दुई बजिसक्यो, तर प्रवोधलाई निद्रा लागेन। छेवैमा पत्नी विणा आनन्दको निद्रामा छिन्। प्रवोधले सोचे, सायद मेरो बा र आमाको सम्बन्ध हाम्रोजस्तै सुमधुर भएको भए आमा पनि बाको छेवैमा यसैगरी आनन्दले सुत्नुहुन्थ्यो होला!
प्रवोधले उठेर बत्ती बाल्यो। मुख सुकिरहेको थियो। एक गिलास पानी खायो।
प्रवोधको कोठामा एउटा ठूलो काठको दराज छ। दराजमाथि सबैभन्दा तल पुरानो रातो बाकस छ। बाकसमा एउटा कालो रङ्गको ताल्चा झुण्डिएको छ। बाकसमाथि दुइटा आधुनिक ब्रिफकेस छन्।
टिनको बाकसको बाहिर सेतो इनामेलले एउटा शब्द लेखिएको छ ‘चन्द्रकान्ता’।
प्रवोधले उठेर बाकस तल झार्यो। बाकसमा ताल्चाको प्रहारबाट उठेको आवाजले विणा निद्राबाट ब्युँझिइन्।
विणा – के गर्न लाग्नु भएको यो आधा रातमा ?
प्रवोध – निद्रा लागेन विणा ! आमाको याद आयो।
विणा – बिहान अफिस जानु पर्दैन ? यसरी अनिँदो बसेपछि अफिसमा कसरी काम गर्ने ? मलाई त स्वास्थ्य नै धन हो भनेर उपदेश दिनुहुन्छ। जो पूरा निद्रा सुत्छ र यथा समयमा सन्तुलित खाना खान्छ त्यही निरोगी हुन्छ भन्नुहुन्थ्यो त!
प्रवोध – अब म अफिस जानु पर्दैन। मैले जागिरबाट राजीनामा दिएँ। पच्चीस वर्षे जागिरे जीवन कसरी बित्यो पत्तै भएन वीणा मलाई। आजै आमाको श्राद्ध गरेको, आजै पहिलो निद्रामै सपनामा देखिनुभयो।
आमाले भन्नुभयो , ‘अब तिमीलाई फुर्सद भयो। तिम्रो पिता धेरै बूढा भइसके। तिम्रो परिचय तिनै बाबु हुन्। तानसेनमा उनको रेखदेख गर्ने कोही छैन। सबैले आफ्नो प्रारव्ध भोग्नुपर्छ , उनी पनि भोग्दै छन्। आफ्नो पिताको ख्याल गर्नू।’
यी हुन् प्रवोध श्रेष्ठ। सरकारी बैंकमा पच्चीस वर्ष सेवा गरेर आजै अवकाश लिए। यिनको जन्म तानसेनमा भयो। तर कहिल्यै तानसेनमा बसेनन्।
प्रवोध नेपालगन्ज मामाघरमा हुर्के , त्यहीँ पढे। उनी तीन चारपल्ट तानसेन त गए तर एउटा पर्यटकजस्तो भएर। यिनलाई तानसेनमा आफ्ना बाबु छन् भन्ने थाहा छ। परिवारमा अरू को छन् भन्ने थाहा छैन र सरोकार पनि छैन।
विणा – यो रातो बाकसमा के होला ? तानसेनबाट आउँदा आमाले लिएर आउनुभएको थियो यो बाकस। आमा बितेको पनि पाँच वर्ष भयो।
प्रवोधलाई त यत्ति मात्र थाहा छ , उनको बाबुआमाको सम्बन्ध राम्रो थिएन। आमाले कहिल्यै बाबुको बारेमा कुरा गर्नु भएन। मामाघरमा पनि कसैले केही कुरा गरेन। बाल्यकालमा यस्तो कुरा थाहा पाएको भए सायद उनको शिक्षादीक्षामा नराम्रो असर पर्थ्यो। सभ्य मावलीले माया गरेर हुर्काए , पढाए र असल मानिस बनाए।
प्रवोधले सानो हथौडीले तालामा प्याट्ट हाने। ताला खुल्यो। बाकसमा आमाका बाल्यकालका तस्वीर, पिताम्बर पहिराएको बालकृष्णको सानो मूर्ति , विवाहमा पहिरिएको सारी , सिन्दुरको बट्टा र ऐना थियो। त्यहाँ सानो डब्बामा आमाले विवाहमा पहिरिएका गहनाहरू थिए।
