पालिकास्तरिय बाल भेला मरिणको कपिलाकोटमा शुरु

सिन्धुली – ‘बालबालिकामा गरौं लगानी, ल्याउछ सुनौलो बिहानी’ भन्ने नाराका साथ सिन्धुलीको मरिण गाउँपालिकामा पालिकास्तरिय बाल भेला आइतबारबाट शुरु भएको छ ।

मरिण गाउँपालिकाको आयोजनामा प्लान इन्टरनेशनल नेपाल र सामुदायिक बिकास कार्यक्रम सिन्धुलिको सहयोगमा मरिण गाउँपालिका स्तरीय बाल संजालसंगको समन्वयमा भेला आयोजना गरिएको हो ।

आइतबार र सोमबार संचालन हुने बालभेलाको उद्घाटनसत्रमा बोल्दै गाउँपालिका अध्यक्ष पानीराज बम्जनले हरेक प्रकृतिका हिंसा, दुव्र्यवहारमा परेका बालबालिकाको उद्धार तथा बालबालिकाको उचित पुनस्थापनाको लागी राजनैतिक हस्तक्षेप बन्द हुनुपर्ने बताउनुभयो ।

उहाँले हाल भइरहेको प्रयासका आधारमा मात्र बालविवाह समाप्त पार्न नसकिने उल्लेख गर्दै यो न्यूनीकरणका लागी स्थानिय सरकार र सामाजिक संघसंस्थाको पहलले मात्रै नभएर राजनैतिक संरक्षण गरिने प्रवृत्ति हट्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपालको संविधानले निर्धारण गरेबमोजिम बालबालिकाको क्षेत्रमा स्थानिय तहले काम गर्न नसकिरहेको उल्लेख गर्दै अध्यक्ष बम्जनले समुदायको चेतनास्तर वृद्धि नहुन्जेल र बाल हिंसा तथा दुव्र्यवहारपछी राजनैतिक आश्रय उसको परिवारले पाउन्जेल समाजमा यो प्रथाको अन्त्य हुन नसक्ने ठोकुवा गर्नुभयो ।

मरिण गाउँपालिकाले सबै वडामा बालसंजाल गठन कार्यलाइ अघि बढाएको अध्यक्ष बम्जनले बताउनुभयो । साथै उहाँले पालिका भित्रका ४८ सामुदायिक बिधालयमा बालबिकास शिक्षक दरबन्दी स्थापना गरि बालबिकासको लक्ष अनुरुप गाउँपालिकाले काम गरिरहेको बताउनुभयो ।

कुनै पनि बालबालिका कुपोषित हुनु नपरोस भनेर अविभाबक शिक्षाको कार्यक्रम पालिकाले संचालन गरिरहेको, हरेक गर्भवती तथा सुत्केरी महिलालाई पोषण खानेकुरा खरिदका लागी आबस्यक रकम बिनियोजन गरिरहेको, महिला स्वास्थ्य स्वयंसेवीकालाई प्रोत्साहन भत्ता लगायत महिला तथा बालबालिकाको क्षेत्रमा स्थानिय सरकारले गर्नुपर्ने काम लगातार गरिरहेको अध्यक्ष बम्जनले बताउनुभयो ।

बालभेलाको सहयोगी संस्था सामुदायिक बिकास कार्यक्रमका अध्यक्ष मिलन श्रेष्ठले बाल मृत्युदर, कुपोषण, विद्यालय बाहिर रहेका बालबालिका, बालश्रम, बालविवाह, बालिका आमा र चरम द्वन्दको सिकार भएका बालबालिकाको उद्धार तथा पुनस्थापनाको लागी सबैभन्दा पहिला पारिवारको अबिभाबक र समुदाय शिक्षित हुनुपर्ने बताउनुभयो ।

उहाँले कुनै संघसंस्थाको सहयोग महत्वपूर्ण भएपनी घर परिवार र समाज शिक्षित नबनेसम्म बालबालिकाको चेतना स्तर र ब्यबहारमा परिबर्तन गर्न नसकिने जनाउनुभयो । दुई दिनसम्म संचालन हुने सहजीकरणमा प्रमुख सहजकर्ता कमला लामाले स्थानिय सरकारको योजना तर्जुमा नीति अनुसार बालभेला हरेक पालिकामा बर्षमा एकएकपटक आयोजना गरिनुपर्ने बताउनुभयो ।

दुईदिने बालभेलामा बालबालिकाको योजना तर्जुमा गरिने,
स्थानीयस्तरमा बालअधिकार र बालसंरक्षण सम्बन्धी जनचेतना बढाउनका लागि जबचेतनामुलक सडक र्‍यालीको आयोजना गरिने, बालसंरक्षणका सवालहरूको पहिचान गरिने, बालबालिकाको क्षेत्रमा स्थानिय तहले गरेको बजेट बिनियोजन र प्रभावकारी कार्यान्वयनबारे बालबालिकासंग छलफल लगायतको कार्य गरिने सहजकर्ता लामाले बताउनुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी प्रमुख, विभिन्न वडाका वडा-अध्यक्ष, मरिण गाउँपालिकाका प्रबक्ता प्रख्यात मोक्तान लगायत पालिकाभित्रका बिभिन्न बालक्लब तथा संजालमा आवद्ध तथा बिधालयमा अध्यनरत बालबालिका सहभागी छन ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आईतवार ०६:३९

प्रतिक्रिया दिनुहोस्