सिन्धुलीका सीडीओले नै प्रशासनमा राख्न दिएनन राष्ट्रिय झण्डा

सिन्धुली – जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार राष्ट्रिय शोक घोषणा गरेको थियो ।

राष्ट्रिय शोकमा आधा झण्डा झुकाउने निर्णय गृह मन्त्रालयले गरेको हो । तर गृहअन्तर्गतको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यस कुरालाई बेवास्ता गरेको छ ।

प्रशासनले झण्डा त झुकाएन नै आन्दोलनका समयमा च्यातिएको झण्डासमेत कसैले राखेन ।

राष्ट्रिय शोकमा झण्डा नझुकाएपछि सिन्धुलीका नागरिकहरूले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा झण्डा राख्न खोजेका थिए । तर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले झण्डा राख्न दिएनन् ।

झण्डासहित कार्यालय पुगेका कानुन व्यवसायी र पत्रकारहरूलाई कार्यालयका नायब सुब्बा नहकुल ढकालले प्रजिअको आदेश भन्दै रोकेका हुन् । आफू पनि नराख्ने र अरूलाई पनि राख्न नदिने प्रजिअको निर्णयमा स्थानीयस्तरमा असन्तुष्टि बढेको छ ।

आन्दोलनका क्रममा गत भदौ २४ गते आन्दोलनकारीले कार्यकक्षमै पुगेर सरकारी कर्मचारीलाई कार्यालय छाड्न भनेका थिए । त्यसबेला सुरक्षाको कमाण्ड छोडिदिँदा जिल्लामा व्यक्तिका घर–घरमा लुटपाट र आगजनी भएको थियो । जसको अहिले विरोध भइरहेको छ ।

प्रजिअ भुसालले कार्यालय छाडिदिँदा प्रदर्शनकारी हौसिएर १३ वटा सरकारी तथा गैर सरकारी कार्यालय र व्यक्तिका घरमा लुटपाट र आगजानी हुँदा करोडौँको क्षति पुगेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार १३:३०

प्रतिक्रिया दिनुहोस्