शैक्षिक बेथिति न्यूनीकरणको प्रयास: एकैपटक ४३ शिक्षकको सरुवा

सिन्धुली – गोलन्जोर गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पहलकदमी शुरु गरेको छ । सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको खस्कँदो मोहलाई बढाउन गाउँपालिकाले शिक्षा ऐन र नियमावली निर्माण गरी सुधारको पहल थालेको हो । 

गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीले शिक्षा क्षेत्रका कार्यहरु कहाँबाट थालनी गर्ने ? कुन कार्यलाई पहिलो प्राथमिकतामा राख्ने ? कुन कुन कार्यलाई क्रमशः गर्दै लैजाने भन्ने अन्योलता तत्कालका लागि भएपनी गाउँपालिकाले केहि नयाँ अभ्यासको थालनी गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘स्थानीय तहले शैक्षिक सुधार गर्न पक्कै पनि सजिलो छैन तर आफ्नो क्षेत्रलाई अन्य क्षेत्रको तुलनामा अगाडि बढाउने हो र दुरगामि सकारात्क प्रभाव पर्ने गरी विकासलाई अगाडि बढाउने हो भने शिक्षा क्षेत्र पहिलो प्राथमिकतामा राखिनु पर्दछ र त्यो हामिले राखेका छौं ।’

शैक्षिक सुधारका कार्यहरु तत्काल थालनी गर्दा र नयाँ अभ्यासमा केहि कठिनाइ स्वभाबिक हुन्छ । अध्यक्ष कार्किले भन्नुभयो- ‘त्यसैले विवेकशील कठोरता अपनाउनु पर्ने हुन्छ । दुरगामी सकारात्मक प्रभाव पार्न तत्काललाई अप्रिय लाग्ने कार्यहरु पनि गर्नु पर्ने भएकोले त्यो अभ्यासमा गाउँपालिका रहेको छ कार्किले भन्नुभयो ।’

गाउँपालिकाले बिधालय सुधारका लागि लामो समयसम्म एउटै बिधालयमा सेवा दिइरहेका र घर पाएक बिधालयमा कार्यरत बिभिन्न शिक्षक संघ/संगठन, महासंघमा आबद्ध शिक्षकलाई सरुवा गर्ने निर्णय गरेको छ ।

नेपाल शिक्षक युनियन सिन्धुलिका पुर्व-अध्यक्ष तथा नयाखर्क माबीका पुर्व प्रधानाध्यापक लेखबहादुर बस्नेतलाई नयाँखर्क माबिबाट जनता माबी खनियाखर्क, नेपाल शिक्षक संघ सिन्धुलिका उपाध्यक्ष तथा जनता माबी खनियाखर्कका प्रधानाध्यापक सुमन कोइरालालाई कौशिका माबी ग्वाल्टार, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन सिन्धुलीका सहसचिब तथा प्राबी नाकाजोलिका प्रधानाध्यापक दिनेशप्रसाद कोइरालालाई माबी नयाखर्क, नेपाल शिक्षक संघ गोलन्जोरका अध्यक्ष तथा निमाबी धारापानीका प्रधानाध्यापक निलप्रसाद पौडेललाई प्राबी खोक्लिङ सरुवा गरिएको छ ।

त्यस्तै, नेपाल राष्ट्रिय शिक्षक संगठन गोलन्जोरका अध्यक्ष रमेशकुमार बर्मालाइ जनता माबी खनियाखर्कबाट कौशिका माबी ग्वाल्टार, हिस्टानका केन्द्रिय सचिब तथा एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन गोलन्जोरका अध्यक्ष
सन्तोशकुमार बोहोरालाइ कौशिका माबी ग्वाल्टारबाट जनता माबी खनियाखर्क सरुवा गरिएको गाउँपालिका अध्यक्ष कार्किले बताउनुभयो ।

अध्यक्ष कार्किका अनुसार ‘विभिन्न संघ/संगठन तथा महासंघमा आबद्ध शिक्षक नेता तथा लामो समय घरपाएक बिधालयमा सेवा गरिरहेका गाउँपालिका भित्रका ४३ शिक्षकलाइ सरुवा गरिएको छ ।’

