ओली सरकारको तानाशाही चरित्र उदांगिएको छ – प्रकाशमान सिंह

काठमाडौँ – नागरिक आन्दोलनमा प्रहरीले गरेको हस्तक्षेपप्रति चौतर्फी आलोचना बढिरहेका बेला कांग्रेसका नेता प्रकाशमान सिंहले शान्तिपूर्ण प्रदर्शन समेत दबाउन खोज्ने प्रधानमन्त्री केपी शर्मा ओली सरकारको तानाशाही चरित्र उदांगिएको बताएका छन् । 

प्रतिनिधि सभा विघटनविरुद्ध मंगलबार बालुवाटारमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका लेखक, पत्रकार, साहित्यकारमाथि प्रहरीले पानीको फोहरा हानेको थियो । पानीको फोहरासँगै प्रहरीले केही प्रदर्शनकारीमाथि लाठी हानेको थियो । 

‘नागरिक आन्दोलनको आवाज दबाउन गरिएको हस्तक्षेपले केपी ओेली नेतृत्वको वर्तमान सरकारको तानाशाही र अधिनायकवादी चरित्र उदांगिएको छ’ नेता सिंहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निहत्था नागरिकमाथि दमन गरेर असंवैधानिक कदमको ढाकछोप गर्ने कुचेष्टाविरूद्ध सबै नागरिकलाई एकताबद्ध हुन र संविधान रक्षाको पक्षमा उभिन पनि आग्रह गर्दछु ।’

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार ११:२८

प्रतिक्रिया दिनुहोस्