प्रशासकिय प्रमुखहरु स्वास्थ्य सामाग्री बितरण र सचेतनामा सक्रिय

सिन्धुली – कोभिड–१९ को सङ्क्रमणबाट बच्न सिन्धुलीका प्रशासकिय प्रमुखहरु गाउँ-गाउँ पुगेर सचेतना तथा स्वास्थ्य सामाग्री बितरणमा सकृय देखिएका छन ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोबिन्द थपलिया र सशस्त्र प्रहरी सिन्धुलीका प्रहरी नायब उपरीक्षक नारायण पौडेल जिल्लाको मरिण र हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष तथा स्थानिय सङ्ग छलफल गर्न पालिकाको कार्यालय र समुदाय पुगेका हुन ।

स्थानिय तहमा कोरोना संक्रमणको अबस्था बताउदै मरिण गाउपालिकामा कोरोनाको उच्च जोखिम रहेको र जनजिबन प्रभावित हुँदै गएको अध्यक्ष पानीराज बम्जनले बताए ।

गाउँपालिका भित्र संक्रमण दर दिनानुदिन बढ्दै गइरहेको अबस्थालाइ मध्यनजर गरेर अहिले कोरोना महामारीसँग जुध्न समुदायमा सामूहिक प्रतिवद्धता आबस्यक रहेको अध्यक्ष बम्जनले सुझाए ।

उनले भने, ‘महामारी नियन्त्रणका लागि विश्वव्यापी नियम (लकडाउन, निषेधाज्ञा र सामाजिक दुरी) पालना गरिरहेका छौं। यो नियम पनि महामारी नियन्त्रणमा एउटा विकल्प हो तर अन्तिम भने होइन ।

महामारी नियन्त्रणको महत्वपूर्ण विकल्प भनेकै आआफ्ना स्थानबाट गरिने सामूहिक प्रतिवद्धता हो । ‘यो महामारी नियन्त्रण गर्न सघाउनु मेरो पनि महत्वपूर्ण भूमिका छ’ भन्ने कुरा सबैले आ-आफ्नो क्षेत्रबाट बुझे र व्यवहारमा लागू गरे नियन्त्रण ‘आकाशको फल’ अवश्य होइन ।

छलफलमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले सबै नागरिक मानवीय संयमतामा आधारित हुनुपर्ने बताए । यो महामारीमा सबैले आ-आफ्नो ठाउँबाट सकेको साथ सहयोग गर्नुको विकल्प छैन उनले भने यस्तो अवस्थामा हामीलाई सानोभन्दा सानो कुरो माक्स लगाउनु होस्, घरैमा बस्नु होस् भन्दा पनि हामी मान्दैनौं । यसमा हामी सबै नागरिक सचेत हुनुपर्छ प्रजिअ न्यौपानेले भने ।

हरेक चोकका गल्लीमा कति बेला सुरक्षाकर्मी देखिँदैनन् र हिँडडुल गरौं भन्ने हरेक व्यक्तिमा देख्न सकिन्छ । के आफ्नो स्वास्थ्यको लागी यति सहयोग आफुले आफुलाइ पनि गर्न सकिँदैन र ? प्रहरी उपरीक्षक गोबिन्द थपलियाले भने ।

जिल्ला कोभिड संकट व्यवस्थापन समिती सिन्धुलिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी न्यौपानेको संयोजकत्वमा प्रशासकिय प्रमुखहरुले पालिकास्तरिय प्रशासनका कर्मचारी, स्थानिय प्रहरी र विभिन्न आयोजना तथा क्षेत्रमा दैनिक ज्याला मजदुरी गरिरहेका श्रमिकलाई माक्स तथा सेनिटाइजर बितरण गरिएको हो । सिन्धुलीमा बिहिबारसम्मको रिपोर्ट अनुसार ३७१ संक्रमित छन् भने ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार ०४:१०

प्रतिक्रिया दिनुहोस्