चिनियाँ बजारमा कहिले पुग्ला सिन्धुलिको जुनार ?

चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमण क्रममा भएको सम्झौतापछि नेपाली ‘सिट्रस फ्रुट’ (जुनार, सुन्तला, कागती लगायत) निर्यात सहज हुने बताइएको थियो। उक्त भ्रमण बेला सिट्रस फ्रुट निर्यातसम्बन्धी मस्यौदा प्रस्तावमा नेपालको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र चीनको कृषि विभागबीच सम्झौता भएको थियो। 

invotech

सम्झौता भएको एक वर्ष भइसक्यो। यति बेलासम्म नेपाली सुन्तलाको उत्पादन करिब सकिने बेला भइसकेको छ। अब जुनार मात्र बाँकी छ। यस्तोमा निर्यातबारे सुनेका किसान तथा व्यवसायीहरू भने अन्यौलमा परे।

प्रक्रिया अघि नबढेपछि आफ्ना उत्पादन चीनसम्म पुग्ला भन्ने आश बोकेका किसान तथा व्यवसायीले अर्को रणनीति अपनाउन थालिसकेका छन्- सदाझैं नेपाली बजारमै खपत गराउने। किसानहरू यसमा सक्रिय हुन थालिसके।

उता सरकारले भने यही वर्ष निर्यातको औपचारिक सुरूआत गर्ने प्रतिबद्धता जनाएको छ। सुन्तलाको मौसम त सकिइसक्यो। जुनारको बाँकी भएकाले परीक्षणका रूपमा भए पनि निर्यात गर्ने मन्त्रालयले जानकारी दिएको छ। 

निर्यातका लागि आवश्यक प्राविधिक आधार निर्माण गर्न प्राविधिकहरू लागिपरेको र सम्भवतः यही वर्षदेखि नेपाली जुनारले चिनियाँ बजारमा प्रवेश पाउने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्र कार्कीले जानकारी दिए। 

‘निर्यातका लागि चीन तथा नेपालका प्राविधिकले स्थलगत रूपमै अध्ययन गरिसकेका छन्,’ कार्कीले भने, ‘र चीनले नेपाली उत्पादनलाई सहज पहुँच दिने प्रतिबद्धता जनाइसकेको छ।’

हामीकहाँ उत्पादित जुनारलाई आफ्नो बजारमा पहुँच दिन चीन तयार भए पनि नेपाल आफ्नै भौतिक पूर्वाधारमा कमजोर भएकाले गम्भीर प्राविधिक समस्या देखिने सम्भावना भने बढेको छ। 

निर्यातका लागि सबभन्दा ठूलो समस्या भण्डारणको देखिएको छ। फार्मबाट जुनार ल्याएर कम्तिमा २१ दिनसम्म निश्चित तापक्रममा भण्डारण गर्नुपर्ने छ।

हामीकहाँ निजी क्षेत्रबाट सञ्चालित यस्ता भण्डारण गृहहरू प्रायः मासु तथा मासुजन्य उत्पादनका लागि छन्। फलफूलका लागि भनेर बेग्लै भण्डारण पर्याप्त नहुँदा नेपालबाट ठूलो मात्रामा जुनार निर्यात गर्न अप्ठ्यारो हुने देखिएको हो।

अहिले यसैका लागि ठाउँ खोजी भइरहेको मन्त्रालयको भनाइ छ। मन्त्रालयका उपसचिव माधव भट्टका अनुसार बल्ल एउटा भण्डारण गृह भेटिएको छ। त्यहीँबाट परीक्षण निर्यात सुरू गरिनेछ।

मन्त्रालयले छानेको भण्डारण गृह ललितपुर, युएन पार्क नजिकै छ। दस टन क्षमताको उक्त भण्डारणमा जुनार राखेर अहिले परीक्षण निर्यात गरिने र त्यसकै नतिजाअनुसार अघि बढ्ने उनले बताए।

‘यो हाम्रो परीक्षण हो। यहीँबाट सुरू गर्छौं। त्यसपछि यो वर्षको बाँकी उत्पादन कति हुन्छ, त्यसलाई निर्यात गर्छौं। अर्को वर्षदेखि भने सुरूदेखि नै निर्यात हुन्छ,’ भट्टले सेतोपाटीसँग भने। 

सबभन्दा पहिलो लटमा सिन्धुलीको जुनार चीन निर्यात हुने सरकारले बताएको छ। अन्तका पनि जुनार बाँकी रहे भने ती पनि पठाइने भट्टले जानकारी दिए। चिनियाँ प्राविधिकले पहिले नै सिन्धुली गएर त्यहाँको जुनार अवलोकन गरेका थिए।

यो निर्यात सफल भए अर्को वर्षको उत्पादन आउने बेलासम्म पूर्वाधार निर्माण हुने र त्यसपछि सुन्तला तथा जुनार नियमित चीन पठाइनेमा भट्ट विश्वस्त छन्।

जुनार तथा सुन्तलाजस्ता सिट्रस फलफूल चीन निर्यात भए नेपाली उत्पादनमा त्यसको सकारात्मक प्रभाव पर्ने सरकारको विश्वास छ। अन्तर्राष्ट्रिय बजारको पहुँच पाएपछि हामीकहाँ जुनार तथा सुन्तला खेती फस्टाउने अनुमान पनि सरकारले गरेको छ।

चीन र नेपालबीच सम्झौता हुनुअघि चिनियाँ क्वारेन्टाइन नीतिका कारण नेपालमा उत्पादित यी जातका फलफूल निर्यात हुन सकेका थिएनन्। कीरा नभएका क्षेत्रको मात्र फलफूल निर्यात गर्ने चिनियाँ नीतिमै आधारित रहेर यो सम्झौता भएको हो।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार १०:१४

प्रतिक्रिया दिनुहोस्