एउटा ठूलो सुर्काउने थैलीमा विवाहका बखत गोडधुवामा प्राप्त भएका पुराना नोटहरू राखिएको थियो। बाकसमा अर्को एउटा ठूलो खाम पनि थियो। खामभित्र धेरै ससाना खाम थिए। ती सबै खामको बाहिर प्रेषक – सनातन शर्मा र प्रापक -चन्द्रकान्ता श्रेष्ठ लेखिएको थियो।
बाकसमा एउटा डायरी पनि फेला पर्यो। जसमा लेखिएको थियो – ‘मेरो जीवन कहानी ।’
प्रवोध रून थाले। एकतर्फ आमाका ती पुराना तस्वीर, बालकृष्णको मूर्ति र सिन्दुरे बट्टा, अर्कोतर्फ सनातन शर्माले पठाएका रजिस्टर्ड खामहरू र आमाबुवाबीचको आजीवन अप्रिय सम्बन्ध। वीणा ती खामहरू देखेर स्तव्ध भइन्।
विणा – मलाई त साह्रै खुल्दुली लाग्यो प्रवोध। एकपल्ट यी खाम खोलेर हेरौं है ! त्यो जमानाका प्रेमपत्र कस्ता हुँदा रहेछन् जान्न मन लाग्यो ।
प्रवोध – कसरी हेर्नु खोलेर ? तिम्रो पो सासू , मेरो त आमा हो नि । बाबुको ठेगान नहुनेको पनि आमाको ठेगान हुन्छ। जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी। तथापि आमाले पवित्रताको त्यत्रो नाटक गर्नु जरूरी थिएन। बरू खुलस्त भएको भए जीवनभर पीडा भोग्नु पर्दैनथ्यो। आज मलाई मेरो बाको माया लागेर आयो वीणा। बा धेरै सहनशील र धैर्यवान मानव हुनुहुँदो रहेछ। अब म बालाई यहीँ बोलाएर पाल्छु । मेरो आमाको कुकृत्यका लागि बासँग माफी माग्छु।
तर वीणा ! यी प्रेमपत्र नै हुन् भन्ने के प्रमाण छ ? यी विवाह हुनुभन्दा अगाडिका पो हुन् कि ? अथवा प्रेमपत्र नभएर अन्य कुनै विषयमा लेखिएका पो हुन् कि!
वीणा – अन्य विषयका चिठीहरु कोही यति जतनले राख्छ ? यी प्रेमपत्र नै हुन्। जे भए ता पनि उहाँ तिम्रो आमा हो र मेरो सासू। अहिले उहाँ जीवित पनि हुनुहुन्न। उहाँ परमात्माको घर पुगेर पवित्र भइसक्नुभयो। एउटा चिठी त हेरौं! बरू अरू सबै आगो लगाएर भस्म पारौंला।
प्रवोधका हात काँपिरहेका थिए। उनले एउटा खामबाट चिठी ताने। आधा चिठी तानेपछि फेरि खामभित्रै हुलिदिए। उनी फेला परेका सबै कुराहरूलाई बाकसमा राखेर डङ्ग्रङ्ग ओछ्यानमा पल्टिए।
भोलिपल्ट पनि प्रवोधलाई निद्रा लागेन। उनले फेरि आमाको बाकस खोले। गहनाको डब्बाबाहिर पनि चन्द्रकान्ता लेखिएको थियो। ती प्रवोधको मावली हजुरबुवाका अक्षर थिए। विवाह भएपछि एकाधपल्ट मात्र पहिरिएका गहना जस्ताकातस्तै थिए। फेरि उनले तस्वीर , बालकृष्णको मूर्ति र नोट राखेको थैली हेरे। सायद ती नोटहरू हजुरबुवाले जतनले मिलाएर राखेदेखि कसैले छोएको पनि थिएन। आमा तानसेनबाट काठमाडौं आउँदा अत्यन्त गरिबीको अवस्थामा हुनुहुन्थ्यो।
राम्रो लुगा थिएन, जुत्ता थिएन , पासमा पैसा थिएन। आमाका कान रित्ता थिए , घाँटी रित्तो थियो।
प्रवोध – आमा पैसा र गहना बाकसभित्र थुनेर किन त्यस्तो दुखारी हुनुभयो होला विणा ?
