, पार्टी प्रवेश र भेटघाट गर्दै हिँडियो । त्यो गलत थियो ।
उता मारिण गाउँपालिकामा पनि युवा संघको एकता भेलामा सिन्धुलीबाट सहभागी हुन पुगेका एक व्यक्ति उक्त सम्मेलनबाट फर्किनेवित्तिकै कोरोना पुष्टि भएको छ । र, त्यसपछि मारिण गाउँपालिकामा एकता भेलामा सहभागी भएका लगायत ८ जनामा सङ्क्रमण देखियो । त्यसैले अहिले सिन्धुलीमा बेमौसमी राजनीतिक भेला र सम्मेलन अहिले कोरोना फैलाउने मुख्य स्रोत भयो । राजनीतिक दल अलिकति पनि गम्भीर बनेनन् ।
नगरपालिका बन्द गरेर मेयरको शुभकामना आदानप्रदान
सिन्धुलीमा कोरोनाले थप महामारीको रूप लिएपछि फेरि असोज २४ गतेदेखि कमलामाई नगरपालिका र मातहतका कार्यालय बन्द गरिएको छ । तर कार्यालय बन्द गरेर कमलामाई नगरपालिकाको मेयरसाप गाउँ–गाउँमा मानिस भेला गरेर विजयादशमीको शुभकामना कार्यक्रममा सहभागी हुन पुग्नुभएको छ ।
भेला सम्मेलन, चाडपर्वमा हुने भिड नियन्त्रण गर्नुपर्ने बेलामा मेयर आफै कार्यालय बन्द गरेर गाउँगाउँ भेला सम्मेलन गर्दै हिँड्नु गैरजिम्मेवारको हद नाघेको छ । यसले नगरपालिका कोरोना नियन्त्रणमा गम्भीर भएको देखिँदैन । र फेरी तिनै शुभकामना आनाद्नाप्रदानले कोरोना फैलाइरहेको हुन् पनि सक्छ । जुन कार्यक्रम अहिले गर्न स्वास्थ्य मन्त्रालयले अनुमति दिएको पनि छैन । अहिले नागरिकले गरिरहेका यस्ता कार्यक्रम रोक्नुपर्ने बेलामा जनप्रतिनिधिकै सहभागिता छ ।
उता महामारीको बीच एक महिना अगाडि हरिहरपुर गढी गाउँपालिकाले जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । यस्ता खेलकुद प्रतियोगिता गर्न नेपाल सरकारले अहिले अनुमति दिएको छैन । त्यसैले सिन्धुलीका स्थानीय तह आफै बेलाबेला निषेधाज्ञा लाउँदै कोरोना नियन्त्रण मापदण्डको आफै खिल्ली उडाइरहेका छन् । जुन कोरोना फैलाउने स्रोत बनिरेको छ ।
सिन्धुलीमा कोरोना सङ्क्रमितलाई राख्न र उपचार गर्न भनेर सरकार र नागरिकको सहयोगमा ५० बेडको आइसोलेसन बन्दैछ । तर निर्माणको अन्तिम चरणमा रहेको उक्त आइसोलेसन भवन पर्यटकीय स्थलको रूपमा रह्यो । सिन्धुलीमा स्थानीय तहले निषेधाज्ञा गरेर व्यवसाय ठप्प पार्दा आइसोलेसन सेन्टरमा श्रमदानको नाममा फोटो खिच्नेको खपिनसक्नु भीड भयो । अहिले पनि सिन्धुली पुगेका अधिकांश नेता, सांसद र नागरिक एकपटक निर्माणाधीन आइसोलेसन सेन्टरमा पुग्नुपर्ने नियम नै जस्तो देखिन्छ ।
पछिल्लोपटक सङ्क्रमित भएका केही व्यक्ति पनि आइसोलेसन सेन्टरको अनुगमनमा पुगेका थिए । अर्कोतिर आइसोलेसन सेन्टरलाई ५ हजार सहयोग गर्न पनि ठूलो हुल बाँधिएर निर्माण स्थलमा पुग्ने गरेको छन् । कुनै पनि सार्वजनिक निर्माण क्षेत्रमा जो कोही त्यसरी सजिलोसँग प्रवेश पाउँदैन । तर त्यहाँ त्यो लागू छैन । सिन्धुली पुगेका नेतादेखि नागरिकसम्म आइसोलेसन सेन्टर अनुगमन गरियो भनेर सामाजिक सञ्जालमा तस्बिर हालिरहेका छन् । त्यसैले बढ्दो भिडभाडले आइसोलेसन सेन्टरबाट नै सङ्क्रमणको त्रास फैलाएको छ वा फैलिरहेको छ ।
जनतालाई कारबाही, नेताको रजाइँ ?
