मन्त्रिपरिषद्को निर्णय: सिन्धुलीका भूपाल बराल सचिवमा बढुवा

सिन्धुली – नेपाल सरकारका सहसचिव भूपाल बराल सचिवमा बढुवा हुनुभएको छ । मन्त्रिपरिषद्को सोमबार राति बसेको बैठकले बराललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । 

प्रशासनतर्फका सहसचिव बराल वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए । यसअघि लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी नेतृत्वको बढुवा समितिले प्रशासनतर्फका तीन सहसचिवलाई बढुवाका निम्ति सिफारिस गरेको थियो । 

महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डेले अवकाश पाएपछि बढुवा समितिले विशिष्ट श्रेणीको उक्त पदका लागि बरालका साथै सहसचिवहरु डण्डुराज घिमिरे र खगेन्द्रप्रसाद सुवेदीलाई पनि सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्ले तीमध्ये वरीयतामा सबैभन्दा अगाडि रहेका बराललाई बढुवा गर्ने निर्णय गरेको हो । यो संगै बराल सरकारी प्रशासनको उच्चस्तरीय पदमा पुग्ने सिन्धुलीबाट पहिलो प्रशासक समेत बन्नुभएको छ । बरालको स्थायी ठेगाना सिन्धुली जिल्ला कमलामाई नगरपालिका -१३ रानीवास रहेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, मंगलवार ०२:५०

प्रतिक्रिया दिनुहोस्