विणा – सायद आमालाई ठूलो चोट परेको थियो। सायद उहाँलाई त्यो पैसा खर्च गर्न र गहना लाउन नैतिक बन्धन थियो। सायद उहाँ धेरै घायल हुनुहुन्थ्यो। सायद उहाँलाई विवाहपश्चात गरेको प्रेममा पश्चताप भयो। चिठी खोलेर हेर्न डराउँछौ, तर्कना भने अनेक गर्छौ।
प्रवोध – चिठी नहेरौं बरू डायरी हेरौं ।
प्रवोधले डायरी पल्टाए। डायरीमा यस्तो लेखिएको थियो :
म कहिल्यै पहाड नटेकेकी चेली चन्द्रकान्ता। मेरो बुवा साहित्यप्रेमी हुनुहुन्थ्यो। म सानै हुँदा बुवाले चन्द्रकान्ता उपन्यास पढेको देखेकी थिएँ। आठ कक्षामा पुगेपछि मैले देवकीनन्दन खत्रीले लेखेको त्यो उपन्यास पढें। बुवाले त्यही कृतिबाट प्रभावित भएर म जेठी छोरीको नाम चन्द्रकान्ता राख्नु भएको रहेछ। किशोर अवस्थामा पुगेपछि मैले बुवालाई सोधेकी थिएँ , ‘चन्द्रकान्ता भनेको के हो बुवा ?’ बुवाले भन्नुभयो , ‘चन्द्रमाको जस्तो कान्ति र प्रभा भएकी।’ मलाई सबैजना भन्ने गर्थे , जस्तो मान्छे त्यस्तै नाम , भाग्य पनि चन्द्रमाको जस्तै होस्। उनीहरूलाई के थाहा चन्द्रमाको कान्तिमा दाग लागेजस्तै यो चन्द्रकान्ताको भाग्यमा पनि धब्बा लाग्ला भनेर।
गर्मीको महिनामा मेरो विवाह भयो। त्यस समयमा यातायातको सुविधा थिएन। हामी भारतको बाटो बुटवल आयौं। बुटवलमा नातेदारको घरबाट मेरो कन्यादान भयो।
अर्को दिन बिहान सबेरै मलाई अन्माएर पठाए। बाटाभरिको धूलोले मेरो दुलहीको रूप विरूप भयो। तर जति उत्तर गयो त्यत्ति नै शीतल हुँदै गएको मन्द वायुको मीठो सुवासले म पुलकित भएकी थिएँ। त्यो मीठो शीतलता मेरा लागि नौलो अनुभव थियो। छेवैमा बसेका मेरा सुन्दर दुलाहा अनङ्गमानतर्फ हेरेर मन्द मुस्काएँ। उनले मेरो कपालमा लागेको धूलो नरम र मायालु हातले झारिदिए। त्यो स्पर्शले मेरो शरीरभरि रोमान्च पैदा गर्यो।
त्यसबखत अहिले जस्तो सुहागरातको चलन थिएन। अनङ्ग राति अबेर कोठामा आए। उनले मदिरा सेवन गरेका थिए। एकछिन बसेर ‘केही अप्ठ्यारो त छैन नि’ भन्दै साथीहरू छ जान्छु है भनेर निस्के। हाम्रो नेपालगन्जमा त्यसरी रक्सी खाएर नयाँ दुलहीको कोठामा जाने चलन थिएन। तर तानसेनको चलन यस्तै होला भनेर त्यो घटनालाई सहज रूपमा लिएँ ।
भोलिपल्ट मलाई ससुराबुवाले धेरै कुरा सिकाउनु भयो। साह्रै प्रेमभाव राखेर भन्नुभयो , ‘यहाँ हामी नेवारी भाषामा कुरा गर्छौं। तिम्रो सासू राम्रोसँग नेपाली बोल्न जान्दिनन्। यी सोझी र निर्दोष महिला हुन्। यिनको झडङ्ग रिसाउने बानी छ, तर मन सफा छ। यिनको व्यवहारलाई सहज रूपमा लिनू। यहाँ पानीको धेरै दु:ख छ। तराईमा जस्तो मनग्गे पानी प्रयोग गर्न मिल्दैन, फारु गर्नुपर्छ। तिम्रा देवरहरू सानै छन्। भाइजस्तै सम्झेर माया गर्नू।’ मैले ससुराबुवालाई आफ्नै बुवाजस्तो पाएँ।
दुईजना देवरलाई लिएर म श्रीनगर घुम्न गएँ। जाने बेला उकालो काट्न साह्रै गाह्रो भयो। तर माथि पुगेपछि त म आनन्दले विभोर भएँ। यो धरतीमा यति सुन्दर दृश्य छन् भन्ने कुरा मेरो कल्पनामै थिएन। माछापुच्छ्रे , धौलागिरि र अन्नपूर्ण हिमालबारे किताबमा मात्र पढेकी म प्रत्यक्ष साक्षात्कार गर्न पाएर आह्लादित भएँ। मैले मनमनै बागेश्वरी मातालाई धन्यवाद दिएँ।
मेरो इतिहास र साहित्य पढ्ने बानी थियो। किन्तु अनङ्गलाई साहित्यमा कत्ति पनि रुचि रहेको पाइनँ। उनले भनेका थिए , ‘साहित्य पढ्नु भनेको समय नाश गर्नु मात्र हो।’
बरु ससुराबुवाले नेपाल र भारतको इतिहासका साथै केही उपन्यास पढ्नुभएको रहेछ। आफ्नो पतिलाई रुचि नभएको कुरामा किन ध्यान दिनु भनेर मैले घरमा साहित्य नपढ्ने र चर्चा पनि नगर्ने निधो गरें।
एकदिन ससुराबुवाले सोध्नुभयो , तिमीलाई मन पर्ने उपन्यास कुन हो ?
