कांग्रेस सिन्धुलिले मनायो सुशील कोइरालाको छैटौं स्मृति दिवस

सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको छैटौं स्मृति दिवस मनाएको छ ।

नेपाली कांग्रेस सिन्धुलिका सभापति उज्वलप्रसाद बराल लगायत पार्टीका शीर्ष नेता, शुभेच्छुक तथा भातृ संघसंगठनका प्रमुख एबम प्रतिनिधिको उपस्थितिमा कोइरालाको फोटोमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै कोइरालाको सम्झना गरिएको हो ।

२०७२ साल माघ २६ गते कोइरालाको निधन भएको थियो । कोइराला २०६७ भदौ २५ मा नेपाली कांग्रेसको सभापति बनेका थिए । पार्टी सभापति रहेकै बेला उनको निधन भएको हो ।

२०७० साल माघ २७ गते देशका ३७ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका कोइरालाले २०७२ असोज २३ गते पदबाट राजीनामा दिएका थिए ।

उनको कार्यकालममा देशले नयाँ संविधान पाएको थियो । लामो समय अल्झिएको संविधान निर्माणले कोइरालाको नेतृत्वमा गति लिएको थियो ।

संविधान जारी भएपछि उनि सरकारबाट बाहिरिएका थिए । सुशील कोइरालाको जन्म सन् १९३९ मा पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको थियो ।

सुशील कोइराला विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका थिए ।

वि. सं २०१७ मा प्रजातन्त्रको अपहरणपछि उनि १६ वर्षसम्म भारतमा स्वप्रवासमा रहेका थिए । कोइरालाले नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनैतिक बन्दी जीवन बिताएका थिए ।

वि.सं २०३६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका कोइराला २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनका साथै २०४२ सालको सत्याग्रह र २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सक्रिय रूपमा लागेका थिए ।

सुशील कोइरालाले पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरेका हुन । कोइराला २०६८ साल असोजमा सम्पन्न कांग्रेसको १२ औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएका थिए । उनलाई नेपाली राजनीतिमा सादगी र निष्ठावान नेताका रुपमा लिने गरिन्छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार २०:२८

प्रतिक्रिया दिनुहोस्