आफुले प्रयोग गर्दै आएको गाडी कोरोना संक्रमितको सेवाको लागी

सिन्धुली – सिन्धुलीको घ्याङलेख गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले शुक्रबार आफू चढ्दै आएको गाडीलाई कोरोना संक्रमित बिरामी बोक्न एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गर्नु भएको छ ।

कोरोना भाइरस संक्रमित तथा अरू बिरामीको उपचारका लागि स्रोत साधनको अभाव बढ्दै गएका बेला घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलन र उपाध्यक्ष दुर्गादेवी सुनुवारले आफु चढ्दै आएको गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न सर्वसाधारणलाई अपिल गर्नुभएको हो ।

उहाँहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार आफ्नो भिडियो मन्तव्य सार्बजनिक गर्दै उक्त घोषणा गर्नु भएको हो ।

गाँउपालिका अध्यक्ष भोलनले महामारिका बेला जनतालाई सुविधा दिन आफुले प्रयोग गर्दै आएको गाडी प्रयोग गर्न दिने घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, “गाँउपालिकाको गाडी कोरोना संक्रमण अवधिभर म प्रयोग गर्दिन ।

पालिकामा देखा परेका कोरोनाका बिरामी बोकेर अस्पतालसम्म लैजान दिएको छु ।” कोरोनाका कारण जनतालाई अप्ठेरो नपरोस भनेर आफुले उक्त घोषणा गरेको उहाँले बताउनुभयो ।

घ्याङ्ग्लेख गाउँपालिका अध्यक्ष: जगतबहादुर भोलन

त्यस्तै गाउँपालिका उपाध्यक्ष दुर्गादेवी सुनुवारले पनि गाँउपालिकामा एउटा एम्बुलेन्स रहेको र गाँउपालिकामा कोरोनाको बिरामी देखा पर्ने क्रम बढ्दै गएको हुँदा त्यसले धान्न नसक्ने अबस्था भएकोले आफुले प्रयोग गर्दै आएको गाँउपालिकाको गाडी बिरामी बोक्न प्रयोग गर्न दिने घोषणा गर्नुभयो ।

घ्याङ्ग्लेख गाउँपालिका उपाध्यक्ष: दुर्गादेवी सुनुवार

उहाँले भन्नुभयो, “जनतालाई शान्ति, सुरक्षा र अमनचैन दिनु जनप्रतिनिधिको दायित्व पनि हो । त्यसैले हामीले उक्त घोषणा गरेका हौं ।”

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार १६:५२

प्रतिक्रिया दिनुहोस्