म – घामका पाइलाहरू ।
बुवा – किन ?
म – सायद मेरो मामाघर वीरगन्ज भएर हो कि!
बुवा – सबैभन्दा रोमान्चक अन्त्य भएको उपन्यास कुन हो ?
म – रवीन्द्रनाथ ठाकुरको गोरा। हजुरलाई कुन मन पर्छ नि ?
बुवा – मलाई त समको मुटुको व्यथा र प्रेमपिण्ड साह्रै मन पर्यो ।
म – मलाई धेरै मन पर्ने देवकोटाको शाकुन्तल महाकाव्य पनि हो।
बुवा – त्यो त मैले पढेको छैन। मेरो घरमा साहित्यिक वातावरण छैन। तिमी यसैमा भिज्नुपर्छ।
अनङ्गमान लजालु हो कि , लोसे हो कि , घमण्डी हो कि छुट्ट्यानै गाह्रो मान्छे। बिहान सबेरै पसल जाने उनी साँझ खाना खाएर प्रायः साथीहरूसँग व्यापारसम्बन्धी कुरा गर्नु छ भन्दै निस्किन्थे। राति कुन बेला आएर सुत्थे पत्तै नहुने।
एक दिनको कुरा हो। हाम्रो घरमा कामधन्दा सघाउन आउने दिदीले भनिन् , ‘अलि सिँगारपटार गरेर बसे पो लोग्ने पनि रतिन्छ। यति राम्री साहुनी के मोहनी हराएजस्तो बसेको। साहुजीलाई सिंगार गरेकी आइमाई मनपर्छ।’ दिदी खितित्त हाँसेर गइन्।
मलाई खुल्दुली लागिरह्यो। मेरो लोग्नेलाई सिंगार गर्ने आइमाई मनपर्छ भन्ने कुरा यसले कसरी थाहा पाई ? यो आफैं पनि नक्कली छे। अवश्य पनि ‘दालमे कुछ काला है ।’ भोलिपल्ट मैले दिदीलाई सोधे, ‘तिमीलाई मेरो लोग्नेलाई सिंगारपटार गरेर बस्ने नक्कली आइमाई मनपर्छ भन्ने कसरी थाहा भयो ?’
दिदी – भो साहुनी म भन्दिनँ। बोले जिब्रो थुतिन्छ भन्छन्। तर आफ्नो लोग्ने विदेशमा भएका आइमाई अर्को लोग्ने मानिससँग कसरी लहसिन सकेका होलान्। म त बरू भोकै बस्छु , यस्तो काम गर्न सक्दिनँ। मैले धेरै कर गरेपछि उनले कसैलाई भन्ने छैन भनी माता भगवतीको सपथ खुवाएर मेरो लोग्ने जाने गरेको ठाउँबारे खुलस्त पारेर भनिन्।
म बीस वर्षकी थिएँ। मेरो बुद्धि कलिलै थियो। आफ्नो लोग्नेको कर्तुत थाहा पाए पनि मलाई उनीप्रति घृणाभन्दा माया लागेर आयो। मैले विचार गरें , सायद ममा नै कुनै कमी छ। मैले मनमनै सिंगारिएर लोग्नेलाई आफूतर्फ आकर्षित गर्ने अठोट गरें।
एक दिन अनङ्गले भने , ‘फिल्म हेर्न जाने हो ?’ मैले सोधेकी थिएँ , ‘कहाँ ?’ उनले भने ‘गएपछि राम्रै ठाउँमा जाने नि। गोरखपुर जाने।’
मेरो हर्षको सीमा थिएन। हामी दम्पती र बुटवलतिरको नाता पर्ने अर्को जोडी गोरखपुर जाने निधो भयो। तर हिँड्ने दिन अनङ्गको साथी बिरामी परेको हुँदा ममात्र बुटवलतिर लागें।
बुटवलबाट हामी तीन जना गोरखपुर गयौं। गोरखपुरमा मेरी सानिमा हुनुहुन्थ्यो। उतैतिर व्यापार गर्दागर्दै उतैको नागरिक भएर बस्नुभएको थियो मेरो सानोबुवा। उहाँहरूको खातापिता परिवार थियो। हामीले त्यहाँ ‘सीता और गीता’ सिनेमा हेर्यौं।
बजार घुम्दाघुम्दै सानिमाकी छोरीले भनिन् ‘यहाँ भर्खरै ब्युटी पार्लर खुलेको छ। मलाई मेरो बूढाले राम्री भएर आउनू है भनेका छन्। हिँड तिमी पनि राम्री बन्न। अनि भिनाजुसँग चकाचक रमाइलो गर्नू।’ मलाई मेरो लोग्नेलाई सिंगार मनपर्छ भन्ने कुराको सम्झना भयो।
कालो कपालमा रातो मेहेंदी , थ्रेडिङ गरेर झुस फालेको कोमल अनुहार , हालसालै बजारमा आएको लिपस्टिक , मिलाएर लगाएको नङपालिस र अग्लो पुष्ट देहमा सलक्क पारेर पहिरिएको सारीमा म सप्रेर फक्रेको सयपत्रीजस्ती भएँ। मेरो हृदय रोमान्चित भयो। मलाई आफैंसँग लाज लाग्यो। अब त अनङ्ग कतै लठारिन जाने छैनन् भन्ने कल्पनामा मनै आह्लाद भयो।
म तानसेन फर्कें। ससुराबुवाले मलाई अन्तरिक्षबाट आएकी महिलालाई हेरे जस्तो गरी विस्मित भएर हेर्नुभयो। म डरले थर्रर भएँ। सासूले नेवारी भाषामा के सोध्नुभयो मैले बुझिनँ। बुवाले भन्नुभयो , सिनेमा हेर्यौ त ?