अध्यक्ष कार्किले भन्नुभयो- ‘शिक्षक सरुवा विगतमा पनि विवादित विषय हो । प्रणाली स्थापित नभएको कारणले ज्यादा बिकृति भएको क्षेत्र पनि हो । शिक्षक सरुवा गराउनकै लागि जिल्ला शिक्षा अधिकारी फेर्ने, केहि जिल्ला शिक्षा अधिकारी निश्चित जिल्लामा सरुवा भएर जाँदा पहिलो प्राथमिकतामा शिक्षक सरुवालाई राख्ने, जिल्लान्तर सरुवा तथा अन्य जिल्लाबाट घरपाएक पर्ने जिल्लामा सरुवा गर्ने कार्य तत्काल थाल्ने गरेको सवैले देखेकै हो ।’

यो लामो समयको नकारात्मक परम्परालाई निस्तेज गर्दै गाउँपालिकाले नयाँ अभ्यासको थालनी गरेको छ । तत्काललाई केही नराम्रो गरिएको जस्तो देखिएपनी लामो समयसम्म यो कदमले पालिकाको शैक्षिक गुणस्तरमा महत्वपूर्ण योगदान पुर्याउने अध्यक्ष कार्किको बिश्वास छ ।

साथै पालिकाले आफ्नो क्षेत्र भित्रको बास्तविक शैक्षिक अवस्थाको जानकारी लिने तथा तथ्यहरु संकलन गर्ने, तथ्यहरुको बिश्लेषण गर्ने, समस्याहरु एकिन गर्ने, गर्नुपर्ने कार्यको प्राथमिकताकरण गर्ने, भएका समस्या समाधानका उपायहरुमा सवैको सहमति जुटाउने जस्ता कार्य अगाडि बढाएको अध्यक्ष कार्किको भनाइ छ ।

गोलन्जोर गाउँपालिकाले पालिकाभित्रको सामुदायिक बिधालयमा शैक्षिक गुणस्तरका लागि चालू आ.बमा करिब साढे २ करोड बजेट बिनियोजन गरेको र सोही अनुसार नीति निर्माण गरि कार्यक्रम लागू गरेको छ । दरबन्दी कम रहेका सामुदायिक बिधालयमा बिनियोजित बजेटबाट प्रचलित तलबभत्तामा बिद्यार्थीको अबस्था हेरेर गाउँपालिकाले शिक्षक ब्यबस्थापन गरिरहेको छ ।

बिद्यार्थीको माग र अबस्थालाइ हेरेर गाउँपालिकाले जनज्योति माबी खुर्कोटलाइ स्कुलबस उपलब्ध गराएको र उक्त कार्यक्रमलाइ आउने बर्षमा पनि बिधालयको अबस्था र मागलाइ सम्बोधन हुनेगरी निरन्तरता दिने अध्यक्ष कार्किले जानकारी दिनुभयो ।

बिधालयको शैक्षिक गुणस्तरलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाले प्रत्येक बिधालयमा पुस्तकालय, प्रयोगशाला, सुचना प्रबिधिका निमित्त बजेट बिनियोजन गरेर कार्यान्वयन गरिरहेको छ ।

विद्यालयमा गएको रकम पारदर्शि गराउने, समाजिक परीक्षण गराउने, विद्यालयका खर्चहरु उपयुक्त शिर्षकमा मितव्ययी तरिकाले खर्च गर्ने वातावरण निर्माण गर्ने, भौतिक निर्माणका कार्यलाई स्तरीय रुपमा सम्पन्न गराउने, विद्यालयमा सुशासन कायम गर्ने जस्ता कुराहरुमा गाउँपालिकाले सबैको सल्लाह र सहयोग बमोजिम काम गरिरहेको अध्यक्ष कार्किको भनाइ छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आईतवार २०:२२

प्रतिक्रिया दिनुहोस्