आउनुहोस ! अन्तभन्दा पाँचदस रुपैयाँ सस्तै तरकारी लैजानुहोस

“तरकारी कुहिएर जानुभन्दा सस्तो मूल्यमा उपभोक्तालाई बेचौं भनेर दुधौली – ५ सिर्थौलिका कृषक राजेश अधिकारीले थाले पहल”

सिन्धुली — आफूले उत्पादन गरेको तरकारी लकडाउनका बेला बिक्री गर्न किसानले विभिन्न विकल्प अपनाउन थालेका छन् । उनीहरूले विभिन्न संघ संस्थाहरुसँग समन्वय गरेर आफैंले बजारसम्म पुर्‍याई तरकारी बेच्न सुरु गरेका छन् । बिक्रीका लागि ठिक्क भएको तरकारी त्यत्तिकै फाल्नुभन्दा उचित विकल्प खोजी उपभोक्तामाझ पुर्‍याउनु नै उचित रहेको किसान बताउँछन् ।

उसो त कोरोनाको जोखिमसँगै भएको लकडाउनले धेरैको रोजगारी गुमेको छ । काम र कमाइको स्रोत घटेको छ । तर कतिपयले भने लकडाउनको समयमा पनि विभिन्न व्यवसाय गरेर राम्रै आयआर्जन गरिरहेका छन् । यस्तै मध्येमा पर्छन, सिर्थौलिका राजेश अधिकारी ।

राजेशले ११ वर्षदेखि दुधौली नगरपालिकाको सिर्थौलिमा तरकारी खेती गर्दै आएका छन । यसअघि भएका लकडाउन र निषेधाज्ञाले अनको व्यवसायमा खासै असर परेको छैन ।  १६ कट्ठा क्षेत्रफलमा उनी तरकारी खेती गरिरहेका छन । श्रीमतीले पनि काममा सघाउछिन । काम र कमाइ राम्रो भैरहेको छ- राजेश भन्छन ।’

धेरैलाई गाह्रो बनाएको लकडाउनले उनको व्यवसायमा भने खासै असर गरेको छैन । ‘सुरुसुरुमा अलिअलि साह्रो गाह्रो त भयो, तर काम भने रोकिएन’ उनले भने । 

कोरोनाका कारण बजार पसल बन्द भए पनि तरकारी बिक्री वितरणमा भने कुनै समस्या भएन ।  पहिला उनले सिन्धुलि सदरमुकामको विभिन्न हाट बजारमार्फत् तरकारीको व्यापार गर्दै आइरहेका थिए । हिजोआज भने उनका नियमित ग्राहक छन । र अन्य स्थानिय घरमै तरकारी कति रुपैयाँ केजि भनेर सोध्न र लिन आउछन । त्यसको लागि अधिकारिले घरकै अगाडि ढकतराजु राखेर तरकारी बिक्री गर्ने ब्यबस्था मिलाएका छन ।

तरकारी खेतीबाट ४ जनाको परिवार राम्रै चलिरहेको छ । विषादीरहित तरकारी खेतीबाट सिजनमा उनि ५/६ लाख  र अरु सामान्य समयमा २ देखि ४ लाख रुपैँयासम्म आम्दानी तरकारी खेतिबाट गर्छन । विदेशमा गएर कमाउनुभन्दा यहीँ केही गर्नपर्छ भन्ने लागेर तरकारी खेतीतिर लागेको उनले बताए । 

उनको तरकारी प्रहरी तालिम केन्द्रले दैनिक ५० देखि डेढसय केजि सम्म बारिनै बाट लैजाने गरेको छ । उसोत उनी अन्य ब्यबसायिले भन्दा २/५ रुपैयाँ सस्तै तरकारी बिक्री गर्छन । अन्य व्यावसायि भन्दा किन सस्तो बिक्रि गर्नुहुन्छ तपाईं भनेर सोध्दा उनी हास्दै भन्छन, ‘आफ्नो पौरखले तरकारी फलाएको छु, आफ्नो गाउँका दाजुभाइले २/४ रुपैयाँ सस्तो खादा मलाइ फरक पर्दैन, आखिर दाजुभाइ त मलाई सधै चाहिन्छ ।’

पौरखी कृषक अधिकारिको बारिमा अहिले बन्दा, आलु, कोभी, टमाटर, साग, भिण्डी लगायतका तरकारी छन । उनले दैनिक खाना खाएर प्रतिब्यक्ती ५ सय पारिश्रमिक दिई ३ जना तरकारी गोडमेल गर्ने र तरकारी उत्पादनमा सघाउने सहयोगी कामदार राखेका छन ।

अधिकारि भन्छन, ‘घरमा श्रीमतीले तरकारी बेच्न सघाउछिन, बारिको तरकारी गोडमेलको काम सहयोगी कामदारले सघाउछन अनि म बजारमा माग भए बमोजिम तरकारी पुर्याउने काम गर्छु । आफ्नो काममा फुर्सद हुँदा त एकले अर्कोलाइ सघाउने काम भइ नै हाल्छ । जे होस जीवन राम्रै संग चलेको छ – अधिकारीले भने ।’

  • सामुदायिक बिकास कार्यक्रम सिन्धुली (साबिका) संगको समन्वयमा प्रकाशित ।
प्रकाशित मिति : ११ माघ २०७७, आईतवार १०:४९

प्रतिक्रिया दिनुहोस्