म – हेरें बुवा ।
बुवा – कुन सिनेमा ?
म – सीता और गीता।
बुवा – ए , मैले पनि हेरेको छु। सीता मन पर्यो कि गीता ?
म – गीता मन पर्यो बुवा ।
बुवाले सासूआमातिर हेरेर सुस्तरी भन्नुभयो – यो आइमाई साह्रै बाठी छ है !
त्यो दिनदेखि ससुराबुवाले मलाई व्यङ्ग्य गरेर ‘गोरखपुरे’ भन्न थाल्नुभयो। एक कान दुई कान हुँदै मेरो नाम नै गोरखपुरे रह्यो । मेरो परिचय चन्द्रकान्ताबाट गोरखपुरेमा परिणत भयो।
उता अनङ्गलाई मेरो सिंगारले आकर्षित गर्न सकेन। मेरो उपलव्धि गोरखपुरे नाम पाउनुमै सीमित भयो। त्यो शब्दमा खतरनाक बिम्ब छिपेको थियो। कुनै अनुशासनहीन र उत्ताउली महिलाको कुरा गर्दा ‘ए गोरखपुरे जस्ती!’ भन्ने थेगो नै कायम भयो मेरो घरमा।
ससुराबुवा टाठो मानिस हुनुहुन्थ्यो। उहाँसँग सल्लाह लिन , पैसा सापटी माग्न र विभिन्न गतिविधिबारे सूचना दिन मानिसहरू आइरहन्थे।
त्यसैगरी आउने एकजना मानिसले कुनै स्कूलमा निम्नमाध्यमिक तहमा नेपाली पढाउने शिक्षक आवश्यक परेको कुरा सुनाए। म सुटुक्क स्कुलमा सम्पर्क राख्न गएँ। म शिक्षकमा भर्ना भएँ। ससुरालाई मनको बाघले खाइसकेको थियो। उहाँ मसँग सतर्क हुन थाल्नुभयो, पहिले जस्तो कुराकानी गर्न छाड्नुभयो। उहाँले सायद ममा एक खतरनाक र उत्ताउली आइमाई देख्नुभयो। भ्रमको उपचार थिएन , हामी टाढिँदै गयौं।
अनङ्गको गतिविधिबारे सासू ससुरालाई ज्ञान थियो कि थिएन भन्ने मैले कहिल्यै बुझ्न सकिनँ।
स्कुलमा मास्टर सनातनसँग भेट भयो। ऊ साहित्यकार थियो , एउटा धीर गम्भीर र मैले खोजेजस्तो मान्छे। हाफटाइमको समयमा अरू कोही खाजा खान र कोही कतै जान्थे। म र सनातन कुरा गरेर बस्थ्यौं। उसले एक दिन मलाई सोध्यो , तपाईंलाई सबैभन्दा मन पर्ने साहित्यिक पात्र को हो ?
म – द्रौपदी। किनकि ऊ विद्रोही हो। ऊ युगलाई हाँक दिनसक्ने जीवन्त नारी हो। भरी सभामा आफ्नो वस्त्र तान्दा चुप लागेर तमासा हेर्ने निर्लज्ज समाजलाई ललकारेर उल्टै निर्वस्त्र पार्ने द्रौपदी सारा नारी जातिका लागि प्रेरणाको अजस्र स्रोत हो।
सनातन – मन परेको पुरूष ?
म – द्वापर युगको कृष्ण र कलिको तपाईं।
सनातन – मन नपर्ने ?