सिन्धुली जिल्ला प्रशासनले निकालेको सूचना अनुसार कोरोना नियन्त्रणमा नेपाल सरकारले तोकेको मापदण्ड पूरा नगर्नेलाई सङ्क्रमण रोग एेन २०२० अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । बजारमा मास्क नलगाई हिँड्ने नागरिकलाई १०० रुपौया जरिवाना तिराइएको छ । तर राजनीतिक दल सयौँ व्यक्ति भेला गरेर गाउँगाउँमा राजनीतिक कार्यक्रम गर्दै हिँडेका छन् । कोरोना नियन्त्रण मापदण्डको खिल्ली उडाइएको छ । न मुखमा मास्क छ, न सामाजिक दुरी ।
रेड जोनबाट गएका नेता कार्यकर्ता निर्वाध रूपमा भेला सभामा सहभागी भएका छन् । सिन्धुलीमा प्रशासनले राजनीतिक दलको कार्यक्रम नियन्त्रण गर्न नसक्दा कोरोना आगो जसरी फैलिरहेको छ । सिन्धुलीमा गाउँबाट दसैं मनाउनको लागि खर्च जुटाउन गाउँबाट खसी बिक्री गर्न बजारमा ल्याउने किसानलाइ प्रहरीले लखटेको छ भने राजतीनिक दल हजारौं व्यक्ति भेला गर्दै राजनीतिक कार्यकम गर्दै हिड्दा प्रशासन लाचार छ । सिन्धुलीमा जनतालाई कारबाही र नेता र कार्यकर्तालाई रजाइँ छ ।
स्वास्थ्य मन्त्रालय र नेपाल सरकारको प्रवक्ताले जनताले लापरबाही र गैरजिम्मेवारले कोरोना थप फैलिएको बताएका छन् । तर सिन्धुलीमा गाउँ गाउँमा कोरोना पुर्याउने नेता र कार्यकर्ता अनि दोष आम नागरिकलाई ?
अबको बाटो
सिन्धुलीमा कोरोना नियन्त्रण गर्न अब राजनीतिक दलका अहिले भइरहेको कार्यक्रम, स्थानीय तहका बेमौसमी खेलकुद प्रतियोगिता एकदम कडाइका साथ रोक्न जरुरी छ । त्यसमा सबै राजनीतिक दल जिम्मेवार भइदिनु पर्छ ।
सार्वजनिक यातायात पनि खुलिसकेको अवस्थामा अब जिल्ला प्रवेश निषेध गर्न मिल्दैन र सम्भव छैन । त्यो गरिए पनि जनतालाई मात्र हुन्छ र नेताको सधैँ रजाइँ । तर बाहिर जिल्लाबाट चाडपर्व मनाउन सिन्धुली आफ्नो घर पुग्ने वा कामको सिलसिलामा पुगेकालाई स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार न्यूनतम ७ देखि १४ दिन सेल्फ क्वारेटाईनमा बस्न लगाउनुपर्छ । त्यसको लागि स्थानीय तहले टोल टोलमा समिति गठन गरेर त्यसको अनुगमन र नियन्त्रण सजिलोसँग गर्न सकिन्छ । यसको लागि अब ढिला गर्नु हुँदैन ।