सिन्धुली — नेपाली क्रिकेटप्रतिको उत्साह, माया र समर्थनलाई सामूहिक उत्सवका रूपमा मनाउने उद्देश्यले कमलामाई नगरपालिकाले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल आज (शनिबार) प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
कमलामाई नगरपालिकाको स्मार्ट बोर्डमा साँझ ५ बजेदेखि हुने फाइनल खेलको प्रत्यक्ष प्रसारणमार्फत नगरवासी, क्रिकेटप्रेमी तथा युवाहरूलाई एकै ठाउँमा भेला भएर खेलको रोमाञ्चकता सँगै अनुभव गर्ने अवसर प्रदान गर्न लागिएको हो ।
एनपीएलको तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्स उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिँदा सुदूरपश्चिम रोयल्स पहिलोपटक उपाधि जित्ने योजनामा हुनेछ ।
गत संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो । त्यसैले यसपटकको फाइनललाई उपाधि रक्षा र पुरानो हारको बदला लिने प्रतिस्पर्धाका रूपमा समेत हेरिएको छ ।
नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सार्वजनिक गरेको निमन्त्रणामार्फत सम्पूर्ण नगरवासी, क्रिकेटप्रेमी तथा युवाहरूलाई कमलामाई नगरपालिकाको स्मार्ट बोर्डमा उपस्थित भई फाइनल खेलको प्रत्यक्ष प्रसारण हेर्न आग्रह गरिएको छ ।
नेपाली क्रिकेटलाई समर्थन गर्ने, खेलकुदप्रतिको आकर्षण बढाउने र खेलको माध्यमबाट सामूहिक खुसी तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
नेपाली क्रिकेटको महत्वपूर्ण क्षणलाई एकै ठाउँमा बसेर उत्साहपूर्वक मनाउन नगरप्रमुख पोखरेलले सबैलाई हार्दिक निमन्त्रणा गरेका छन् ।