म – मलाई मन नपर्ने पात्र युधिष्ठिर हो। तत्कालीन परम्परा अनुसार भाइ अर्जुनले आर्जन गरेकी परम सुन्दरी द्रौपदीको देह देखेर कामासक्त भए उनी।
आफ्नो भाइलाई स्वयंवर गर्न ठिक्क परेकी युवतीलाई आमाको सामुन्नेमा नदेखाइकन ‘एउटा कुरा लिएर आएका छौं आमा’ भन्दा आमाले सबै भाइले बाँडेर लिनु भनिन्।
निर्दोष आमाले निष्ठापूर्वक दिएको निर्देशनको आड लिएर सबैले बाँडेर लिँदा विवश द्रौपदीलाई पाँच पतिकी पत्नी हुनुपर्यो।
जीवनको उत्तरार्धमा जब उनीहरू महायात्रामा निस्के , सबैभन्दा पछाडि हिँडिरहेकी द्रौपदी ढलिन् भीमले भने , ‘दाज्यै द्रौपदी त ढलिन्।’ युधिष्ठिरले भनेका थिए , ‘द्रौपदी ढल्नु स्वभाविक हो। उनले हामी चार भाइलाईभन्दा अर्जुनलाई ज्यादा माया गर्दथिन्। उनलाई त्यसैको पाप लागेको हो।’ कहिल्यै नफर्कने गरी जीवनको अन्तिम यात्रामा जाँदा पनि युधिष्ठिरमा द्वेष , ईर्ष्या र कुण्ठा देखिन्छ। नारीलाई पुरूषको मुट्ठीको खेलौना मान्दथे युधिष्ठिर। उनमा द्रौपदी जस्ती विद्रोही र हक्की स्वभावकी नारीको प्रेम प्राप्त गर्ने पात्रता नै थिएन।
सनातन – सबैभन्दा मूर्ख र अभागी पात्र ?
म – अभागी र मूर्ख पात्र खोज्न साहित्यको पाना पल्टाउनु आवश्यक छैन। मैले जाने बुझेको सबैभन्दा मूर्ख र अभागी पात्र मेरो लोग्ने अनङ्गमान हो। अनङ्ग यस्तो हतभागी पात्र हो , जो आफ्नो बारीमा फलेको रसिलो र भरिलो सुन्तलालाई कुहेर झर्न दिएर अर्काको बारीको रसहीन , चोक्रो र अस्वस्थ सुन्तला चोर्न जान्छ। चोर त आखिर चोर नै हो। चोरलाई सदा हतार हुन्छ। मेरो लोग्ने एउटा महामूर्ख र भाग्यहीन चोर हो। उसको दशा देखेर मलाई दया लाग्छ।
तानसेन बजारमा सालका पात , घिउ , चूक , अदुवा , दूध र फलफूल बेच्न थुप्रै महिलाहरू आउँथे। ती एकसरो लुगा लाएका अकिन्चन महिलाहरू हाँसेको र गाएको देख्दा मलाई आश्चर्य लाग्थ्यो। मैले उनीहरूलाई सोध्ने गर्दथें , यो सामान बेचेको पैसा के गर्नुहुन्छ ?
उनीहरूमध्ये प्रायःको जवाफ हुन्थ्यो , ‘यो त लोग्नेलाई बुझाउनु पर्छ। यही पैसाले लोग्नेले रक्सी खान्छ र तास खेल्छ।’
म उनीहरूलाई त्यो पैसाले आफ्नो लागि न्यानो लुगा किन्न उक्साउँथे। भगवतीको दर्शन गर्न जाने छिमेकी महिलाहरूका कान भरेर चेतना जगाउँथें।
स्कुलका नानीहरूलाई छोरा र छोरी दुबै बराबरी भनेर पढाउँथें। शिक्षकहरूमाझ मानवअधिकार र मानवीय स्वतन्त्रताबारे भाषण गर्थें।
एकदिन गाउँतिरका चार पाँचजना मानिस आएर मेरो ससुरासँग ‘तिम्री बुहारीले हाम्रा आइमाई बिगार्न थाली। चलेको रीत बिगार्न पाइँदैन’ भनेर गएछन्। कुरा त्यतिमा सकिएन। ससुरालाई सिडिओले बोलाएर भनेछ ‘साहुजी तपाईंको घरमा व्यवस्थाविरोधी पस्यो। अन्तर्राष्ट्रिय तत्वले बास गर्ने घर भयो तपाईंको घर ’
मसँग ससुराले साह्रै गुनासो गर्नुभयो। म चुपचाप बसेको देखेर झन हौसिँदै गाली पनि गर्नुभयो। मलाई पनि चित्त दुख्यो। मैले भनेकी थिएँ , ‘हो म भूतनी हुँ तपाईंको समाजलाई तर्साउने। म काँचो वायु हुँ गाउँ गाउँमा उडेर दु:ख दिने। हो बुवा म प्रश्न गर्न नजान्नेलाई प्रश्न गर्न बोक्सीमन्त्र सिकाउने लागो हुँ। म तपाईंको घर अपवित्र पार्ने कुलटा हुँ।’
ससुराले मलाई अचम्मित नजरले हेरिरहनुभयो।
उहाँले शान्त भएर भन्नुभयो , ‘धेरै मान्छे कराउन आए। छिमेकीहरू पनि कस्तो आइमाई बिहा गरेर ल्यायौ भन्न थाले। सिडिओले बोलाएर हप्कायो। म कस कसलाई जवाफ दिँदै हिँड्ने?’ वास्तवमा त्यो मेरो कारण ससुराले भोग्नु परेको पीडा र अवगाल थियो , विवशता र लाचारी थियो। मैले ससुरासँग क्षमा मागें। किन्तु उहाँलाई यो सुध्रनेवाला आइमाई होइन भन्ने थाहा थियो।
मास्टर सनातनको सरुवा भयो।
उसले बिदा हुने बेलामा सबै शिक्षकहरूको सामुमा बिदाइ भाषण गर्यो। उसले भनेको थियो, ‘दश वर्षको तानसेन बसाइमा मैले त्यति दिन सकिनँ जति मलाई तानसेनले दियो। यो सुन्दर तानसेनलाई गुलजार बनाएको नेवार समुदायले हो।
यहाँ बजारको विकास गर्ने, गाउँमा उत्पादन हुने वस्तु किन्ने र आफ्ना उत्पादन गाउँलाई बेचेर आर्थिक सक्रियता फैलाउने काम गरेको नेवार समुदायले नै हो। पाल्पालीहरूलाई सोतेमा तमाखु खान छुटाएर हुक्का बजाउन सिकाउने र काँसको थालमा भात खान सिकाउने तानसेन नै हो।
तानसेनले पाल्पालीलाई पानी खाने करुवा र दूध दुहुने बाल्टी दियो। पाल्पामा सङ्गीत , कला र साहित्यको विकासमा टेवा दिने पनि यही तानसेन हो। पाल्पालाई पश्चिम नेपालको प्रशासनिक र शैक्षिक केन्द्रको रूपमा परिचित गराउने पनि तानसेन हो।
तर तानसेन यति मात्र होइन। तानसेन आफूलाई बदल्न तयार नहुने पुरातन सोचले ग्रस्त सहर पनि हो। तानसेन आफ्नो परम्परा र संस्कृतिप्रति गौरव मात्र गर्दैन, अहड्ढारी पनि छ। तानसेन परिवर्तन हुन अल्छी गर्छ। सायद यही अहड्ढारलाई नै संस्कृति भनिन्छ। तानसेनले अरूलाई धेरै सिकायो , तर आफैंमा ग्रहणशीलताको अभाव छ।
आफ्नोभन्दा भिन्न संस्कृति र सोचलाई ग्रहण र स्वीकार गर्नमा कमजोर छ तानसेन। हाम्रो स्कुलकी शिक्षिका चन्द्रकान्तालाई स्वीकार गर्न तानसेनलाई सकस परिरहेको छ। चन्द्रकान्ता तानसेनको परिवर्तनकी जग हुन्। जग जहिले पनि पीडित हुन्छ, सारा भार बोक्नुपर्छ जगले । जगलाई पुरिदिन्छन् कसैले नदेख्ने गरी। बाहिर देखिने दृश्यमान घरले नाम पाउँछ , जग गुमनाम हुन्छ।’
एक महिनापछि मलाई सनातनको रजिस्टर्ड चिठी आयो। ससुराको अगाडि नै हल्काराले चिठी बुझाएर गयो। प्रत्येक महिना आउने चिठीबारे मेरो परिवार जानकार थियो।
ससुराले भन्नुभएको थियो , ‘तिमी र सनातनको कहिलेकहिले र कहाँ कहाँ भेट भयो , सबै रिपोर्ट छ मसँग।’ मैले ‘हो र बुवा ?’ भनेपछि उहाँ स्तव्ध हुनुभयो। सायद मेरो निर्लज्जताप्रति विस्मित हुनुहुन्थ्यो उहाँ।
अनङ्गले एकदिन भनेका थिए , ‘म सनातनले पठाएका पत्रहरू हेर्न चाहन्छु । अब कि वार हुन्छ कि पार हुन्छ।’ मैले भनेकी थिएँ, ‘तिमीले मदिरा सेवनको लहडमा एक दिनको मिलनमै मलाई छोरो दियौ। तिमी जस्तो वीरले कायरले जस्तो अर्काको चिठी हेर्न शोभा दिँदैन। तिमी रातभरि कहाँ जान्छौ भन्ने मलाई उसै बेलादेखि थाहा थियो। अचेल चोक्रो र शुष्क सुन्तला झरिसकेको हुँदा चोर्न जान छाडेका छौ।’ अनङ्गले भने , ‘म बाकस फोरेर निकाल्छु।’
मैले भनें , ‘ठीक छ बाकस फोर । तर त्यो मेरो बाबुले मलाई अन्माएर पठाउँदा दिएको मायाको चिनो हो। म त्यो बाकसमा मेरो दिवङ्गत बाबुलाई देख्छु। बाकस फोर्यौ भने भगवान ऋषिकेशव , कालभैरव , माता भगवती र बागेश्वरीले सजाय दिनेछन्।’
अनङ्गले बाकस फोर्ने हिम्मत गरेनन्। आफ्नो संस्कृतिलाई उच्च ठान्ने अन्धविश्वासी मान्छे कति भीरु हुन्छ भन्ने कुरा मलाई थाहा थियो।
धेरै वर्ष बितिसकेका थिए। ससुरा बित्नुभयो। बितेर जाने बेलामा मलाई बोलाउनुभयो र मेरो हात समातेर अवरूद्ध आवाजमा भन्नुभयो , ‘मलाई माफ गर है चन्द्रकान्ता !’ मैले भनेकी थिएँ , ‘तपाईंको कुनै दोष छैन बुवा , दोष त तपाईंले विरासतमा पाएको सभ्यताको छ। सायद यो मेरो पूर्वनिर्धारित प्रारव्धको खेल हो।’ अनङ्गले त्यो वार्तालाप सुनिरहेका थिए।
मैले ऐना नहेरेको वर्षौं भइसकेको थियो। कपाल कोर्दा पनि ऐना हेर्दिनथें। सनातनको चिठी आउन छाडेको थियो । मैले पठाएको चिठी पनि सम्बन्धित व्यक्ति फेला नपरेको भनी फिर्ता भयो। सायद उसको देहान्त भयो।
मैले बाबाले दिएको बाकसबाट ऐना झिकें। म दुलही भएर सिंगार गर्दा हेरेको ऐना थियो त्यो। गोरखपुरबाट फर्कंदा ससुरा विस्मित भएपछि अनुहार हेरेको ऐना थियो त्यो। मैले ऐना हेरें। मेरो पचहत्तर प्रतिशत कपाल फुलेको थियो। त्यही कपाल हो जसमा `मेहेंदी लाउँदा म सयपत्री जस्तो फक्रेकी थिएँ। त्यही रंगीन कपाल हो जसको कारण मेरो न्वारान भएर गोरखपुरे नाम रह्यो। मेरा आँखाभित्र धसिएर इनारजस्तै गहिरा भएछन्। मेरो गालाको छाला लत्रेछ। निधारमा देखिने मसिना धर्काहरूले मलाई ‘तेरो समय सकियो’ भनिरहेका थिए।
अनङ्ग मेरो पछाडि उभिएर मैले ऐना हेरेको हेरिरहेका थिए। मैले बाकसबाट सनातन मास्टरका चिठीहरू निकालेर भुइँभरि फैलाएँ। अनङ्ग भुइँमा बिछ्याइएको दरीमा थ्याच्च बसेर एक एक गरेर चिठी हेर्न थाले। प्रत्येक चिठीका केही पङ्क्ति हेर्दै फेरि अर्को हेर्दै गए उनी। जति चिठी पढ्दै गए , उति नै उनको अनुहार गम्भीर हुँदै गयो।
बुढेसकालले ग्रस्त अनुहार फुस्रो र विरूप देखिन थाल्यो अनङ्ग थाकेजस्तो गरी उठे। उनले मेरो काँधमा हात राखेर भने , ‘मलाई माफ गर चन्द्रकान्ता। यी चिठीमा त केवल इतिहास, समाज , कला , सभ्यता र परिवर्तनका कुरा मात्र रहेछन्।
हामी सबै शङ्काका सिकार भएछौं। म विवाहअघि नै एउटी महिलासँग फसेको थिएँ। त्यसबाट उम्कन खोज्दा हल्ला गरिदिन्छु भन्न थाली। म आफैंले खनेको खाल्डोमा झन् झन् तल झर्दै गएँ। मलाई तिम्रो नजिक आउने हिम्मतै भएन।
अब हामी मिलेर बस्नुपर्छ। म तिम्रो नजिक हुन चाहन्छु चन्द्रकान्ता।’
मैले भनें ‘मेरो जीवनको बिहानी , दोपहर र साँझ समेत बितिसक्यो। अब अस्तित्वको यो घोर निशामा कुनै स्पन्दन् छैन। व्यतित जिन्दगानीको महान्धकारमा डुबेको नीरवतामा नजिक हुनुको के प्रयोजन रह्यो र !
अब तिमी आफ्नो प्रारव्धरूपी नदीको प्रवाहमा बग्दै जाऊ र म पनि बग्दै जान्छु। अब कुनै प्रयत्नले जीवनको बिहानी फर्केर आउने छैन।’
- भागवत खनाल – लेखक